प्रकाश न्यौपानेभैरहवा । देवदह नगरपालिका वडा नम्बर–१, ढेकवारका २१ वर्षीया विशाल तामाङले सार्वजनिक जमिन आफ्नो नाममा बनाएको तथ्य बाहिर नल्याउन भन्दै एक लेखापढी कानून व्यवसायीलाई २० लाख रुपैयाँ दिएको रहस्य बाहिर आएको छ । सियारी गाउँपालिका वडा नम्बर–१ (साविक चिल्हिया गाविस–९, सोनारेत)को करिब साढेचार विगाह जमिन देबदहका तामाङले आफ्नो नाममा बनाएको तथ्य यसअघि खुलिसकेको छ । मालपोत कार्यालयको तथ्यांकअनुसार कित्ता नम्बर ४५ को ४ विगाह ९ कठ्ठा ६ धुर सार्वजनिक जमिन २०७१ साल माघ १८ गते तामाङको आफ्नो नाममा दर्ता गराएका हुन् ।
तामाङले लेखापढी व्यवसायी संघ, सिद्धार्थनगर अध्यक्ष भागवत उपाध्यायलाई २० लाख रुपैयाँ दिएका हुन् । भैरहवास्थित मालपोत कार्यालय नजिकै रहेको संघको कार्यालयमा पुगेर विशालले २०७५ माघमा उपाध्यायलाई पैसा बुझाएका हुन् । ‘मैले सरकारी जमिन व्यक्तिका नाममा गराइएको थाहा पाएँ, ‘त्यसपछि जमिन फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएँ’ अध्यक्ष उपाध्यायले भने– त्यसको ४÷५ दिनपछि तामाङले आएर मलाई झुक्याएर २० लाख रुपैयाँ दिएर गए । सँग मेरो पहिले चिनजान थिएन । पैसा दिएको २ दिन अघिमात्रै सामान्य परिचय भएको थियो । एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’
उपाध्यायका अनुसार तामाङले उपाध्यायलाई पैसा भनेर नदिई एकछिन झोला राखिदिनुस् भनेर हिँडेका थिए । ‘मलाई मिति ठ्याक्कै थाहा भएन । त्यसदिन तामाङ मेरो टेबुल अगाडि आएर एकछिन भलाकुसारी गर्यो’ उनले भने, ‘अनि आफ्नो साथमा रहेको झोला जिम्मा लगाउँदै केही समय यही राखिदिनुस् म पछि आउँछु भनेर झोला छाड्यो । साँझसम्म झोला मैले खोलेन । तर पछि उ लिन नआएपछि खोलेर हेर्दा २० लाख रुपैयाँ थियो । २० लाख रुपैयाँ पाएपछि उनी केही समय चुप रहे । मेरो अलिकति ऋण थियो । कुरै नगरी पैसा छाडेर तामाङ गायब भएपछि मैले उक्त पैसाले मेरो ऋण तिरेँ । अहिले पैसा फिर्ता दिइसकेको छु ।’
उपाध्यायले सार्वजनिक जमिन व्यक्तिका नाममा गएको तथ्य संचारमाध्यममा बाहिरिएपछि मात्रै पैसा फिर्ता गरेका छन् । उनले अघिल्लो साता दुई किस्ता गरी पैसा तामाङलाई फिर्ता गरेको जनाए । शुरुमा ४ लाख र पछि १६ लाख उनले फिर्ता गरेका छन् । उपाध्याय सियारी–१ निवासी हुन् । उनी अहिले तामाङको नाममा गएको सार्वजनिक जमिन संरक्षण (भू–संरक्षण) का अध्यक्ष समेत हुन् । तामाङ भने नेपाली रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाक गद्दी खानेपानी तथा सरसफाई राज्यमन्त्री हुँदा स्वकीयसचिव थिए ।
भित्री रुपमा उपाध्याय र तामाङबीच लेनदेन भए पनि घटना भने गुपचुप थियो । गाउँपालिका अध्यक्ष अयोध्या थारुको मिलेमतोमा सार्वजनिक जगा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै सियारी गाउँपालिकामा कांग्रेसले ज्ञापनपत्र बुझाएपछि घटना बाहिरिएको हो । त्यो जग्गा जनप्रतिनिधि निर्वाचित नहुँदै तामाङले आफ्नो नाममा गराएको पाइएको छ । सार्वजनिक जमिन भएको तथ्य बाहिरिँदा समेत तामाङले भने जमिन आफ्नो भएको दावी गर्न छाडेका छैनन् । तामाङले भने उक्त रकम भागवतलाई सापटी दिएको दावी गर्छन् ।
‘मैले सापटी दिएको हुँ, त्यो घरायसी कुरा हो’, विशालले भने । तर उपाध्यायले भने त्यो पैसा सापटी नभएको बताएका छन् । ‘उसले मैले जिल्ला प्रशासनमा उजुरी दिएका कारण मेरो मुख थुन्न पैसा दिएको हो’ उनले भने, ‘पैसा पाएपछि केही समय चलाए अनि फिर्ता गरेँ । तर म जमिन सार्वजनिक नहुँदासम्म लडिरहन्छु ।’ भागवतले सार्वजनिक जमिन विशालले आफ्नो नाममा दर्ता गराएको र जमिनको स्रेस्ता कागजातमा प्रयोग गरिएको सही छाप समेत किर्ते जस्तै देखिएको भन्दै निजलाई पक्राउ गरी छानविन गर्न र दर्ता खारेज गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा २०७५ माघ १ गते निवेदन दिएका थिए । त्यसको केही दिनपछि मात्रै विशालले २० लाखसहितको झोला आफूसँग ल्याई छाडेको भागवतले स्वीकार गरेका छन् ।
