हरि अधिकारी कपिलवस्तु । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले तीन तहका सरकार मिलेर अघि बढे विकास सम्भव हुने बताउनुभएको छ । मुलुक संघीयताको कार्यान्वयनमा रहेको र संविधानले तीन तहका सरकारको परिकल्पना गरेको बताउँदै आआफ्ना अधिकार क्षेत्रका काम सही ढंगले गर्न सके विकासले गतिलिने बताउनुभयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालविवाह मुक्त र पूर्ण खोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले संघीय सरकारसंग मिलेर अगाडी बढ्न चाहे आवश्यक बजेट दिन सकिने बताउनुभयो । उहाँले संघीय सरकारले एक नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने नीति लिएको भन्दै त्यसको लागि नगरपालिकाले १५ कट्ठा जग्गा दिए तुरुन्तै बजेट दिन सकिने बताउनुभयो ।
संघीय सरकारले सबै स्थानीय तहमा औषधि खरिदका लागि आवश्यक बजेट दिएपनि कतिपय स्थानीय तहले गलत काममा खर्च गर्ने गरेको बताउनुभयो । ‘
संंघीय सरकारले औषधि खरिदका लागि आवश्यक बजेट पठाउँदै आएको छ, तर कतिपय स्थानीय तहले त्यो बजेट गलत काममा लगाउने गरेको पनि पाएको छु उहाँले भन्नुभयो, पत्रकारले सधै स्थानीय तहमा औषधि अभाव भनेर लेख्ने कारण नै त्यही हो । यसरी संघीयता सफल कसरी सफल हुन्छ । जुन जुन शिर्षकमा आउँछ बजेट त्यही शिर्षकमा खर्च गर्न म आग्रह गर्छु ।’
मुलुक संघीय प्रणालीमा गएपछि विकासको लहर चलेको भन्दै यसलाई सफल पार्ने दायित्व तीन तहकै सरकारको भएको बताउनुभयो । स्थानीय सरकारको मातहतमा स्वास्थ्य शाखा रहेको भन्दै उहाँले अब स्थानीय सरकारका प्रमुखले स्वास्थ्य शाखाका कर्मचारीलाई आफ्नो स्थानीय तहमा जतापनि सरुवा गर्न सक्ने बताउनुभयो ।
विश्व सुचना प्रविधिले अगाडी बढेको भन्दै उहाँले अब नेपालमा पनि प्रविधि भित्र्याउने तयारी भैरहेको बताउनुभयो । देशका केही स्थानीय तहमा नगर प्रमुखले नगरपालिकाबाटै स्वास्थ्य संस्थामा के भैरहेको बच्चाको हाइट, वेट र टाउकोबाटै बच्चाको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिने भन्दै डा. यादवले त्यसका लागि विशेषज्ञ ल्याएर प्रविधि जडान गर्ने तयारी भैरहेको दाबी गर्नुभयो ।