भगीरथ भण्डारी इलाम । धेरैलाई अचम्म लाग्न सक्छ सडकमा रोपाइँ भन्दा तर इलाममा सडकमा रोपाइँ भएको छ । अघि–अघि पञ्चे बाजा, पछिपछि बाहुसे र रोपाहार । पञ्चेबाजाको तालमा संगीतमय रोपाइँ गर्दै मनाइने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्य रुपमा इलाम सदरमुकाममा मनाइँदैछ । पञ्चे बाजाको तालमा रोपाहार र बाहुसेले बजार परिक्रमा गर्दै रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ ।
राणा शासनका समयमा इलामका बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा शुरु गरेको रोपाइँजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिन्छ । यसले जिल्लाको पर्यटन प्रवर्द्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्याउँदै आएको छ ।
नेवार समुदायमा गठेमंगल मनाएपछि चाडपर्वको आगमन हुने बिश्वास रहँदै आएको छ । इलाम कला संस्कृतिको धरोहर भएकाले युवा पुस्तामा कला संस्कृति जर्गेना गराउन सिकाउने उद्धेश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइँजात्रा सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । जात्रालाई स्थानीय पर्वका रूप मनाउदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूमा बिहीबार बिदा दिइएको छ ।
रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइदै छ । यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको हेर्न पाइन्छ ।
रोपाइँजात्राको रौनक हेर्न विगत वर्षहरुमा झैं यस वर्ष पनि पाँचथर, झापा, ताप्लेजुङका आन्तरिक र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकका बाह्य पर्यटकहरु पनि आएका छन् ।
नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ ।
जनैपुर्णिमा सकिएपछि कृष्ण जन्माष्टमी आउनुअघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलन अनुरुप यसपटक रोपाइँ जात्रा निकालिएकोनेवार देय दबुका केन्द्रीय सदस्य कमल श्रेष्ठले बताए । इलाम जिल्लाका अन्य क्षेत्रमा भने यो जात्रा बेग्ला–बेग्लै दिन पारेर निकालिन्छ ।
संगिनी, बालन लगायतका साँस्कृतिक झल्कने विभिन्न प्रस्तुती र लोकभाखाले आज सदरमुकाम गुञ्जायमान बनेको छ ।
वर्षा मौसममा धान रोपेर गलेका स्थानीयलाई बजारसम्म गएर एकदिन भएपनि मन भुलाउन मद्धत पुग्ने भएकाले पनि यो पर्व मनाइने गरेको छ ।