प्रकाश न्यौपाने भैरहवा । भदौ १२ गते शिक्षक अभावमा आफूहरुले पढ्न र परीक्षा दिन वञ्चित भएको भन्दै जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर–३ मा रहेको श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिए । आक्रोसित विद्यार्थीले गाउँपालिकाले शिक्षक व्यवस्थापन नगरेको भन्दै पालिका कार्यालय तोडफोड समेत गरे । विद्यार्थीको तोडफोडबाट कार्यालयको एउटा ढोका र ३ वटा सीसाका झ्याल फुटेकाछन् । त्यो विद्यालयमा करिब २ वर्षदेखि शिक्षकको चरम अभाव छ ।
प्रावि तहका शिक्षकले यहाँ माविमा अध्यापन गराइरहेका छन् । ‘प्राविका शिक्षकले माविमा पढाउनु पर्ने बाध्यता छ, विद्यार्थीको पढाई विगार्न भएन, पालिका र सरकारले शिक्षक उपलब्ध गराउँदैन’, प्रधानाध्यापक राजदेव प्रसाद मौर्यले भन्नुभयो, ‘दरबन्दी नभए पनि करार, निजीस्रोत, ज्यालादारी शिक्षक भए तापनि विद्यार्थीले राम्रोसँग पढ्न पाउँथे, त्यो पनि छैन । बाध्य भएर विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।’
त्यहाँ करिब एक हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । बालविकासदेखि कक्षा १२ सम्म पढाई हुन्छ । बालविकास र प्रावि तहमा शिक्षक पर्याप्त भए पनि निमावि, मावि र प्लस टु पढाउने शिक्षक निकै कम छन् । ‘हामीले शिक्षक भर्ना गर्ने भनेर व्यवस्थापनसमितिको निर्णयगरी दुईपटकसम्म विज्ञापन प्रकाशन गर्यौ तर परीक्षा संचालन गर्न गाउँपालिकाले अनुमति नै दिएको छैन । न पर्याप्त शिक्षक उपलब्ध गराएको छ’, वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुकेश यादवले भन्नुभयो । त्यो विद्यालयमा कक्षा ७–१० सम्म अध्ययनरत विद्यार्थी धेरै हुँदा सेक्सन ए र बी गरी छुट्याइएको छ ।
एउटा सेक्सनमा १ सय ३७ जना विद्यार्थी कोचाकोच गरेर अध्यापन गराइँदै आएको छ । निमावि तहमा सेक्सन छुट्याउँदा ५ वटा कक्षामा विद्यार्थीलाई अध्यापन गराउनु पर्ने हुन्छ । तर निमाविमा एक जना दरबन्दी, एक जना राहत र १ जना निजी स्रोतबाट शिक्षक छन् । तर यो पर्याप्त नभएको प्रधानाध्यापक मौर्यले बताउनु भयाे । विषयगत शिक्षकसहित निमावि तहमा कम्तिमा थप ७ शिक्षक आवश्यक पर्ने उनलेबताए । निमावि तहमा विज्ञान, गणित, अँग्रेजी कम्प्यूटर पढाउने शिक्षक नै छैनन् । विषय विज्ञभन्दा बाहिरका प्रावि तहका शिक्षकले निमावि र माविलाई पढाउँछन् ।कक्षा ९ र १० मा दरबन्दीका शिक्षक नै छैनन् । यी कक्षामा अध्यापन गराउने ३ जना राहतका शिक्षक मात्रै छन् । थप ९ जना विषयगत शिक्षक आवश्यक छ । यहाँ प्राविधिक शिक्षा समेत पढाई हुन्छ । प्राविधिकतर्फ इलेक्ट्रिक इन्जिनियर पढाइ हुँदै आएको छ । यो क्षेत्रमा पढाउने २ जना सहायक प्रशिक्षक मात्रै छन् । प्रशिक्षक समेत नहुँदा प्राविधिक पढ्ने विद्यार्थीको भविष्य अन्यौलमा छ । प्राविधिकतर्फ कम्तिमा २ प्रशिक्षकसहित थप ४ जना शिक्षक आवश्यक पर्ने विद्यालयले जनाएको छ ।
