भगीरथ भण्डारीइलाम । छिन छिनमा मौसम परिवर्तन हुन्छ । कहिले घाम कहिले पानी । लेकमा चिसो हुन्छ । पानी नआउने दिनै हुँदैन । घामको मुख आकलझुक्ल मात्रै देख्न पाइन्छ । सल्लाघारीलाई कुइरोले छेक्छ । कुइरोले छेकेको सल्लाघारीमा एउटा गोठ छ ।
गोठ बनाएर छाडेजस्तो देखिन्छ । तर होइन । गोठमा १० वटा गाई छन् । गोठभित्र ओछ्यान पनि छ । चरनबाट आएका गाइसँगै आएका जुका ओछ्यानसम्म आउँछन् । दिउँसो गाई चरणमा हुन्छन् । बिहान र बेलुका मात्रै गाई गोठमा हुन्छन् । गाईलाई बेलुका मात्रै खोले दिइन्छ । यसको कारण छ । खोलेको लोभमा गाई जसरी पनि बेलुकी गोठमा फर्किन्छन् । जसरी मानिस आशमा बाँचेका छन्, पशुलाई पनि आश हुने रहेछ ।
गाईको रेखदेखमा दिन बित्छ थुम्केका ताराबहादुर चौहानका र उनी श्रीमती सुजता खड्काको । तीन जनाको परिवार गोठमै हुर्के । ४ वर्षकी छोरीलाई दुई घण्टा लाग्ने विद्यालय पुर्याउँछन् दम्पत्ति । नजिकै सरकारी विद्यालय छैन । बिहान सबेरै गाई दुन्छन् चौहान । त्यसपछि जंगल चरनमा पठाउछन् । बाछाबाछ्छी पनि छोड्छन् । बाछा ढिलो छोड्दा जंगलमा माउसँग बाछाबाछीको भेट हुँदैन । भेट भए दुध खाइदिन्छ, सुजता बताउँछिन् ।
गाईलाई जंगल पठाएपछि गोठ सफा गरेर दुध दुहुन थाल्छन् उनीहरू । उनीहरूले डेरी पनि चलाएका छन् । दश गाईका दुधले डेरी धनेको छ । दुधबाट क्रिम र छुर्पी बनाउँछन् । अहिले पाँच माउले मात्रै दुध दिन्छन् । ती गाईबाट दैनिक २५ लिटर दुध आउँछ । दुधबाट तीन चार किलो घिउ र तीन किलो जति नै छुर्पी निस्कन्छ ।
घिउ घरबाटै साढे पाँच सय रुपैयाँ प्रतिकिलो र छुर्पी साढे आठसय प्रतिकिलो बेच्नछन् । उनीहरूको कमाई यति मात्रै होइन, थुम्के घुम्नका लागि पर्यटक जाने गर्दछन् । खुला आकाश भएको बेला इलामका दश वटै स्थानीय तहको दृश्य देख्न सकिन्छ । त्यहाँ जाने पर्यटकले बस्ने र खाने गर्छन् ।
गोठमा बस्न पैसा लाग्दैन। खाएको मात्रै तिर्ने हो । पारिवारीक वातावरणमा गोठमा मिल्छ । दैनिक किनेर खानुपर्दा वाक्क भएका नयाँबजारका अधिकांश मानिस थुम्के जान्छन् । गोठमा १५/२० वटा लोकल कुखुरा छन् । त्यहाँ पुग्ने जो कोहीले देख्ने बित्तिकै लोकल कुखुराको सुप नै सम्झने गर्छन् । चिसो मौसममा सबैको ध्यान जाने गर्छ । चौहान भन्छन्, शुक्रबार र शनिबार चाहिँ अलिक भिड हुने गर्छ । कहिले त गोठमा बस्ने ठाउँ नै हुँदैन ।
माई जोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई गाउँपालिकाको विकासका लागि पर्यटकीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनी भन्छन्, ‘थुम्केको विकासका गाउँपालिकाले काम थालि सकेको छ । त्यहाँबाट दशवटै स्थानीय तह देखिने भएकाले पहिले भ्यूटावर निर्माणका लागि काम शुरु भइरहेको छ ।
लेकाली क्षेत्र सन्दकपुर, मेग्मा, कुहिभिर, थुम्केडाँडा, लामिधेरा जौवारी लगायतका लेकाली क्षेत्रमा प्रायः समय कुहिरो लागि रहन्छ । पर्यटकीय सम्भावना बोकेका लेकाली क्षेत्रमा प्रशस्त सम्भावना छन् ।