नेपालमा अहिले डेंगु रोगले नेपालका धेरै अस्पताल नै हराभरा छ । डेंगु कहाँबाट, किन, कसरी, केकालागि, कहिले बसाइँ सरेर नेपालमा आयो भन्ने कुराको प्रमाण उ आफैसँग छैन । अहिले नेपालमा दुवो मौलाए सरी डेंगु मौलाएको छ ।हिमाल, पहाड, तराई सबैतिर र तराईमा त सबैलाई त्राही त्राही पारेको छ यो अटेरी थेतारो डेंगुले । फेरी मान्छे चिनेर जाइलागेको भए त एउटा कुरा हुन्थ्यो नि । जो पायो त्यसैलाई समातेर बसेको छ । चिन्नु न जान्नु घचेटी माग्नु भनेझैँ जसको पायो त्यसैको घरमा पसेर बसेको छ । कतिले भगाउने प्रयास गर्दा पनि भागेको छैन । बरु झन् जरो गाडेर बसेको छ । मलजल र दुर्गन्धले हौसिएर फस्टाउने मौका पाएको छ । भनौ डेंगु भोकाएर नेपालभित्र ताजा खानेकुरा खान पसेको छ ।
यो बिहारी खानापिनाले मातिएर नेपालीपनलाई बिहारी शैलीमा ढाल्न नेपाल भित्रिएको जस्तो छ । ‘छे महिनाके छुट्टीमे इकिस हजार लेके आया हुँ’ भन्दै हाम्रो स्वस्थ्य सफा र सुकिलो मुकिलो घरभित्र पसेर रजाई गर्ने सोंचले आएको हुनुपर्छ यो डेंगु । अर्कोतिर बेलायत, हङकङ, थाइल्याण्ड, सिंगापुरतिरबाट पो आएको होकि ? भन्ने शंका उपशंकाहरु पनि उव्जिएका छन् । किनभने डेंगुको घर थर पहिले त्यतै थियो र धरानेहरुले जीवन धान्न डेंगुहरुकै चरणमा शरण परेका थिए । त्यसैले धरानलाई डेंगुको शहरका रुपमा सबैले चिनेका हुन् । जे होस्, होस् वा नहोस् तर डेंगु अहिले अटेरी र थेतरो भएर कसैलाई पनि नटेरीकन आफ्नो वर्चस्व यत्रतत्र सर्वत्र कायम गराउन लागि परेको छ होस्टेमा हैसे गर्दै ।
डेंगुले कसैलाई चिन्दैन न माननीय मन्त्रीलाई चिन्यो, न सांसदलाई चिन्यो, न डाक्टरलाई चिन्यो, न ठेकेदारलाई चिन्यो, न सचिवलाई चिन्यो, न कसैको कुरा सुन्यो नै बरु जवरजस्त अटेरी भएर कानमा तेल हालेर जिल्ला जिल्लामा डोर मुकाम बनाएर दौडाहामा दौडिरहेको छ ।
डेंगुलाई स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले कम हकारेको गाली गरेको होइन । जिल्ला जिल्लाका डाक्टर साहेवहरुले समेत डेंगुलाई पङ्गु बनाउनको लागि कम प्रयास गरेको होइन । डेंगुको सातो जाने गरी उपचार गरे तर टसमस गरेको छैन । कसैलाई मतलब नराख्ने मुलुक पिराहा यो डेंगुलाई भगाउन प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत माननीय सांसदहरुले होहल्ला गरे । सरकारको ध्यानाकर्षण गराए तर डेंगुले भने सुने पनि नसुनेझैँ गरिरहेको छ । सरकारको शक्ति नपुगेर भनौ भने सरकारका सबैखाले संयन्त्रले न्वारनदेखिको बिगौती बल निकालेर डेंगुका विरुद्धमा जनचेतनादेखि सचेतनासम्मका कार्यक्रम गरिरहेका छन् । तर पनि डेंगुको डेग चलेको छैन । बरु डेंगु अझ वलशाली भएर ज्यानमारा बन्दै गएको छ । जसले आफ्नो ज्यान पालिदिएको छ उसै उपर जाइलागेर ज्यान लिने हर्कतसम्म गर्ने यो डेंगुले अब आफ्नो ज्यान माया मारे हुन्छ । यदि होइन भने डेंगुले यथासिघ्र नेपालको भूमि छोडोस् । नत्र नेपाल सरकारले यो डेंगुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका सुराकीहरु लगाएर होस् वा विदेशी गोताखोरहरु मगाएर भए पनि नियन्त्रणमा लिएर देश निकाला गर्न सक्ने सम्भावना बढदै गएको छ ।
सरकारका उच्च पदस्थहरुले जोरबलका साथ डेंगु नियन्त्रण गर्न खोज्दा पनि नटेर्ने, किट नासक औषधिले पनि नमर्ने । फोहर खोजेर बास बस्ने, होस्टेमा हैंसे गर्दै भागेर गरिब निमुखाहरुको दैलोमा पुगेर बेला न कुबेला भैलो खेल्ने बानी परेको यो डेंगु सरकारको प्रतिपक्ष भएर निस्केको जस्तो छ । यो डेंगु सरकारको प्रतिपक्षी भएकै कारण यसलाई तह लाउन अब थ्री नट थ्री, एके फोर्टी सेभेन, मेशिन गन वा लञ्चर प्रयोग गरेर होस् अथवा उतर कोरियासँग वा रसिया, इरान, इराकसँग लामो दूरीका क्षेप्यास्त्र सहयोग मागेर भए पनि सोतर पार्नु पर्छ भन्ने गोज्याङ्ग्रेको