प्रकाश न्यौपानेभैरहवा । तिलोत्तमा नगरपालिकामा रहेको नमस्ते एकेडेमीमा अध्ययनरत रंजित मौर्य र आविष्कार ज्ञवालीले कुनै एकेडेमी वा विद्यालयमा क्रिकेट सिकेका थिएनन् । घरमा क्रिकेट सिक्ने कोसिस गर्थे । कहिलेकाहीँ स्कुल विदामा साथीभाइसँग खेल्थे । प्रशिक्षकबाट सिक्नु त उनीहरूका लागि टाढाको कुरा । तर शनिबार उनीहरूले फरक अनुभव मात्रै गर्न पाएनन् राष्ट्रिय खेलाडीलाई बलिङ गरेर बोल्ड समेत गराए । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई ल्याएर प्रशिक्षण चलाउँदा यो अवसर उनीहरूलाई मिलेको हो ।
१५ औं नम्बरमा बलिङ गरेका मौर्य र १९औं नम्बरमा बलिङ गरेका ज्ञवालीले पारसलाई बोल्ड गर्दा प्रशिक्षणमा सहभागीले चर्को स्वरमा हुटिङ गरे । एक्स्पर्टको आयोजनामा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको ओमसतियाको पड्सरीस्थित स्टार क्रिकेट एकेडेमीमा पारसले क्रिकेट खेलबारे विद्यार्थीलाई सिकाए ।
रूपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची लगायत जिल्लाका ९० बढी विद्यालयमा अध्ययनरत २ हजार बढी विद्यार्थीलाई कप्तान पारस खड्काले क्रिकेटका आधारभूत कुरा सिकाए । पारसले केही टेक्निकल कुरा विद्यार्थीलाई सिकाएपछि गोलाप्रथामार्फत् २०÷२० जनाको समूह गराई पालैपालै सबैलाई एक–एक बल बलिङ गर्न दिए । मौर्य र ज्ञवालीले पारसलाई बोल्ड मात्रै गरेनन् अन्य सिकारूले भन्दा बढी दुई–दुई बल बलिङ गर्ने अवसर समेत पाए ।
एक्सपर्टले उनीहरूलाई पाँच–पाँच हजार रुपैयाँ समेत प्रदान गर्यो । ‘हामीले धेरै टेक्निकल कुरा सिक्न पायौं, अहिलेसम्म क्रिकेट खेल्ने इच्दा हुँदा पनि सिक्न पाएका थिएनौं’, मौर्य र ज्ञवालीले भने, ‘राष्ट्रिय टिमका कप्तानबाटै क्रिकेटको महत्व, खेल्ने तरिकाबारे सिक्न पाउँदा, बलिङ गरी बोल्ड गर्न समेत सक्दा निकै खुशी छौं ।’
उनीहरूले आत्मविश्वास, खेलप्रतिको लगाव, मिहेनत, ब्याटिङ, बलिङ तिखार्नुका साथै पढाइलाई पनि अगाडि बढाउनुपर्ने बताए । कप्तान पारसले ब्याटिङ गर्दै डेढ सयबढी विद्यार्थीको बलिङको सामाना गरे । पारसले ब्याटिङ गर्दा, प्राविधिक कुरा सिकाउँदा विद्यार्थी बढो खुशी हुँदै हेरे र सुने । ‘तपाईंहरूलाई मैले केही कुरा सिकाउन र खेललाई माया गर्ने भावनाको विकास गराउन आएको हुँ’, उनले भने । पारससँग क्रिकेट सिक्न पाउँदा विद्यार्थी रमाए । ब्याटिङ गर्दाबेर ताली र हुटिङ जोडसँग गरे ।
पारसले विद्यार्थीलाई खेलको सबैभन्दा महत्वपूर्ण पाटो आत्मविश्वास भएको बताए । ‘खेलमा जित पनि हुनसक्छ हार पनि हुनसक्छ तर आत्मविश्वास, खेलप्रति लगाव, अनुशासन र मिहेनत अनिवार्य चाहिन्छ’, पारसले भने, ‘क्रिकेट खेलेर मात्रै हुँदैन योसँगै शिक्षा महत्वपूर्ण मानिन्छ, तपाईंहरूले पढाई र क्रिकेट सँगसँगै लैजानुस्, १० वर्षपछि भए पनि तपाईंहरु वडीआई क्रिकेट खेल्नुपर्छ ।’
पारसले नेपालमा खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धा गर्न न्यून अवसर पाउने भन्दै स्थानीय, प्रदेश स्तरीय खेलकुदमा सहभागी भई खेललाई निरन्तरता दिन विद्यार्थीलाई सुझाए । ‘जति अवसर पाए पनि आफूले मिहेनत र आत्मविश्वास जारी राख्नुपर्छ, बलिङ र व्याटिङ सुधार गर्दै जानुपर्छ, निरासा हटाउनुपर्छ’, उनले भने, ‘यो उमेरा कुनै एक खेलाडीको खेल हेरेर कपि गर्ने बानीको विकास हुन्छ, क्रिपया कपी नगरी खेलको रुल्समा रहेर आफ्नै क्षमतालाई प्रस्फुटन गर्नुस् । तवमात्रै राम्रो खेलाडी बन्न सकिन्छ ।’
पारसलले सहभागी प्रशिक्षार्थी विद्यार्थीसँग प्रश्न–उत्तर समेत गरे । विद्यार्थीले नेपालले ओडीआई (अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय) कहिले खेल्छ ? बरियाताक्रममा नेपालभन्दा पछि रहेका मुलुक टेष्ट क्रिकेट खेलिरहेका छन् किन ? भन्ने प्रश्न समेत गरे । जवाफमा पारसले क्रिकेट सिक्न आएका भाइहरू नै अबको १० वर्षभित्रै वडीआई क्रिकेट खेल्नेछन् भन्दै सहभागीलाई हौसला दिए ।
उनले क्यान निलम्बन, प्रक्षिण अभाव, प्रतिस्पर्धा कम हुनु, पर्याप्त खेलमैदान जस्ता कारणले पनि नेपाली क्रिकेट माथि उठ्न नसकेको बताए । उनले अब क्रिकेटमा आशा पलाउँदै गएको र आफूहरुले पनि मिहनत गरिरहेको जनाए । कप्तानका अनुभव, खेल्ने तरिका सिकी बलिङ गर्ने अवसर पाएका विद्यार्थी किनै खुशी भए । उनीरूले फोटो खिचाउँदै आफूले लगाएका टिसर्टमा पारसको हस्ताक्षर गराए । विद्यार्थीले पालैपाले आफ्नो समूहको पारसँग फोटो खिचे, सेल्फी हाने ।
पारसले आफूले यहाँ क्रिकेट सिकाएका विद्यार्थीलाई समेटेर रुपन्देहीमा क्रिकेट खेल आयोजना गर्न पहल गर्ने बताए । एक्सपर्टका बुटवल शाखा निर्देशक रोशन कँडेलले व्यवसायसँगै नेपाली क्रिकेट खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले पारसलाई ल्याएर प्रशिक्षण चलाएको बताए । ‘एक दिनको प्रशिक्षणले पनि खेल खेल्न चाहने विद्यार्थीलाई धेरै कुरा परिवर्तन गर्न सहयोग पुग्छ’, कँडेलले भने, ‘हामी व्यवसायसँगै खेललाई पनि उत्तिकै माया गर्छौ, धेरैभन्दा धेरै खेलाडी जन्मिउन र राष्ट्रलाई देशविदेश चिनाउन् भन्ने हाम्रो उद्देश्य हो ।’