काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागले बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरेको छ । अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ पनि सार्वजनिक गरिएको छ ।
‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले बालसाहित्यको विकासका लागि ‘बालप्रज्ञा’को भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजनाहरू बनाइने छ ।’
प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले प्रज्ञा–प्रतिष्ठान स्थापना भएको ६२ वर्षपछि पहिलो पटक बालसाहित्यमा भाषा मानकीकरणका लागि बहस शुरु गरेकोमा प्रसन्नता व्यक्त गर्दै बालबालिका मुलुकका कर्णधार भएकाले बालसाहित्य लेखक संवेदनील हुनुपर्ने बताउनुभयो ।
सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताउँदै अबका दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक एवम् बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा.देवी नेपालले आफ्नो विभागले बालसाहित्यका क्षेत्रमा नयाँ र ऐतिहासिक महत्वका योजना बनाएर कार्यान्वयन प्रारम्भ गरेको सुनाउँदै दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकवार्ताहरूको सङ्कलन गरी प्रकाशन गरिने योजना रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रा.डा.ऋषिराम शर्माले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा डा.रामप्रसाद ज्ञवालीले ‘बालप्रज्ञा’ र बालकथाका सम्पादक रामदेव पाण्डेले पुस्तकमाथि परिचर्चा गर्नुभएको थियो ।
बालकथामा १ सय १ बालकथाकारका कथा समाविष्ट गरिएका छन् । कार्यक्रम ‘बालप्रज्ञा’का कार्यकारी सम्पादक प्रा.डा.ध्रुव्र घिमिरेले सञ्चालन गर्नुभएको थियो ।