माग रहेको छ । हाम्रा लाखौ नेपाली दाजुभाइ, दिदीबहिनी बुवाआमाको रगत, पसिना चुस्न पल्केको शोषकी सामन्ती डेंगुलाई जताबाट आएको हो त्यतैतिर अर्थात सात समुन्द्र पारी नकटाएसम्म हामीले सुख र शान्तिको सास फेर्न पाउँदैनौ जस्तो छ । थाल ढ्याङ्ग्रो ठटाएर यसले टेर्दैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धानका खुराकी खाने सुराकीको मानो पचाउने कामले ड्याङ् ड्याङ र डुङ डुङ गरेर वा पानीको फोहरा लाएर पनि टेर्दैन, कालो बोको, कालो रागो, कालो परेवा, कुखुरा, हाँस, भेडोको भाले बली चढाए पनि भाग्दैन यो डेंगु । किनकि डेंगु आफै पोथी भए पनि भाले भएर निस्केको छ । दश वर्षे जनयुद्ध लड्नेहरुलाई लगाउनु पर्छ यो डेंगु नियन्त्रण गर्न । किनभने दश वर्षे जनयुद्धमा सत्र हजार मार्न सक्नेले यो जावो डेंगु त कति मार्छन् कति । अर्कोतिर उनीहरु पनि पीडित भएका छन् यो डेंगुका कारण । नपत्याए मौका दिनुस् र हेर्नुस् उनीहरुसँग सबै खाले हतियार चलाउने सीप छ र डेंगु नियन्त्रण गर्ने सबैलाई सरकारले ह्वीप जारी पनि गरेको छ ।
कसैले भनेको पनि नटेर्ने यो डेंगुलाई अब पुलिस प्रशासन लगाएर पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा लगाएर जेल हाल्ने कि भन्ने सोंच पनि पलाउन थालेको छ । तर विचरी निर्मला पन्तको हत्यारो पता लगाउन नसक्ने पुलिस प्रशासनले यो डेंगु जस्तो महामारी फैलाउन सक्ने किरा पता लाएर पक्राउ गर्न सक्छ भनेर विश्वास गर्न सक्ने ठाउँ पनि छैन । यस्तो अवस्थामा पुलिस प्रशासनले डेंगु नियन्त्रण गर्ला भन्नु त मान्छे हँसाउने काम बाहेक अरु केही होइन जस्तो लाग्छ । न्यायालयमा मुद्दा हाल्दा हुने हो किनभने वकिल र वकिल साहेवहरु अनि श्रीमानहरुलाई पनि डेंगुले पंगु बनाउन सक्छ । तसर्थ भोलिको दुर्घटनाबाट बच्नका लागि आजै होशियारी हुनु राम्रो भएपनि कतै डेंगुले न्यायालयभित्र पसेर न्यायालयलाई नै प्रभावमा पारी न्याय सम्पादनमा अवरोध ग¥यो भने अर्को समस्या उत्पन्न हुन्छ । अख्तियारको जिम्मा लगाउँदा कतै यो डेंगु भाग्थ्यो कि भन्ने कुरा पनि आयो तर यो पनि सफल होला जस्तो लाग्दैन । कतै अख्तियारले चालै नपाई डेंगु अख्तियारभित्र पसेर त्यहाँका कागजपत्र र कर्मचारीहरुलाई नै नियन्त्रणमा लिएर आफ्नो हैकम जमायो भने त भ्रष्टाचारका मुद्दाहरु प्रभावित हुन्छन् ।
दुनियाँको रगत, पसिना चुसेर मोटाएको भ्रष्टाचारी अटेरी डेंगुलाई अब कसै गरी पनि नियन्त्रणमा लिन सकिएन भने एउटा काइदाको उपायद्धारा नियन्त्रणमा लिएर दिल्लीका कोठीहरुमा पठाउनु पर्छ । सुगुर, बंगुरका खोर वरपर ससाना खता वा दह बनाएर भैसी, सुगुर आहाल बसाउनु पर्छ । गाउँघरमा निस्किने भएभरको फोहर पनि त्यही थुपार्नु पर्छ । त्यो वरपर मुसाको बासस्थान हुन सक्ने प्वालहरु बनाउनु पर्छ । यति गरेपछि त्यो खता वा दहमा डेंगु कसो नआउला त । दहमा आएको डेंगुलाई जालमा पारेर दिल्लीका सिल्लीहरुको जिम्मा लगाउनु पर्छ । अनि एडससँग पौठेजोरी खेल्नु पर्दा नेपाल बिर्सन सक्ने सम्भावना रहेकाले वा बिहारको कटिहारतिर पठाए पनि त्यहाँका कट्टीवालहरुको फन्दामा परेर डेंगु तह लाग्ने देखिन्छ । अर्को उपाय यही मौकामा पुलिस प्रशासनले होस् वा अस्वस्थ्य स्वास्थ्य संस्थाहरुले डेंगुलाई नियन्त्रणमा लिएर झोलामा हाली दिल्लीका नम्बरी कोठीहरुमा बिक्री गर्नुपर्छ । त्यसबाट आम्दानी पनि भयो र अर्को तर्फ डेंगुलाई एच आई भि एड्स रोग लाग्छ । एड्स लागे पछि सकिगो नि कुरो । स्वर्गमा आनन्दले परीहरुसँग लैबरी गर्दै बस्दै । अनि नेपालमा डेंगुको नाम निशानै खतम । दिल्लीका सिल्लीहरुको संगतमा परेर एडससँग पौठेजोरी खेल्नु पर्दा नेपाल बिर्सन सक्ने सम्भावना रहेकाले यसो गरेमा नेपाल डेंगुको चंगुलबाट मुक्त हुन सक्ने प्रवल सम्भावना देखिन्छ ।