काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित पत्रपत्रिकामा भिन्न–भिन्न विषयका समाचारले प्राथमिकता पाएका छन् ।
बिहीबार जनता समाचार डट कम मा यातायातका निमित्त प्रमुखसहित ३ जना घुस लिँदालिँदै पक्राउ, संविधान संशोधनको पक्षमा लाग्ने कांग्रेसको निर्णय, विज्ञापन विधेयक पारित, समानुपातिक रुपमा विज्ञापन दिइने, ‘नेपाल असोजभित्र खुला दिसा मुक्त’, मौद्रिक नीति र अर्थतन्त्रका सवाल(आलेख), डेंगु विरुद्धको जनचेतना मुलक अभियान, १ लाख २० हजार घुससहित खरिदार पक्राउ र ८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ लगायतका समाचार प्रकाशित भए ।
राजधानी दैनिकमा ‘डेंगु नियन्त्रणबाहिर’ शीर्षकमा प्रमुख समाचार छापिएको छ । प्राणघातक रोग डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभए यसले विकराल रुप लिने आशंका बढ्दै गएको छ । समाचारमा जनाइए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो एकल प्रयासबाट डेंगु नियन्त्रण सम्भव नरहेको प्रष्ट पारेको छ ।
पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना डेंगुबाट प्रभावित भएका छन् । यो संख्या अझै बढ्ने अवस्थामा छ । प्रदेश नम्बर २ मा १४ जना, प्रदेश ३ मा ५५९ जना, गण्डकी प्रदेशमा ३३९ जना प्रदेश ५ मा ५६ जना र सुदुरपश्चिम प्रदेशमा ६ जना डेंगुका बिरामी भेटिएका छन् ।
नागरिक देनिकले कोलकातामा नेपालकै कन्टेनर स्टेसन शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा कोलकातास्थित बन्दरगाहनजिक नेपालले बनाएको सिएफएस उद्घाटन गर्न पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको फोटो सहितको समाचार छ ।