काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।
विराटनगरमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठीका १४ वटै जिल्ला सुरक्षा समितिका प्रमुखले सुरक्षा अवस्थाकोबारे प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्री राईले जिल्लाबाट प्राप्त जानकारीको आधारमा सुरक्षा सन्तोषजनक रहेको धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले सुरक्षा प्रत्याभुत नभई सुखी र समुन्नत प्रदेशको लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले तय गरेका कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधारको विकास लगायतका लक्ष्य पूरा नहुने धारणा व्यक्त गर्नुभयो । चन्दा आतंक, मानव बेचविखन, लागु औषध ओसारपोसार, साइबरक्राइम, चोरी, लटपाट, हत्या, हिंसा, बलात्कार जस्ता अपराध देशभरीकै सुरक्षा चुनौति बनेको उहाँको भनाई छ ।
दुई दिनसम्म चल्ने सुरक्षा गोष्ठीमामा समग्र शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौतिका तत्व, विप्लव समूहका गतिविधि र नियन्त्रणमा भएको प्रयास, सीमा क्षेत्रमा हुने अपराध र नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय लगायतका छलफल भएको छ ।
गोष्ठीमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी वलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सुरक्षा सल्लाहाकार इन्द्रजित राईले सुरक्षा रणनीति प्रस्तुत गर्नुभएको थियो ।