झापा । बाढी प्रभावित क्षेत्र, सीमान्तकृत र विपन्न समुदायका २ सय ५५ परिवारले नयाँ घर पाएका छन् । सामुदायिक आवास कार्यक्रम अन्तर्गत ह्याविट्याट नेपाल र सहारा नेपालको आर्थिक एंव प्राविधिक सहयोग तथा स्थानीय तहको सहकार्यमा ७ स्थानीय तहमा घर निर्माण गरिएको हो ।
घर निर्माणका लागि प्राविधिक सहयोगसहित ह्याविट्याड नेपालले प्रतिघर ५० हजार, सहारा नेपालले २५ हजार र स्थानीय तहले ७५ हजार सहयोग गरेको सहारा नेपालकी कार्यक्रम संयोजक लीला शिवाकोटीले बताउनुभयो । सन २०१८ सेप्टेम्वर १४ बाट घर निर्माण थालिएको र १४ सेप्टेम्बर २०१९ अगावै घर निर्माण भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका ३० परिवारलाई घर हस्तान्तरण गरिसकिएको छ । अन्य स्थानीय तहका परिवारलाई घर हस्तान्तरण थालिएको शिवाकोटीले बताउनुभयो । घरधनीको जन श्रमदानसहित एउटा घर निर्माणका लागि २ लाख १२ हजार रुपेयाँ खर्च भएको छ । घर निर्माणका लागि जनश्रमदानसहित ५ करोड १३ लाख ६० हजार खर्च भएको कार्यक्रम संयोजक शिवाकोटीले बताउनुभयो ।
स्थानीय तहसँगको सहकार्यमा कनकाई नगरपालिकामा ३७, बिर्तामोडमा ३०, अर्जुनधारा नगरपालिकामा ३९ घर निर्माण भएका छन् । झापा गाउँपालिकामा ७०, बाह्रदशीमा १०, हल्दिवारीमा ३३, र गौरीगञ्ज गाउँपालिकामा ३६ घर निर्माण गरिएको सहारा नेपाल सहकारी संस्थाकी कार्यक्रम निर्देशक पुष्पाञ्जली सिंहले बताउनुभयो ।
हल्दिवारी गाउँपालिकाले भने घर निर्माणका लागि प्रतिघर १ लाख सहयोग गरेको छ । बाँकी ६ स्थानीय तहले ७५ हजार रुपेयाँका दरले घर निर्माण गर्न सहयोग गरेको छ । गत आर्थिक वर्ष साविक दुवागढी, धाइजन, अर्जुनधारा र सुरुङगा गाविसमा ६६ घर निर्माण गरिएको थियो । आगामी आव ३ सय विपन्न परिवारका लागि घर निर्माण गरिने भएको छ ।