भगीरथ भण्डारीइलाम । अधिकार पाउँदा त्यसको कतिसम्म दुरुपयोग हुँदोरहेछ ? त्यसको उदाहरण बनेको छ, इलाम नगरपालिका । नगरपालिकाले लेटरप्याडमै सञ्चारमाध्यमविरुद्ध गालीगलौजसहितको वक्तव्य प्रकाशित गरेको छ ।
नगरपालिकाअन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको हस्ताक्षरसहित सार्वजनिक गरिएको प्रेस वक्तव्यमार्फत जनता अनलाइन, सन्दकपुर अनलाइन र सन्दकपुर दैनिकले प्रकाशन गरेको इलामको अरनिको सङ्ग्रहालयबारेको समाचारलाई लिएर ती सञ्चारमाध्यमलाई गालीगलौज गरिएको हो । ती सञ्चारमाध्यममा आएका समाचारको शिर्षक उल्लेख गरेर समाचार भ्रामक भएको, नियतबस प्रकाशित गरिएको आरोप वक्तव्यमा लगाइए पनि समाचारको कुन कुरा गलत हो ? त्यो गलत हुनुको प्रमाण के छ ? त्यसमा सत्य के हो भन्ने बारेमा भने कहीँ कतै खुलाइएको छैन ।
वक्तव्यमा सञ्चारमाध्यमको विश्वसनीयता र इमान्दारिता माथि नै प्रश्न उठाउँदै गाली गरिएको छ समाचारको मुख्य बिषयवस्तुको बारेमा उल्लेख नगरिँदा सत्ता र शक्तिको आडमा प्रेस स्वतन्त्रतामाथि प्रहार गर्न खोजिएको देखिन्छ । जनतासमाचार डटकम र सन्दकपुर अनलाइनमा मंगलबार र सन्दकपुर दैनिकमा बुधबार सङ्ग्रहालयबारे समाचार छापिएका थिए ।
समाचारमा सङ्ग्रहालयको भवनभित्र र परिसरमा कसिङ्गर, फोहोरको थुप्रो, घाँस भएको चर्चा मात्र गरिएको छैन त्यो झल्किने स्पष्ट तस्बिर पनि देखाइएको छ । सङ्ग्रहालयको व्यवस्थापन र सञ्चालनका लागि गत आर्थिक वर्षमै १५ लाख रुपैयाँ नगरपालिकाले बिनियोजन गरेको र चालु आवमा पनि १० लाख रुपैयाँ छुट्याएको भएपनि सङ्ग्रहालयलाई बसाइँ सरेको घरलाई स्याहार्न ध्यान नदिइएको पुष्ट्याइँ गरिएको थियो । यसलाई थप पुष्टि गर्नुपरे सङ्ग्रहालय परिसर र भवनको भित्रबाहिरको गत सोमबार मात्रै खिचिएको भिडियो र तस्बिर जनतासमाचारसँग सुरक्षित छन् ।
समाचार र समाचारको तस्बिर नै झल्किएको सत्यलाई व्यवास्ता गर्दै सरकारी लोगोसहितको लेटरप्याड प्रयोग गरेर सञ्चारमाध्यमलाई गाली गर्नु गलत भएको ठहर्छ । सञ्चारमाध्यमलाई गाली गर्दै वक्तव्य जारी गर्ने घिमिरे अध्यक्ष रहेको प्रतिष्ठान नगरपालिकाअन्तर्गतको एउटा समिति मात्रै हो । घिमिरेलगायतको समिति नगरपालिकाले मनोनित गरेको हो । गतवर्षसम्म जिल्ला प्रशासन कार्यालय रहेको राणाकालीन दरबारमा स्थापना गरिएको अरनिको सङ्ग्रहालय सञ्चालनको जिम्मा यही प्रतिष्ठानलाई दिइएको छ । जबकी नगरपालिकाले प्रतिष्ठानलाई गत आर्थिक वर्षमै प्रदान गरेको १५ लाख रुपैयाँ बराबरको काम नभएको र चालु आवमा पनि १० लाख रुपैयाँ छुट्याउँदासमेत काम अघि नबढाएर प्रतिष्ठानले गल्ती गरिरहेको समाचारको खण्डन नै जरुरी थिएन ।
तर सङ्ग्रहालय व्यवस्थापन र सञ्चालनका लागि नगरपालिकाले पर्याप्त बजेट छुट्याउँदा र उक्त बजेट खर्च गर्ने आर्थिक वर्ष सकिएको महिनादिन बितिसक्दा सम्म पनि प्रतिष्ठानले सङ्ग्रहालय व्यवस्थापनका लागि उचित ध्यान नपु¥याएको समाचारहरूमा प्रष्ट्याइएको थियो । नगरपालिकाको लेटरप्याडमा सरकारी लोगो राखेर प्रयोग गर्न नमिल्ने भएपनि त्यसको दुरुपयोग गर्दै प्रतिष्ठानले सञ्चारमाध्यामलाई गाली गरेको छ ।