नम्रता बानियाँकाठमाडौं । सुकुल बिछ्याइएको कोठा, दौरा–सुरुवाल, कोट र ढाका टोपीमा ठाँटिएका ठिटा लहरै बसेका छन् त्यो पनि पलेँटी कसेर । सबैको खुट्टा खाली छ, अनि हातमा चाहिँ पुस्तिका । छिसिक्क हल्ला सुनिन्न । अत्यन्त शान्त र सौम्य माहौल ।देख्दा लाग्छ यो वातावरण कुनै ध्यान शिविरको हो । यस्तो शीतलताको आभास गराउने परिवेश अन्त कहाँको होला ? तर, नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली पुगियो भने यो अनुमान गलत साबित हुन्छ । किनभने, वैदिक संस्कृत अध्यापन हुने यस विद्यालयको हर कक्षा कोठाको माहोल यस्तै शान्त छ । कोठा विद्यार्थीले भरिएको हुन्छ तर गाइँगुइँ पटक्कै सुनिन्न । सुनिन्छ त केवल विद्यार्थीले संस्कृत मन्त्र पाठ गरेको, मधुर आवाज ।कक्षा कोठाभित्रको माहोल मात्र होइन, पूरा विद्याश्रमको संरचना र परिवेश नै ध्यान केन्द्रजस्तै शान्त छ । हुलिया र बनोट पनि मन्दिर जस्तै । र, यहाँ अध्ययनरत १६ वर्षमुनिका यी विद्यार्थी बटुक भनेर चिनिन्छन् । हुन त यो पनि विद्यालय नै हो । विद्यार्थीको पोशाक, प्रकृति, पढाइ पद्धति, आन्तरिक रहनसहन र अनुशासनका यावत् मानक आमविद्यालयको भन्दा अलग छ । अरू त अरू, भोजनमा समेत छुट्टै तौरतरिका र नियम छ । यहाँ पढ्ने विद्यार्थीले सात्विक भोजन मात्र गर्न पाउँछन् अर्थात् माछा, मासु, लसुन, प्याज पूर्णरुपमा निषेध छ ।विद्यार्थीले प्रत्येक बिहान एक–एक घन्टा वेद र स्तोत्र पाठ गर्नैपर्छ । आखिर गुरुकुलीय शिक्षा पद्धति अनुसार पढाइ हुने नेपालको सबैभन्दा पुरानो र केन्द्रीय विद्यालय न पर्यो । जहाँ नेपाल सरकारले तोकेको वेद विद्याश्रम शिक्षा प्रणालीअन्तर्गतका पाठ्यपुस्तक अध्यापन हुन्छ । देशको धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो विद्यालय खोलिएको थियो । त्यसैले यस विद्यालयको पाठ्यक्रम र अध्यापन शैली त्यही लक्ष्यको लागि भएको प्रधानाध्यापक केशवप्रसाद अधिकारी बताउनुहुन्छ ।२०२८ सालमा नयाँ शिक्षानीति लागू भएपछि एसएलसीको पाठ्यक्रमबाट संस्कृत विषय हटाइयो । त्यसअगाडि एक सय पूर्णाङ्कको संस्कृत पढ्नु पर्थ्याे । पूर्वीय दर्शन र हिन्दू धर्म संस्कारप्रति आस्था राख्ने विद्वानहरुले संस्कृत विषय निषेधप्रति विरोध गर्दै तत्कालीन राजा महेन्द्रसँग बिन्ती बिसाए, संस्कृत हटाउँदा पूर्वीय दर्शनमै संकट आइलाग्छ भनेर । त्यही समयमा राजा महेन्द्रले पनि आमपाठ्यक्रममा एक सय पूर्णांङ्कको विषय राख्ने मात्र नभइ, गुरुकुलीय पद्धति अनुसार संस्कृत अध्ययनका लागि छुट्टै संरचना बनाउने प्रण गरे । त्यसकै प्रतिफल हो, यो विद्याश्रम ।
विद्याश्रम पशुपति क्षेत्रभित्र संचालित छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल विद्याश्रमलाई कोषले आवश्यक सहयोग गरिरहेको बताउनुहुन्छ । २०२८ सालबाटै भवन बनाउन शुरु गरेको भए पनि तीन वर्षपछि अर्थात् २२ कात्तिक २०३१ बाट मात्र औपचारिक अध्ययन शुरु भएको थियो । त्यतिबेला १० कक्षामा मात्र सीमित गर्ने होइन, विश्वविद्यालयकै स्वरूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । स्नातक तहको मान्यता रहने ११ वर्षे पाठ्यक्रम विकास नै गरियो तर ती योजनाले मूर्त रूप पाउन सकेन, स्थापनाको चार दशक नाघिसक्दा पनि विद्याश्रम १० कक्षाबाट अगाडि बढ्न सकेको थिएन ।