काठमाडौं ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर तथा नेपाल भ्रमणवर्ष २०२० को सन्दर्भमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहीबार सांस्कृतिक संस्थानसँगकोे सहकार्यमा वाद्यवृन्द कार्यक्रम ‘सारंगीमा देश’ नामक सांगीतिक कार्यक्रमको आयोजना गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालभरका विविध जातजाती, भाषा र क्षेत्रलाई झल्काउने १६ वटा सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।
सांगीतिक कार्यक्रममा मंगल धुन, सोरठी धुन, पालाम भाका, असारे भाका, मैथिली भाका, क्या राम्रो इन्द्रेणी, कौडा भाका, शिरसाया भाका,संगीन धुन, वा माया वा, मालश्री धुन, धिमाल धुन, साकेला भाका, म्हेन्दोमाया भाका, थकाली धुन र देउडा धुन प्रस्तुत गरिएको थियो ।कार्यक्रममामन्त्री योगेश भट्टराईले उक्त सारंगीमा देश कार्यक्रमले नेपाली सांगितिक क्षेत्रलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै गन्धर्वको उत्थानका निमित्त महत्वपूर्ण खेल्ने बताउनुभयो ।
मन्त्रीभट्टराईले देशभरमा विगत देखि अहिलेसम्म विभिन्न जनजातिले आफ्नो जन्मदेखि मृत्य तथा विभिन्न चाडपर्व र उत्सवमा बजाउने गरेको १३ हजार भन्दा बढी बाजा मध्ये ७ हजार भन्दा बढी बाजा सरकारले संकलन गरेको र त्यसलाई छिट्टै राष्ट्रिय संग्रहालयमा राख्ने एवं अरु बाजाको पनि खोजी गरिरहेको जानकारी दिनुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले देशको मौलिक बाजा सारंगी र गन्धर्व जाति नै बिस्तारै लोप हुँदै गएकोमा दुःख व्यक्त गर्दै गन्धर्वको संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सारंगी संयोजक भरत नेपाली, ताल–वादन संयोजक भरत बुढाथोकी र नरेश प्रजापति रहेका थिए भने सांगीतिक कार्यक्रमका संयोजक अशोक राई रहेका थिए । सांगितिक प्रस्तुतिका क्रममा सारंगीमा धर्म गन्धर्व, खुम के.सी, सबिन लिम्बु, सन्तोष पाठक, सन्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, विजय तामाङ, डेनियल क्रिस्टिफर सुब्बा, आयुश्मा के.सी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, व्रत गन्धर्व, दिपेश नेपाली, अरुणा गन्धर्व र चिकारा मेइदा रहेका थिए भने बाँसुरीमा रत्न बि.क., सहनाईमा धन बहादुर गुरुङ, टुङ्गनामा लोकराज राई, मुर्चुङ्गा, पात, चरी बाजा र बिनायोमा हिरन राई रहेका थिए । त्यस्तै कोरस गायनमा कला राई, मेनुका राई, निशा आङदेम्बे, रेनु थापा, गंगा राई, सञ्जय तुम्रोक र सीता सिङ्घकले साथ दिएका थिए ।
कार्यक्रममा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँगै, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्मा लगायत विविध संघसंस्था एवं मन्त्रालयका पदाधिकारीको उलेख्य सहभागिता रहेको थियो ।