अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले राष्ट्रियहितलाई सर्वाेपरीराखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले जनताको अपार मतबाट बनेको वर्तमान सरकारले राष्ट्रिय हितमा काम गर्नुपर्ने बताउनुभयो ।
नेता रावलले विगतमा नेपाली कांग्रेसले राष्ट्रियतामा आघात पर्ने थुप्रै काम गरेको बताउँदै अब त्यस्ता काम निस्तेज गर्दै अघि बढ्नुपर्नेमा यसमा आफूले आवाज उठाइरहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता रावलले पार्टी एकताको कामले छिटो पूर्णता पाउनुपर्ने र यसबाट पार्टी तथा सरकारका कामलाई सही ढंगले जनतासमक्ष लैजान सहयोग पुग्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्र, संविधान, पार्टीको विधान, दस्तावेज, चुनावी घोषणापत्रमा उल्लेख प्रतिबद्धता पूरा गर्नुपर्ने पक्षमा भएको भन्दै नेता रावलले यही आधारमा आफ्ना धारणा राखिरहेको बताउनुभयो । पार्टी एकता जति ढिलो भयो त्यति नै कार्यकर्तामा निराशा, पार्टीलाई नोक्सान र सरकारका राम्रा काम जनसमक्ष प्रस्तुत हुन नसक्ने उहाँले धारणा राख्नुभयो । स्थानीय तहदेखि शुसाशन तथा पारदर्शीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेता रावलले भ्रष्टचार र अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने बताउनुभयो ।
विगतदेखि नै आफूले अपरकर्णाली, पश्चिम सेती विद्युत आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्ने माग राख्दै आएको भन्दै रावलले अपरकर्णाली जलविद्युत आयोजना २/२ पटक म्याद थप्दा पनि प्रवर्द्धक कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै पटक पटक राज्यले एउटा कम्पनीसँग परियोजना विकास सम्झौता विपरीत म्याद थप्न नहुनेमा जोड दिनुभयो ।
तपाइँ सरकारको विरोध मात्रै गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञाशामा नेता रावलले आफूले राष्ट्रिय हित, संविधान, कम्युनिष्ट पार्टीको मूल्य, मान्यता, सिद्धान्त तथा घोषणापत्र विपरित हुने गरेका काममा खबरदारी गरी सचेत गराई रहने उल्लेख गर्नुभयो । यसो गर्नु हरेक व्यक्तिको कर्तव्य हो, रावलले भन्नुुभयो । हालै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा कोशी उच्च बाँधलाई अघि बढाउने भन्ने निर्णय भएको आपूmले जानकारी पाएको भन्दै यसो भएमा नेपाललाई फाइदा नहुने बताउनुभयो । कांग्रेसले समेत कोशी उच्च बाँधलाई अघि नबढाएको भन्दै कम्युनिष्ट सरकारले यसो गर्नु दुर्भाग्य हुने नेता रावलको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी, पार्टी सचिव झपट साउँद, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा, प्रदेश सांसद हर्क बहादुर कुँवर गोबिन्द, अक्कल रावल, बलबहादुर सोडारी, मीना साउँद, दुर्गा विक, पार्टीका नेता कार्यकर्ता, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।