काठमाडौं । ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ वाङ्मय शताब्दी पुरूष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई दिइने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा प्रदान गर्दै आएको ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ संस्कृतिविद् जोशीलाई दिने निर्णय गरेके हो । पुरस्कारको राशी ४ लाख रुपैयाँ र सम्मानपत्र छ ।
प्रतिष्ठानले अन्य विभिन्न प्रज्ञा पुरस्कारको समेत घोषणा गरेको छ । प्रत्येक दुई वर्षमा दिइने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५–२०७६ का लागि प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई, हरेक एक वर्ष प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ मदन रेग्मीलाई दिइने भएको छ ।
राष्ट्रिय पुरस्कार २०७६ भागीरथी श्रेष्ठलाई, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ लिम्बू भाषा–साहित्यलाई, २०७६ का लागि अमृत योञ्जन तामाङलाई, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी मैथिली भाषा साहित्यलाई, २०७६ का लागि अशोक थारलाई थारू, भाषा–साहित्यलाई प्रदान गरिने भएको छ । उल्लेखित पुरस्कार राशी एक एक लाख रुपैयाँ छ ।
यसै गरी प्रज्ञा–प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, यसै गरी नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । यी पुरस्कारको राशी एक एक लाख रुपैयाँ हुनेछ ।
यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापनाको समेत निर्णय गरिएको छ ।
प्रतिष्ठानको प्राज्ञसभाको ३४औँ बैठकले पुरस्कार सम्बन्धी निर्णय गरेको कुलपति गंगाप्रसाद अधिकारीले बताउनुभयो । प्राज्ञसभाको बैठकले गत आर्थिक वर्षको बजेट अनुमोदन गर्नुका साथै २०७६÷२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारितसहित ।२३ करोड ७ लाख ३३ हजार रुपैयाँ बजेट पारित गरेको छ ।