हुमाकान्त पोखरेलगुल्मी । सत्यवती गाउँपालिका ठुलोलुम्पेक स्थित सिद्ध आधारभुत विद्यालय पहिराले बगाएपछि विद्यार्थीलाई छहारीमा राखेर पठनपाठन गराइएको छ । गत साउन ६ गतेको अविरल वर्षासँगै आएको पहिरोले सिद्ध आधारभुत प्राविको चार कोठे भवनलाई बगाएको हो ।
अविरल वर्षासँगै पहिरो गएपछि लुम्पेक र लिम्घामा १३ जनाको ज्यान जानुका साथै धेरै घर विद्यालयमा असर पु¥र्याएको थियो । जसमध्येको सिद्ध प्राविका बालबालिका छहारीमुनि बसेर पढ्न बाध्य भएका छन् । अहिले नजिकैको ठुला दुई पिपलको छहारीमा करिब ३० स–साना बालबालिकाले अध्ययन गरिरहेका छन् ।
पानी परे ओत्दैन । ठुलो हावा चले पनि बच्न मुश्किल हुन्छ । पहिराले विद्यालय बगाएपछि ठुलोलुम्पेक सिङदीका बालबालिकाले त्यही स्थानमा भविष्य खोजिरहेका छन् । अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् । विद्यालयको तलबाट पनि पहिरो गएको छ । खेलमैदानमा पहिरोले भरिएको छ । साउन २८ गतेबाट विद्यालय सञ्चालन भएपछि विद्यार्थीको पढाई प्रभावित नगराउने उद्देश्यले अस्थायी आवास नजिकै रुपमो छहारीमा पढाई सञ्चालन गरिएको तरामुले बताइन् । अहिले पहिराले पूर्ण रुपमा प्रभावित सत्यवती गाउँपालिका–३ का ६१ घर परिवारलाई वडा नम्बर–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास निर्माण गरेर व्यवस्थापन गरिएको छ ।
सिद्ध आधारभुत प्राविमा ५१ जना विद्यार्थीले अध्ययन गर्दै आएका थिए । अहिले जम्मा ४० जना विद्यालय आउँछन् । पहिरोपछि १०/१२ जना विद्यार्थी घरमा बस्नै समस्या भएपछि अभिभावकले जिल्ला बाहिर लगेर भर्ना गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । त्यस मध्येका केही बिरामी परेका छन् । उनले सातजना विद्यार्थीलाई ठूलो पहिरो तरेर आउनुपर्ने जोखिम भएकाले सिङदीमै टेण्ट टाँगेर पढाई सञ्चालन गरिएको बताए । उनीहरुलाई विषयगत शिक्षक–शिक्षिका परिवर्तन गरेर पालैपालो पढाउने गरिएको छ ।
चउरमा शौचालय छैन । शैक्षिक सामग्री सबै पहिरोसँगै बगे । ब्ल्याक बोर्ड पनि छैन । आकाशमा बादल देखे टेण्टमा दौडनु पर्छ । बालबालिका आफैमा पनि विपतको मनोवैज्ञानिक असर छ । गर्मीको समय भएकाले बिहान साँझ टेण्ट बसेर पढ्न पनि बालबालिकालाई निकै समस्या रहेको शिक्षक टेकबहादुर सिंजालीले बताए । सिद्ध आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन तरामुले आफूहरुको पहुँचमा विद्यालय पुनर्निर्माण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाई सञ्चालन गरिएको बताए । उनले अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण मात्रै संकलनको काम भएकाले बालबालिका विचल्लीमा परेको गुनासो गरे ।
अहिले सरकारले प्रावि तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । दिउँसोको समयमा विद्यालय आफैले खाजा बनाएर बालबालिकालाई खुवाउँछ । सिद्ध प्राविका विद्यार्थीलाई त्यसको व्यवस्थापन पनि निकै चुनौति रहेको विद्यालयले जनाएको छ । उनले दिवा खाजामा हरेक बार फरक परिकार बनाएर खुवाउनु पर्ने भए पनि तत्काल त्यसको व्यवस्थापन गर्न नसकिने बताइन् ।
पहिरोले विद्यालय मात्रै पहिरोले बगाएको छैन् । सिद्ध प्राविमा पढ्ने विद्यार्थीको घरमा पनि पहिरोले क्षति पुर्याएकाे छ भने कयाै विद्यार्थी र परिवार विस्थापित छन् । सोही बवद्यालयको कक्षा ३ मा अध्ययन गर्ने गंगा र गगन विकको घरसँगै किताबकापी पनि गुमे । कक्षा ५ मा पढ्ने कल्पना सिंजाली र शैलेस विकको घरबारीनै छैन। ‘घर गए घर छैन, विद्यालय गए विद्यालय छैन।’ उनले भने, ‘अहिले पढ्नेभन्दा ज्यान जोगाउने ठूलो कुरा भएको छ ।’