प्रिमेश शिवाकोटीरौतहट ।हृदयलाल कुश्वाहले सानैमा आमा–बुबा गुमाए । ११ वर्षदेखि अनाथालयमा बस्न थाले । गाउँकै एक शिक्षकले अनाथालयमा ल्याइदिए । त्यहीँ पढे । उनको जन्मथलो सर्लाहीको बरथवा हो । कर्मथलो रौटहटको गरुडा नगरपालिका वडा नं–४ । २७ वर्षीय कुश्वाहले दुर्गादेवीसँग बिहे गरे । ५ बर्षअघि अनाथलयमै बिहे भयो । विवाह समाजसेवी बंशिराम जैसवालले गराइदिए ।
दुई सन्तान छन् । अनाथालय बंशिरामले खोलिदिएका हुन् । ३२ जना टुहुरा बालबालिका छन् । कुश्वाह दम्पतिको दिनचर्या टुहुरा बालबालिको रेखदेखमा बित्छ । जिम्मेवारी ठुलो छ ।
श्रीमति उच्च शिक्षाका लागि भारत गइन् । केही बर्षपछि अनाथलय संस्थापक अध्यक्ष जैसवालले बोलाए । उनी फर्किइन । हृदयलाल देहरादुनको देवसंस्कृत विश्वविद्यालयबाट पोलि इन्जिनियरिङको पढाइ सकेर चेन्याइमा जागिर खान थाले ।
जागिए खाएको दुई वर्ष पुग्दै थियो, अनाथालयबाट जैसवाले पत्र पठाए । ‘बाध्यता छैन, तपाईं खुसी साथ आउने भए अनाथालयमा तपाईंको खाँचो छ’ पत्र पढेर कुश्वालाई भारत बस्न मन लागेन । जागिर छाडे । नेपाल फर्किए । अनाथलयको जिम्मेवारी सम्हाले । नेपाल फर्किए । त्यसपछि जागिरको आवश्यकता पर्यो । मौसम विभागमा जागिर पाए । अनाथलयको जिम्मेवारी त छँदै छ ।
८३ वर्षीय बंशिरामले सडमा अलपत्र बालबालिका देख्न सकेनन् । मन थामिएन । माया लाग्यो । अनाथालय बनाएर पालनपोषण गर्ने विचार गरे । २०५१ सालमा अनाथालयको स्थापना गरे । अहिले २ कठ्ठा ५ धुर जमिनमा अनाथालय छ । सधैं एकैनाश कहाँ हुन्छ र ? नौनाडी गल्दै गयो । हिंड्न गाह्रो भयो । अहिले उनी बिरामी छन् । उनलाई हेरचाह गर्ने हृदयलाल दम्पत्ति छन् ।
हृदयलाल दम्पति काम बाँडेर गर्छन् । आश्रमका लागि खर्च जुटाउनदेखि बाजेको रेखदेख हृदयलाले गर्छन् । शिक्षा नै सर्वोपरी भन्दै टुहुरालाई पढाउन २०५७ सालमा विद्यालय खोले । प्राथमिक तहसम्म पढाई हुन्छ । मासिक एकलाख भन्दा बढी खर्च हुन्छ । सधैं यसको व्यवस्थापनमा लाग्छन् उनी । गायत्रीको काम बालबालिको सरसफाइ, खानपिन र रेखदेख हो ।
३ देखि २० वर्षसम्मका ३२ जना बालबालिका अनाथालयमा छन् । भुकम्पले क्षति पुर्याएको भवन जीर्ण छ । कहिले भत्किन्छ थाहा छैन । बालबालिका त्रासमा छन् । भवनका पल्टर उप्किएका छन् । २०५२ सालमा एक संस्थाले निमार्ण गरिदिएको भवनमा पिलर छैन । इँटाको पर्खाल भएकाले भवन कमजोर बनेको हृदयलाल कुश्वाह बताउँछन् । दुईतले भवन छ । तल्लो तलामा बालबालिका बस्छन् । माथिल्लोमा कक्षाकोठा छ ।
अनाथालयको आम्दानीको स्रोत ट्याङकर हो । इन्धन ढुवानी गर्छन् । ट्याङ्करको आम्दानी र दाताको सहयोगले अनाथालय चलेको छ ।
‘भवन जीर्ण छ, पछिल्ला केही वर्षदेखि त भत्कने हो की भन्ने चिन्ताले सताइरहन्छ’ सस्थापक अध्यक्ष रहेका जैसवालले भने । नयाँ भवन निमार्णमा सहयोग गरीदिन दाता गुहारिरहन्छन् । स्थानीय तह, प्रदेश र संघीय सांसदहरूलाई पनि आग्रह गर्नुभएको छ । अनाथलय संचालन समितीले एक करोडको कोष स्थापनाको लागि प्रक्रिया अघि बढाएको छ ।