प्रकाश न्यौपाने रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान शुरु गरेको छ ।
नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका बिरामीको तथ्यांक संकलन गर्ने अभियान बुधबारदेखि शुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिने, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा पूmलदानीमा रहेको पानी सातामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न, घर वरिपरि सफासुग्घर राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेतना गराइने र यी कार्य नगरपालिकाबाट खटिएका कर्मचारीले पनि गर्ने उपप्रमुख उमा काफ्लेले बताउनुभयो ।
डेंगु सार्ने लामखुट्टेको बासस्थान र लार्भा नस्ट गर्ने अभियानमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेको नेतृत्वमा स्वाथ्यकर्मी, अन्य कर्मचारी, स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । नगरका १३ वटै वडामा ५० वटा केन्द्रमार्फत् १ सय १ जना स्वयंसेविका तथा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरिएको न्यौपानेले बताउनुभयो । अभियानको क्रममा डेंगु रोग लाग्ने कारण, बच्ने उपायबारे पनि नगरबासीलाई सचेतना गराइने छ । यससँगै सचेतनामूलक पर्चा–पम्पलेट पनि वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले नगरभित्रका विद्यालयमा अभियान चलाइसकेको छ ।
यस्तै, जनप्रतिनिधिहरु पनि परिचालन भएका छन् । वडा कार्यालयमा आउने सेवाग्राहीलाई पर्चा–पम्पलेट बाँडिएको छ । नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेर डेंगु नियन्त्रणमा लाग्न अपिल गरिएको न्यौपानेको भनाइ छ । हरेक विद्यालयमा पठनपाठन हुनुपूर्व शिक्षकहरुले विद्यार्थीलाई डेंगु रोगका बारेमा जानकारी गराएर मात्रै कक्षाकोठामा पठनपाठन गर्न शुरु गरेका छन् । दुई दिने अभियानमा नगरका प्रत्येक घरमा पुगेर डेंगुको बासस्थान गर्ने तरिका सिकाइने छ ।
यसको प्रभावकारिता हेरेर नगरपालिकाले थप योजना बनाएर डेंगु नियन्त्रण अभियानमा लाग्ने जनाएको छ । मुलुकभरी फैलिएको डेंगुले हजारौं नागरिक बिरामी भएका छन् । रुपन्देहीमा पनि डेंगुको संक्रमण बिस्तारै बढ्दै गएको छ । जिल्लाको अन्यस्थानमा डेंगु संक्रमित बढ्दै गए पनि सिद्धार्थनगरमा भने सामान्य छ । बासस्थान र लार्भा नष्ट गर्ने तथा घरदैलो अभियानले डेंगु संक्रमण फैलन सहयोग पुग्ने नगरपालिकाले विश्वास लिइएकाे बताइएकाे छ ।
आम नागरिकलाई समेत सचेत गराइने भएकाले आगामी दिनमा डेंगु राेग पूर्ण नियन्त्रणमा आउने अपेक्षा नगरपालिकाकाे छ ।