थारु लेखक संघले गरेको तेस्रो राष्ट्रिय थारु साहित्यिक मेलाका सहभागीले थारु भाषाका रचनालाई राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्न चासो नदेखाएको गुनासो गरे
प्रेम बुढाबर्दिया । थारु भाषाका साहित्यिक सिर्जनामा कमजोरी पत्ता लगाई व्याकरणीय शैली तथा साहित्यिक लेखनी विकास गर्न थारु भाषाका लेखक तथा साहित्यकार भेला भएका छन् ।
बढैयाताल गाउँपालिकामा शुरु भएको साहित्यिक मेलामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, थारु भाषामा लेख्दै आएका स्रष्टा, समालोचक, भाषाविज्ञ तथा थारु साहित्यका कथाकार, कवि तथा गजलकारलगायत देशभरका थारु स्रष्टा जम्मा भएका छन् । शुक्रबार थारु लोककथाको समालोचना तथा आख्यान लेखनीमा छलफल गरेका सर्जकले समग्र थारु समुदाय र साहित्यको विकास गर्न शिक्षामा जोड दिनु पर्ने आवश्यकता औँल्याए ।
थारु लेखक संघले गरेको तेस्रो राष्ट्रिय थारु साहित्यिक मेलाका सहभागीले थारु भाषाका रचनालाई राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्न चासो नदेखाएको गुनासो गरे । सहभागीहरुको गुनासोपछि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले थारु भाषाको पत्रिका प्रकाशन, थारु भाषाको शब्दकोष तथा व्याकरण प्रकाशनमा भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
शनिबार सकिने साहित्यिक मेलामा लेखक, व्याकरण प्रकाशनमा भाषाविज्ञ तथा सर्जकले साहित्यमा आख्यान लेखन, रंगमञ्चका चुनौति, थारु लोककथा, महिला लेखक र महिला नेतृत्व चुनौतिका विषयमा गहन छलफल गर्ने छन । थारु भाषाका एकदर्जन साहित्यिक कृति विमोचन गरेको राष्ट्रिय साहित्य मेला बढैयाताल घोषणा पत्र जारी गरी सकिने आयोजकले जनाएको छ ।