भगीरथ भण्डारी इलाम । सबैभन्दा पहिले घामको ज्योति पर्ने र यही कारण अत्यन्तै मनमोहक दृश्य देखिने ठाउँ इलामको श्री अन्तुडाँडा । यहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतको दार्जिलिङ तथा बङ्गालबाट समेत सूर्योदयको दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
![](https://45.77.241.73/wp-content/uploads/2019/09/antu-234.jpg)
अन्तु डाँडाबाट सूर्योदयको अनुपम दृश्य देखिने भएपछि यहाँ पर्यटकको भीड लाग्ने गर्दछ । अन्तुबाट अवलोकन गर्दा टिष्टा नदी तिरको क्षितिजमा सूर्योदयको रेखा देखिन थाल्छ । त्यो रेखा चम्किलो हुँदै गएपछि रेखाको बीच भागमा टपरा, मयुर, थाल जस्तो देखिँदै देखिँदै अलिक माथितिर गोलो र रातो रङमा घाम देखिन्छ । पहिले रातो देखिएको घाम चम्किलो हुँदै केहीबेरमा अन्यत्रबाट पनि देखिएजस्तै हुन्छ । सूर्यका किरणहरु निस्कदै जाँदा अन्तुको टावरबाट देखिने कञ्चनजँगा हिमाल टल्किने गर्छ ।
![](https://45.77.241.73/wp-content/uploads/2019/09/antu-345.jpg)
क्षणिक मौसम परिवर्तन हुने इलाममा गर्मी महिनामा समेत हुस्सु र कुहिरो लाग्छ । मौसमसँगै रमाएर आँखाभरि चियाको दृश्य कैद गर्दै यहाँ सम्झनाको लागि फोटो खिच्न सकिन्छ । थुम्का–थुम्कामा चिया लहलह भएका बेला पर्यटकहरू चियाबारीमा घुम्न मात्र होइन, त्यहीँ रमाउने गर्दछन । चियाका बोटहरुमा लमतन्न सुतेर सेल्फी लिनुको आनन्द नै अर्कै हुन्छ ।
अन्तु पुग्नुको मज्जा सूर्याेदयको प्रथम दृश्यावलोकन मात्रै होइन । यहाँबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्कामा अलैंची, सिजन अनुसार फलफूल तथा अरू बालीको समेत अवलोकनमार्फत आनन्द लिन सकिन्छ । यहीँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका बजारहरु आफ्नै वरिपरि जस्तै देखिँदा त झन मनै बेग्लै महशुस हुने गर्छ ।