उपाध्यायले जमिन रोक्का राख्न भन्दै मालपोतमा समेत उजुरी दिएका छन् । भागवतलाई २० लाख रुपैयाँ सापटी दिएको दावी गर्ने तामाङले आफूले भागवतको माग पूरा गर्न नसकेपछि जग्गा रोक्का गर्न भन्दै मालपोतमा उजुरी दिएको दावी गर्छन् । विशाल भने, ‘मैले उपाध्याय समूहको माग पूरा गर्न सकिन त्यसैले मेरो जमिनविरुद्ध लागे ।’ यी दुईबीचको आरोपप्रत्यारोपले सोनारेतको करिब साढेचार विगाह जमिनको खेलमा अन्य भूमाफिया पनि संलग्न रहेको देखिन्छ । ‘तामाङ एक्लैले त्यो जमिन नामसारी गर्ने हिम्मत गरेका छैनन्, उनका सहयोगी हुनसक्छन्’, मालपोत कार्यालयका एक कर्मचारीले भने ।
नेपाली कांग्रेस सियारी गाउँसमितिले अघिल्लो साता सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता सिफारिस गरेको, आफन्त र आफू निकटका कर्मचारी नियुक्ति गरेको जस्ता आरोप लगाउँदै गाउँपालिकामा घेराउ गर्दै ज्ञापनपत्र बुझाएको थियो । कांग्रेसको ज्ञापनपत्र र घेराउपछि गाउँपालिकाले त्यो जग्गा २०७१ सालमै देवदह नगरपालिका ढेकवारका तामाङको नाममा दर्ता गरिएको दावी गरेको छ । गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले नेपाली कांग्रेसले बिना प्रमाण जनतामा भ्रम र अशान्ति फैलाउन गाउँपालिकामाथि आरोप लगाएको बताउँछन् । तामाङको नाममा सार्वजनिक जमिनको लालपूर्जामा २०७१÷१०÷१८ को निर्णय अनुसार दर्ता हुन आएको छ । ‘जमिन कसरी तामाङको नाममा गयो भन्ने यहाँ यथेष्ट प्रमाण देखिँदैन’ मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले भने, ‘खाली स्रेष्तामा उनको नाममा जमिन गएको देखिन्छ ।’
०७१ सालमा उक्त जग्गा आफ्नो नाममा दर्ता गराएका तामाङले लालपुर्जा हराएको भन्दै २०७५ मंसिर २६ गते वडा कार्यालयको सिफारिसमा मालपोत कार्यालयबाटै प्रतिलिपि लिएका छन् । त्यो जग्गा २०३५ सालदेखि स्थानीय चिल्हिया माविले प्रयोग गर्दै आएको थियो । सरकारी विद्यालयको जग्गामा एकाएक कसरी व्यक्तिको नाममा लालपुर्जा बन्यो ? भन्ने प्रमाण मालपोत कार्यालयबाटै ‘गायव’ पारिएको छ । मालपोतको स्रेस्तामा मिसिल नम्बर २८ बाट विशालको नाममा जग्गा दर्ता हुन आएको उल्लेख छ । तर मालपोत कार्यालयमा ‘मिसिल नम्बर २८ नै गायव’ छ । मालपोत र नापी कार्यालयको फिल्ड बुकमा अहिले पनि त्यो जग्गा ऐलानी उल्लेख छ । क्षेत्रफल ४ बिघा ६ कट्ठा ९ धुर छ । तर मालपोत कार्यालयले जारी गरेको लालपुर्जामा जग्गाको क्षेत्रफल ४ बिघा ९ कट्ठा ६ धुर उल्लेख छ ।
सरकारी स्रेस्ताबाट व्यक्तिको नाममा एकैपटक दर्ता गरिएको त्यो जग्गा तिनाउ नदीसँग जोडिएको छ । नदीसँग जोडिए पनि उक्त जमिनको मूल्य चर्को छ । जमिन कारोबारीका अनुसार यहाँ प्रतिकठ्ठा १० लाख भन्दा बढीमा जमिन खरिदविक्री हुँदै आएको छ । १० लाख नै प्रतिकठ्ठा मूल्य राख्दा पनि तामाङले आफ्नो नाममा बनाएको सार्वजनिक जमिनको बजार मूल्य ९ करोड भन्दा बढीपर्छ । गाउँपालिकाले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै ज्ञापनपत्र बुझाउने र गाउँपालिका घेराउ गर्ने काँग्रेस नेताकार्यकर्ता आफ्नै पार्टीका नेताका स्वकीयसचिव तथा कार्यकर्ताको नाम मुछिएपछि तैचुप मैचुप छन् । ‘शुरुमा दोष हामीलाई लगाएर उम्किन खोजेका थिए । तर पछि आफ्नै कार्यकर्ता मुछिएपछि चुपचाप छन्’, पालिका अध्यक्ष थारुले भने ।