विषयविज्ञ शिक्षक नहुँदा विद्यार्थीको भविष्यमाथि नै खेलवाड भइरहेको अभिभावकको चिन्ता छ । दुई कक्षामा सेक्सन समेत भएकाले सबै कक्षा एकैपटक संचालन गर्न समस्या भएको विद्यालयले जनाएको छ । ९ र १० मा अनिवार्य विषयहरु प्राविधिक विषय नपढ्नेविद्यार्थीहरुसँगै राखेर पढाउँदै आएको विद्यालयले जनाएको छ । ‘२०७४ बाट सुरु भएको प्राविधिक विषयमा विद्यार्थीको आकर्षण छ । तर प्रशिक्षक नहुँदा विद्यार्थीले राम्रो ज्ञान प्राप्त गर्न सकेका छैनन्, सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ’, प्रधानाध्यापक मौर्यले भन्नुभयो । प्लस टु मा दुई जना मात्रै अनुदान प्राप्त शिक्षक छन् । शिक्षक अभावकै कारण प्लस टु दिउँसोमा संचालन नगरी बिहानमा संचालन गरिएको छ । दिउँसो प्रावि तह पढाउने शिक्षकले बिहानमा प्लस टु पढाउँदै आएका छन् ।
शिक्षा र बाणिज्य संकायमा यहाँ पढाइ हुँदै आएको छ । प्लस टु राम्रोसँग संचालन गर्न यहाँ थप विषयत ९ शिक्षक आवश्यक पर्छ । ‘जिल्लाकै दुर्गम ठाउँमा विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको यो एउटा नमूना मात्रै हो । गापाभित्रका धेरै विद्यालयले शिक्षक अभावमा यस्तै सास्ती खेप्दै आएका छन्’, व्यवस्थापन समिति अध्यक्ष यादवले भन्नुभयो । यहाँ विषय विज्ञ भन्दा पनि जुन कक्षा खाली हुन्छ, त्यहाँ तल्लो तह पढाउने शिक्षकले अध्यापन गराउँदै आएका छन् । एउटा शिक्षकको भागमा कम्तिमा ९ पिरियड पर्ने गरेको सहायक प्रधानाध्यापक प्रमोद यादवले बताए । ‘सामान्यतः दैनिक एउटा शिक्षकले ६ पिरियड पढाउने भन्ने प्रावधान हुन्छ । तर यहाँ एउटा शिक्षकको भागमा ९ पिरियड पर्छ । जसरी भए पनि व्यवस्थापन मिलाएर विद्यार्थीलाई पढाउँदै आएका छौं’, उहाँले भन्नुभयो । यादवले आफू प्राविको स्थायी शिक्षक भए पनि निमावि, मावि र प्लस टुलाई गरी ९ पिरियड पढाउँदै आएको बताए । दिनमा ७ पिरियड पढाई हुन्छ । एउटा कक्षाकोठामा ५० भन्दा बढी विद्यार्थी राख्न नपाइने भए पनि यो विद्यालयमा भेडाबाख्राजस्तै १ सय ३७ जनासम्म विद्यार्थी कोचेर अध्यापन गराइन्छ । जसले विद्यार्थीले राम्रो शिक्षा त पाएका छैनन् नै गर्मी मौसममा सरुवा रोगको खतरा समेत बढेको छ ।
जिल्ला शिक्षा समन्वय समितिको अनुमतीमा विद्यालयले २०७४ र २०७५ माघ महिनामा शिक्षक दरबन्दी पूरा गर्न विज्ञापन गरेको थियो । विज्ञापन प्रकाशितपछि शिक्षकको परीक्षा लिन स्थानीय सरकारको अनुमती चाहिन्छ । गाउँपालिकाले परीक्षा संचालनको सहमति नदिँदा समन्वय समितिले परीक्षा समेत लिन पाएको छैन । मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले विद्यालयले भनेजस्तो शिक्षकको अभाव नभएको दावी गर्नुभयो । उनले कानूनी प्रावधानले गर्दा शिक्षक राख्न नसकिएको बताए । ‘कानूनले हामीलाई शिक्षक राख्न मिल्दैन । हाम्रो क्षमताले भेटेसम्म ज्यालादारी र निजी शिक्षक भए पनि व्यवस्था गरेका छौं । अपुग शिक्षक पनि पालिकाको बैठकबाट निर्णय गरेर पूर्ति गर्ने तयारी गरिरहेका छौं’, उहाँले भन्नुभयो ।
गाउँपालिकाभित्र १५ वटा सामाुदायिक विद्यालय छन् । जसमध्ये ४ वटा मावि छन् भने अन्य प्रावि र निमावि हुन् । निमावि र मावि संचालित अधिकांश विद्यालयमा दरबन्दीका शिक्षक त छैनन् नै राहत र निजीस्रोतका शिक्षक समेत नहुँदा विद्यार्थी पढ्नबाट बञ्चित हुँदै आएका छन् । दुर्गम क्षेत्र भएकाले यहाँका विद्यालयहरुमा पढाउने शिक्षक सरुवा भएर अन्यत्र जाने समस्या समेत उस्तै छ । कतिपय राहत र निजी स्रोतकाशिक्षकले शिक्षकसेवा आयोगमा नाम निकालेर अन्यत्र जाँदा विद्यालयहरु शिक्षकबिहीन भएका छन् । यसले सयौं विद्यार्थीको भविष्य संकटमा परेको छ । यहाँका धेरै विद्यालयले शिक्षक अभावकै कारण नियमिय संचालन गर्नुपर्ने परीक्षा समेत संचालन गर्न सकेकाछैनन् ।