खासमा २०३६ सालको राजनीतिक अस्थिरताका कारण स्थापनाको सुरुको एक दशक यसको विकास शून्यजस्तै भयो तर २०४३ सालमा शिक्षा मन्त्रालयसँग समन्वय गरेर एसएलसी दिने व्यवस्था मिलाइयो । पहिलो वर्ष एक मात्र विद्यार्थी एसएलसीमा उत्तीर्ण भए, रामचन्द्र सुवेदी । सहभागी हुने पनि उनै मात्र थिए । दोस्रो ब्याजमा दुई विद्यार्थी उत्तीर्ण भए, अहिलेका प्रधानाध्यापक अधिकारी तीमध्ये एक हुन् । २०५५ देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएका अधिकारीले त्यतिबेला बुबाको पुरेत्याइँलाई निरन्तरता दिन नुवाकोटबाट यहाँ संस्कृत पढ्न आउनुभएको थियो । अहिलेका अधिकांश शिष्य पनि बाबुकै पदचाप पछ्याउन विद्याश्रम पुग्छन् ।अधिकारीका पालामा जम्माजम्मी २७ जना विद्यार्थी थिए, त्यो पनि वाग्मती अञ्चल वरपरका मात्र । अहिले दुई सय २५ विद्यार्थी पढिरहेका छन् करिब ६० जिल्लाका । ब्राह्मण मात्र होइन, जुनसुकै जातका बालकले पनि यहाँ पढ्न पाउँछन् तर त्यस्ता विद्यार्थीको उपस्थिति छैन ।जातीय नभए पनि क्षेत्रीय विविधता भने देखिन्छ । अझ दुर्गम मानिएको कर्णाली अञ्चलका त प्रत्येक जिल्लाका विद्यार्थी यहाँ वेद अध्ययन गरेर हिन्दु धर्म संस्कृति जोगाउन लागि पर्दैछन् । कतिपय बटुकको सपना सेनामा भर्ती र पण्डित्याइँमा मात्र सीमित छैन । उनीहरू संस्कृतबाट आफ्नो ज्ञानको दायरा फराकिलो बनाउँदै अन्य क्षेत्रमा पनि सफलता हाँसिल गर्ने धुनमा छन् । विद्यार्थी र समयको चाहको घेरो फैलिँदै गरे पनि विद्याश्रमको संरचना र प्रणालीमा सोही अनुरूप विकास हुन भने सकेको छैन । जसले गर्दा संस्कृत पढ्ने इच्छा हुँदाहुँदै पनि सबै समेटिन सकेका छैनन् । एसएलसीको पाठ्यक्रममा अंग्रेजी विषय राखिएको दुई वर्ष मात्र बित्यो । नत्र ‘अंग्रेजी पढ्दा पाप लाग्छ’ भनेर निषेध गरिएको थियो ।
अर्कोतिर अहिलेसम्म यो विद्यालयभित्र विद्यार्थीका लागि कम्प्युटर छिर्न सकेको छैन, । पाठ्यक्रममा अंग्रेजी विषय समावेश गर्न लामो संघर्ष गरेका प्रधानाध्यापक अधिकारीको अनुभव छ । समयानुकूल आधुनिकतातर्फ लम्कने योजना छ । तर, आर्थिक संकटका कारण कतिपय पक्ष चाहना र आवश्यकता हुँदा पनि उपलब्ध गराउन नसकेको दुखेसो पोख्नुहुन्छ । हिन्दु परम्पराको रक्षाका लागि पनि सरकारले विद्याश्रमलाई विशेषरूपमा हेर्नुपर्छ र पुजारी उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने प्रधानाध्यापक अधिकारीको भनाइ छ ।विद्यालयमा शुक्ल आयुर्वेद, संस्कृत भाषा, संस्कृत व्याकरण, कर्मकाण्ड, ज्योतिष र न्याय विषय संस्कृतमा पढाई भइरहेको छ । त्यसबाहेक नेपाली, सामाजिक, गणित र अंग्रेजी पनि पढाई भइरहेको छ । लामो संघर्ष पछि २०७६ सालबाट माध्यमिक शिक्षा अर्थात प्लस टु को अध्यापन शुरु गर्ने भएको छ । विद्यालयमा हाल १२ जना शिक्षकहरु कार्यरत छन् । जसमध्ये ३ जना शिक्षक मात्रै दरबन्दी अन्तर्गतको नियुक्ति छ । अन्य शिक्षक लामो समयदेखि अस्थायी शिक्षकको रुपमा काम गर्दै आइरहेका छन् । संस्कृत विषयमा एक कक्षा कोठामा १० जना मात्रै विद्यार्थी राखेर पढाउने चलन छ । तर, शिक्षक र कोठा अभावमा ४० जनासम्म राखेर पढाउनु परेको शिक्षकहरुको गुनासो छ ।विद्यालयका लागि ४९ रोपनी जग्गा छुट्याइएको थियो । तर अहिले जग्गामा प्रहरी कार्यालय लगायत अन्य कार्यालय बसेकाले साँघुरो भएको विद्यालयको भनाइ छ । जग्गा अभावकै कारण विद्यार्थीलाई खेल्ने चउरसमेत छैन । पशुपति क्षेत्र विकास कोषले विद्यालय भवनको छाना फेरिदिएको छ भने नयाँ भवन, वाउण्ड्री वाल निर्माण र छात्रावास भवन तथा खाट व्यवस्था गरिदिएको सदस्यसचिव ढकालको भनाइ छ ।https://youtu.be/npoeRk28Ksg?list=PLT8LMrml4tPEkJ_TRQK_kkmjbZFg82Ang