भगीरथ भण्डारी इलाम । जिल्लामा ५ वर्षको अवधिमा ५ सय १३ जनाले आत्महत्या गरेको एक अध्ययनले देखाएको छ । जसमध्ये ३ सय १५ पुरुष र १ सय ९८ जना महिला रहेका छन् । जिल्लामा आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।
प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला अन्तरालमा पाँच वर्षको दोश्रो वर्ष केही घटेपनि तेश्रो र चौथो वर्ष निरन्तर आत्महत्यादर बढेको देखिन्छ । पाँचौ वर्ष घटनामा केही कमि आएपनि पनि चालू आर्थिक वर्षको प्रारम्भमा नै आत्महत्याका घटना बढेका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०७१ ७२ मा ९७ जनाले आत्महत्या गरेका थिए । जसमा ५६ पुरुष र ४१ महिला थिए । सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको, ५ जनाले बिष सेवन र १ जनाले हाम फालेर आत्महत्या गरेका थिए ।
आर्थिक वर्ष ०७२ र ७३ मा ५७ पुरुष, ३९ महिला, ४ बालक र २ बालिकासहित ९४ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी ९१ जनाले झुण्डिएर तथा विष सेवन, आगो लगाएर र हाम फालेर १ १ जनाले आत्महत्या गरेका पाइएको छ ।
आर्थिक वर्ष ०७३ ७४ मा १ सय ८ जनाले आत्महत्या गरेका गरे । ६२ पुरुष र ४४ महिला तथा एक एक जना बालक र बालिकले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९९ जनाले झुण्डिएर, ८ जनाले विष सेवन गरेर र १ जनाले हाम फालेर आत्महत्या गरे ।
आव ०७४ ७५ मा १ सय ११ जनाले आत्महत्या गरे । ७२ पुरुष र ३७ महिला तथा एक एक बालिकाले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९२ जनाले झुण्डिएर, १६ जनाले विष सेवन गरेर र एक एक जनाले आगो लगाएर, हाम फालेर र औजार हतियार प्रयोग गरेर आत्महत्या गरेका थिए ।
आर्थिक वर्ष ०७५ ०७६ मा भने आत्महत्याको संख्या घटेको छ । यस अवधिमा ६३ पुरुष, ३४ महिला र २ बालकले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी ९२ जनाले झुण्डिएर, ६ जनाले विष सेवन गरेर, १ जनाले हाम फालेर र २ जनाले औजार हतियार प्रयोग गरेको पाइएको छ ।
त्यस्त,ै चालू आर्थिक वर्षको साउनमा ११ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये ५ पुरुष, ३ महिला, १ बालक र २ बालिका रहेका छन् । यो आत्महत्या गरेका सबैले झुुण्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
जिल्लाको सन्दकपुर गाउँपालिकामा मनोविमर्श सेवा सन्दकपुर गाउँपालिकामा गत वर्षदेखि नै आत्महत्या रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय युनिट इन हेल्थ नामक संस्थासँगको साझेदारीमा गाउँपालिकाले सो अभियान संचालन गरिरहेको गाउँपालिकाका अध्यक्ष उदय राईले बताउनुभयो ।
प्रत्येक महिना मनोचिकित्सकको उपस्थितिमा सबै वडामा मानसिक रोग सम्बन्धी अन्तरक्रिया र शिविर सञ्चालन गरी मनोविमर्श सेवा प्रदान गरिंदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । अभियान संचालन भएपछि ९२ जनाले प्रत्यक्ष सेवा पाएको र गाउँपालिकाबाट एक जनाले पनि आत्महत्या नगरेको अधिकृत राईको दावी छ ।
विश्वमा वार्षिक ८ लाख आत्महत्या गर्छन् संसारभर वार्षिक ८ लाख जनाले आत्महत्या गर्ने गरेको पाईएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेका छन् । विश्वमा ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछन् । आत्महत्या गर्ने भन्दा आत्महत्याको प्रयास गर्ने २० गुणा बढी भएको अनुमान विश्व स्वास्थ्य संगठनको छ ।
मानिसले आत्महत्या गर्नुको कारण दु:ख खप्न नसकेर भन्ने गरिन्छ भने कतिपय मानिसले आर्थिक समस्याका कारण पनि आत्महत्या गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्ने गरेको देखिन्छ । मानसिक स्वास्थ्य समस्याले व्यक्तिलाई यो अवस्थामा ल्याइदिन्छ कि, उनीहरु आफ्नाे जीवन आफै नाश गरिरहेकाे समेत पत्ताे पाउँदैनन् ।