शम्भु दाहाल झापा । समयमा वर्षा नभएर बेला टर्ने बेला धान रोपेर सन्तोकको श्वास फेरेका झापामा कृषक फेरि चिन्तित भएका छन् । धान उत्पादनमा अग्रणी जिल्लाको रुपमा रहेको झापाका कृषकको धानबालीमा यस पटक फौजी किराको प्रकोप देखापरेको छ ।
झापाको पश्चिम दक्षिणी क्षेत्रको धानबालीमा देखा परेको फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि किसान चिन्तित बनेका हुन् । गौरादह नगरपालिकाको वडा नम्बर–६ र झापा गाउँपालिकाको वडा नम्बर–३ मा फौजी किराको प्रकोप बढी देखिएको हाे । गौरादहमा मात्र करिब ५ सय विघा क्षेत्रफलमा लगाइएको धानबालीमा फौजी किराको प्रकोप देखा परेको हो ।
यस्तै, झापा गाउँपालिकाको एक वडामा करिब ३ विघा क्षेत्रफलमा फौजी किराको प्रकोपले धानबाली नष्ट भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । गौरादह–६ को वीरवल चौक आसपास मात्र फौजी किराले सयौं मन धान फल्ने क्षेत्रको धानबालीलाई नोक्सान पु¥याएको किसानहरुले बताएका छन् ।
फौजी किराका कारण धानबाली नष्ट भएपछि कुन औषधी प्रयोग गर्ने भन्ने विषयले किसानलाई अलमल बनाएको छ । यही साताबाट पहिलो पटक यस्तो किराको प्रकोप देखापरेपछि धानबालीमा निर्भर रहेका किसानलाई दुखि तुल्याएको हाे । फाैजी किराले दिनमा दुई गुणा र रातमा चौगुणा बाली नष्ट गर्ने गरेको उनीहरुको भनाई छ । कृषी प्रविधिकले अमेरिकी फौजी किराको नाम दिएको स्थानियले बताए ।
किराले दिनभरी धानको गाँजमा लुक्ने र रात परेपछि धानको डाँड, पात र टुप्पा खाने गरेको पाइएको छ । २–३ दिनभित्रै फौजी किराले धानबालीलाई नष्ट गरेपछि कसरी प्रकोपको नियन्त्रण गर्ने भन्ने प्रश्न उब्जिएकाे छ । प्रति विघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी किराको प्रकोप बढेपछि समाधानको उपायबारे नगरपालिका छलफलमा जुटेको छ ।
कृषि ज्ञान केन्द्र झापा, कृषि विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरले भने किरा पहिचान भइसकेको र नियन्त्रणका लागि काम सुरु गरिने जनाएको छ । अमेरिकन फौजी कीरा नभएर फौजी किरामात्र रहेको ज्ञानकेन्द्रले दाबी गरेको छ । बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादवले प्रदेश सरकार र कृषि ज्ञान केन्द्र मार्फत तत्काल औषधी व्यवस्थापन र प्रयोग गर्न जानकारी गराउने बताउनुभएको छ ।
कृषि प्राविधिकका अनुसार फौजी किरालाई नियन्त्रण गर्न नसके यसले अन्नबालीमा भयावह स्थिती सिर्जना गर्न सक्छ