रुपक कुलालडोल्पा । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती उपल्लो डोल्पाको धो तराप उपत्यकामा डोल्पो महोत्सव सम्पन्न भएको छ । दर्शन डोल्पाको आर्जन शान्तिको भन्ने मूलनाराका साथ शुरु भएको डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन विद्यालय रजत जयन्ती २०७६ डोल्पोबुद्ध गाउँपालिका अन्तरगत धो तरापमा भएको हो ।
भदौ २४ गतेदेखि शुरु भएको महोत्सव शनिबार सकिएको छ । महोत्सव उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पूर्व मन्त्री जनार्दन शर्मा, पर्यटन राज्यमन्त्री धनवहादुर बुढा, कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेशकै पर्यटनमन्त्री नन्दसिँह बुढासहित नेकपाका विभिन्न नेताको सहभागिता थियो ।
उपप्रधानमन्त्री पोखरेलले भेरी करिडोर चाँडै निर्माण हुने बताउनु भयो । मरिम, तिन्जे, धो हुदैँ सदरमुकाम दुनैसम्म सडक सञ्जाल चाँडै निर्माण हुने उहाँको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले धो तराप उपत्यकामा व्यवस्थित हवाइ मैदान र एकीकृत बस्ती निमार्णमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुर््भएको छ ।
पूर्व मन्त्री शर्माले बजेटको सदुपयोग गर्दै चाँडो भन्दा चाँडो भेरी करिडोर निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले धो र तिन्जेमा हिमाली बजार निर्माण गरिनुपर्ने र धो मा सुख्खा बन्दरगहा निमार्ण गर्ने सरकारलाई आग्रह समेत गर्नुभएको छ । पूर्व मन्त्री शर्माले चिनियाँ राष्ट्रपतिको नेपाल भ्र्रमणमा भेरी करिडोरलाई वानबेल्ट एण्ड रोडमा समावेश गर्नको लागि प्रताव राख्न सरकारलाई सुझाव दिनुभएको छ ।
पर्यटन राज्यमन्त्रीले भेरी करिडोर निर्माणमा सक्रिय भइरहेको बताउनु भयो । मरिम देखि दुनैसम्म सडक निर्माण हुने आशा पलाएको मन्त्री बुढाको भनाई छ । उहाँले डोल्पा सदरमुकामसम्म सडक सञ्जालले छुँदा बासिन्दा खुशी भएको उल्लेख गर्दै भेरी करिडोरमा बेलिब्रिज पनि निर्माण बनाउनु पर्ने बताउनुभयो ।
प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाले डोल्पा जडिबुटीको राजा भएको बताउँदै भेरी करिडोर जतिसक्दो छिटो निर्माण गरिने जानकारी दिनुभयो ।डोल्पो क्षेत्रमा आयोजना भएको महोत्सवले पर्यटन विकासमा कोशेढुङगा सावित हुने आयोजकको दाबी छ । महोत्सवले डोल्पाको पर्यटनको विकासमा टेवा पुर्याइ स्थानीय बासिन्दाको जीवकोपार्जनमा सुधार ल्याउने महोत्सव संयोजन ग्याल्पो डाल्पो भोटेको भनाई छ ।