हुमाकान्त पोखरेलगुल्मी। अरिङ्गालले टोकेर अस्पतालमा भर्ना भएकी धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराकी विनिता कुँवरलाई आर्थिक अभाव भएको छ । यहि भदौ १२ गते फूपूको घरबाट घर फर्कँदा उनलाई घरभन्दा तल रिप भन्ने ठाउँमा हिडिरेको अवस्थामा अरिङ्गालले टोकेको थियो । त्यसपछि स्थानीय दधिराम विकले परिवारलाई खबर गरेका थिए । उपचारका लागि तम्घास अस्पताल ल्याइएकी कुँवरलाई पाल्पा पठाइयो ।
पाल्पाको लुम्बिनी मेडिकल कलेजले थप उपचारको लागि बुटबल पठायो । अहिले उनको बुटबलस्थित गौतम बुद्ध सामुदायिक अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । तर लगातार आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले खर्च बढी हुन आएको हो । भदौ १३ गतेबाट आइसियू मा राखेर उपचार भएपनि खाना खान पनि नसकेपछि १४ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर नियमित रुपमा भेन्टिलेटर राख्दा इन्फेक्सन हुने र अर्को समस्या देखिने हुँदा २९ गतेबाट घाँटीमा भेन्टिलेटर जडान गरी उपचार हुने स्थानीय भेषराज अधिकारीले जानकारी दिए । ‘अस्पतालले घाँटप्मा प्वाल पारी भेन्टिलेटर राख्नुपर्ने भन्छ उपचार खर्च धेरै लाग्ने भयो ।’ उनीसँगै रहेका स्थानीय भेषराज अधिकारीले भने, ‘त्यसैमाथि मृगौलामा पनि असर देखा परेको छ ।’
अरिङ्गालले टोकेपछि विनिताको मृगौलाको साथसाथै फोक्सोमा पनि घाउ भएको अस्पतालले जनाएको छ । अहिले उनको उपचारमा नियमित रुपमा डाइलोसिस् गरिँदै आएको छ । अस्पतालका अनुसार अझै दुई महिना आइसियूमै राखेर उपचार गर्नुपर्ने हुन्छ । अहिले आइसियूमा राखेर उपचार गरेबापतको एक दिनको खर्च दुई हजार र भेन्टिलेटरको एक दिनको खर्च चार हजार छ । यसरी अन्य औषधी र रेखदेखबाहेक दैनिक ६ हजार खर्च हुँदा धेरै रकम लाग्ने अस्पतालले जनाएको छ । अस्पतालमा विनितासँगै रहेका उनका दाई प्रदिप कुँवरले अहिलेसम्म उपचारमा तीन लाख ८५ लाख खर्च भइसकेको जानकारी दिए । यही हिसाबले उनको उपचार अवधिभर १२ लाख भन्दा बढी खर्च हुने उनले बताए । दाइ प्रदिपले बहिनीले अस्पतालभित्रै जीवन मागेपनि अस्पतालले पैसा मागेको तर त्यो सबै रकम आपूmहरुसँग नभएकाले समस्या भएको बताए ।
बुबालाई डेंगुछोरीलाई अरिङ्गालले टोकेपछि उपचारका लागि गएका विनिताका बुबा टोप बहादुरलाई डेंगु लागेको छ । उपचारका लागि सँगै गएका बुबालाई नै महामारी रोग ‘डेंगुु’ लागेपछि परिवारमा थप चिन्ता थपिएको छ । टोप बहादुरलाई पनि चार दिनसम्म अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनी बुटबलस्थित आफन्तकै घरमा छन् । टोप बहादुर रोजगारीको सिलसिलामा भारत जाने गर्दथे । तर पछिल्लो समय भारतमा पनि कमाई नभएपछि केही वर्षदेखि घरमै खेती गर्दै आएका थिए ।
सहयोगको अपेक्षाविनिताकी आमा सुनिता कुँवरले परिवारमा एकपछि अर्को समस्या थपिदा आफूलाई झन् पीडा हुने गरेको बताइन् । छोरीलाई बचाउन चाहेपनि रकम अभावले समस्या परेको उनको भनाइ छ । ‘छोरीलाई पहिलेकै अवस्थामा देख्ने मन छ, तर आर्थिक कमजोर भएकाले समस्या भयो ।’ विनिताकी आमा सुनिताले भनिन, ‘जे गर्नु धनले नै गर्दो रहेछ ।’ उनले भएभरको सबै सम्पत्ति बेच्दा पनि छोरीको उपचार खर्च पुग्न नसक्ने गुनासो गरिन् । ‘छोरी ति बिरामी भई भई, श्रीमानलाई पनि महामारिले छोप्यो ।’ गहभरी आँशु झार्दै उनले भनिन्, ‘अब सबैलाई सञ्चो हुने कामना गर्नुबाहेक मसँग केही विकल्प छैन ।’ स्थानीय राजन केसीले विनिताको उपचारमा सबैले सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरे । ‘राज्यले नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्न नसक्दा उपचारका लागि हात फैलाउनुपरेको हो ।’ उनले भने, ‘भोलि यस्तै समस्या जो–कसैलाई पर्न सक्छ ।’ परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए । विनिता कुँवर धुर्कोट गाउँपालिका–४ जैसिथोक स्थित पाञ्चायन माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी हुन् । विद्यालयका प्रधानाध्यापक कृष्ण चन्द्र पन्थीले पनि सबैले सक्दो सहयोग गरी विद्यार्थी विनिताको उपचारमा सहयोग गरिदिन अपिल गरे ।