राहुलबहादुर सार्की
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेंसीका चन्द्रे फगामीको जन्म वि.सं १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँ १ सय ६ वर्ष पुग्दै हुनुहुन्छ ।
उहाँ लौंरो टेकेर हिंड्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिंदैन । कान सुन्नुहुन्न । गत वर्ष पोखराको हिमालयन आँखा अस्पतालमा शल्यक्रिया गरेपछि उहाँले आँखा देख्नुहुन्छ । भेट्न आउनेलाई चिन्नुहुन्छ । कुराकानी गर्नुहुन्छ ।
साइली छोरी डिलीसा पुर्जाले भन्नुभयो, ‘डिलीसा र माइली छोरीले ओइसाले उहाँको स्याहार गर्नुहन्छ । आइसा ८० र डिलिसा ७६ वर्षका हुनुभयो ।’ जेठी छोरी गाउँमै आफ्नै घरमा बस्नुहुन्छ । कान्छि छोरी द्वन्द्वको बेलामा मृत्यु भयो । उहाँकी श्रीमति बिलमतीको भने २० वर्ष पहिले निधन भएको थियो ।
‘अहिलेसम्म बिरामी भएर बुवालाई अस्पताल भर्ना गर्न लगेका छैनौ,’ डिलीसाले भन्नुभयो ‘ढिडो, खोले र कुखुराको मासु मिठो मानेर खानुहुन्छ ।’ कोदोको ढिंडो र जाउलो उहाँको खाना हो ।’
भेटघाट गर्न आउनेहरूलाई फगामीले भेडागोठमा बिताएका कुरा सुनाउनुहुन्छ । ‘जान्ने भएदेखि भेडीगोठ बसेको थिए,’ फगामीले भन्नुभयो ‘आधा जीवन भेडाबाख्रासँगै बिताएँ ।’
फिरन्ते शैलीमा बर्खामा अन्नपूर्ण हिमालको फेदी र हिउँदमा बेंसी फाँटमा भेडाको अघिपछि गरर बिताउनुभयो । स्वच्छ हावापानी र उचित खानपानले गर्दा रोगले आक्रमण नगरेको फगामी बताउनुहुन्छ ।
‘बिरामी भएर अहिलेसम्म अस्पताल गएको र पसलबाट औषधि किनेर खाएको छैन,’ फगामीले भन्नुभयो ‘सामान्य बिरामी हुँदा जंगलकै जडिबुटी खान्छु ।’ घोडेपानी नयाँपुल हुँदै तीन दिन पैदल हिंडेर पोखरा पुगेका उहाँ अहिले गाउँमै गाडी, दैलो, दैलामा खानेपानी, हातहातमा मोवाइल सेवा भएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।
‘हाम्रा पालमा साथीभाई भेट हुन र रमाइलो गर्न मेला जात्रा पखनुपर्दथ्यो,’ उहाँले भन्नुभयो ‘अहिले बिजुली, गाडी, मोवाइल आयो । हिजोका ती दिन सम्झँदा कथा जस्तो लाग्छ ।’
उहाँ पछिका चार पुस्ता छन् । नाति गोविन्द फगामीले आफ्नो बाजेलाई गाउँकै जेष्ठ मानेर सम्मान गरिएकोमा खुसी लाग्ने बताउनुभयो ।
वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले उहाँ गाउँपालिका र जिल्लाकै जेष्ठ नागरिक हुन सक्ने बताउनुभयो । ‘हामीले उहाँ जस्तै अरू जेष्ठ नागरिक छन् कि छैनन् भनेर खोज्दैछौँ,’ वडा अध्यक्ष फगामीले भन्नुभयो ‘सय वर्ष पुगेको मान्छे देख्न र भेट्न पाउनु गौरवको विषय हो ।’
उहाँ जिल्लाको सबैभन्दा जेष्ठ नागरिक भएको अनुमान गरिएको छ । फगामी र उहाँका छोरीहरूले मासिक पाउने सामाजिक सुरक्षा भत्ताबाट घरखर्च चलाउने गरेका छन् ।