हरिशरण न्यौपानेलमजुङ । निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना सुरुङमार्गको ब्रेक थ्रु भएको छ । अबको तीन महिनापछि आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।
लमजुङको बेशीशहर नगरपालिकामा अवस्थित निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको करिब २ दशमलव ८ किलोमिटर सुरुङको अन्तिम ‘ब्रेक थ्रु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालको उपस्थितिमा सुरुङको ब्रेक थ्रु भएको हो ।
हिमालय पावर पार्टनर प्रवर्द्धन गरिएको आयोजनामा एनआरएनए, आइएमइ ग्रुप र सर्वसाधारण गरी त्रिपक्षीय लगानी रहेको छ । आगामी डिसेम्बर २०१९ सम्ममा आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी विद्युत्को व्यावसायिक उत्पादन थालिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।
चार अर्ब ५० करोडको लागतमा निर्माण सकिने आयोजना नेपालको परिप्रेक्ष्यमा किफायती लागतमै निर्माण सम्पन्न हुने आयोजनामा पर्ने हिमालय पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालको भनाइ छ ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा समयमै जोड्नसक्ने वातावरण बनाइनुपर्ने भन्दै हिमालय पावर पार्टनर लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले आयोजनाले लमजुङको निजी क्षेत्र र स्थानीयमा उत्साह थपेको बताउनुभयो ।
सुरुङ मार्ग बे्रक थ्रु कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख, लमजुङ उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय शेयर लगानीकर्ताको सहभागिता रहेको थियो ।