रुपक कुलाल/डोल्पातस्बिर : विपीन श्रीवास्तव
डोल्पाको धो तराप, विश्वमै उचाइमा रहेको मानव बस्ती । समुन्द्र तहबाट करिब ४२ सय मिटरमा अवस्थित धो तराप मंसिरदेखि माघसम्म हिउँले टप्प छोपिन्छ । त्यसबेला निकै कष्टकर हुन्छ त्यहाँको जनजीवन । धो तराप प्राकृतिक चुनौतिसँग जुद्धदै विकासतर्फ लम्किम्दैछ । बासिन्दाले विकास मागिरहेका छन् । सुविधा खोजिरहेका छन् । मनोरम त्यो ठाउँलाई पछिल्लो समय राज्यले पनि सुन्दर हिमाली शहर बनाउने परिकल्पना गरिरहेको छ ।
धो तरापलार्ए सुन्दर शहर बनाउन विभिन्न ठाउँबाट अधिकतम् प्रयास भइरहेको छ । त्यसैको लागि सांस्कृतिक, सामरिक महत्वको डोल्पो महोत्सव भएको छ । उपल्लो डोल्पाको धो तराप उपत्यका अन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा भएको महोत्सवमा पुगेका उपप्रधानमन्त्रीदेखि अन्य नेताहरुले आश्वासनका पोका नै बाँडे । महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भेरी करिडोर चाँडै निर्माण गरिने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री पाखरेलले मोरिम, तिन्जे, धो हुँदै सदरमुकाम दुनैसम्म सडक सञ्जाल चाँडै जोड्न सडक निर्माणको काम संघीय सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । धो तराप उपत्यकामा व्यवस्थित हवाई मैदान र एकीकृत बस्ती निमार्णमा सरकारले सहयोग गर्ने उहाँको भनाई छ । भौगोलिक हिसाबले विकट तर प्राकृतिक सुन्दरता, जडिबुटी, संस्कृतिको धनि धो क्षेत्रका बासिन्दाको माग पूरा गरिने मन्त्री पोखरेलले आश्वासन दिनुभयो ।
पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले बजेट सदुपयोग गर्दै चाँडो भेरी करिडोर निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले धो र तिन्जेमा हिमाली बजार निर्माण र धो मा सुख्खा बन्दरगाह निर्माण सरकारले प्राथमितामा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । पूर्वमन्त्री शर्माले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा भेरी करिडोरलाई वान बेल्ट एण्ड रोडमा समावेश गर्न प्रस्ताव राख्न सरकारलाई सुझाव दिनुभयो ।
संघीय सरकारका संस्कृति तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भेरी करिडोर निर्माण सरकार सक्रिय भइरहेको बताउनु भयो । मरिमदेखि दुनैसम्म सडक निर्माण हुने आशा पलाएको मन्त्री बुढाको भनाइ छ । उहाँले डोल्पा सदरमुकामसम्म सडक सञ्जालले छुँदा बासिन्दा खुशी भएको उल्लेख गर्दै भेरी करिडोरमा बेलिब्रिज पनि निर्माण बनाउनु पर्ने बताउनुभयो ।
धो तरापको मुहार फेर्न प्रदेश सरकार पनि लागि परेको छ । कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले डोल्पा जडिबुटीको राजा भएको बताउँदै कर्णालीको लाइफलाइन भेरी करिडोर जतिसक्दो छिटो निर्माण गर्न सबै लाग्नु पर्ने बताउनु भयो । भेरी करिडोर अर्थात् त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशलगायत देशकै समृद्धिमा टेवा पुग्ने बताउनुभयो । नेताहरुले धो तरापका जनतालाई आश्वासनका पोका त बाँडेका छन् । आश्वासन कति पूरा हुने हुन्, प्रतीक्षाको विषय बनेको छ ।
चर्चा भेरी करिडोरकोडोल्पो महोत्सवमा भेरी करिडोरले निकै चर्चा पाएको छ । आखिर के महत्व छ ? संघीय मन्त्री, प्रदेश मन्त्रीदेखि नेतासम्मले भेरी करिडोर निर्माणमा जोड दिए । भारतको रुपैडिहा जमुना नाकादेखि डोल्पाको धोमोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्ग नै भेरी करिडोर हो । सरकारले भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ ।
भेरी करिडोर अन्तर्गतका जाजरकोट डोल्पा सडक निर्माण २०६५ मा शुरु भएको थियो । २०७६ मा डोल्पा सदरमुकार करिब १ सय १८ किलोमिटर सडक निर्माण भएपछि भेरी करिडोरले पूर्णता पाउने आशा पलाएको थियो । भेरी करिडोर अन्तर्गत डोल्पा सदरमुकामसम्म सडक सञ्जाल पुगिसकेको छ भने चीनको सिमानाबाट मरिम नाकासम्मको कुल १ सय १० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ ।
यदि दुनैदेखि धो सम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ । चीनबाट धोसम्म करिब सडक निर्माण भइसकेको छ । राष्ट्रिय सडक सञ्जालले नछोएपछि धो तराप क्षेत्रमा चिनियाँ मोटरसाइकल गुडिरहेको देख्न सकिन्छ । जडीबुटीको राजाको रुपमा परिचित डोल्पा भेरी करिडोर निर्माण भए जडीबुटि निर्यातमा सहज हुने र पर्यटकको संख्यामा समेत वृद्धि भएर आर्थिक विकासमा राज्यलाइ टेवा पुग्ने देखिन्छ । धो तराप क्षेत्रका स्थानीयले चाँडो दुनैदेखि धोसम्मको सडक निर्माण हुनुपर्ने माग राखेका छन् ।
दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ । स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्छ । स्थानीयले दुनैदेखि धोसम्मको बाटो ठेकेदारले निर्माण गरे वर्षौ लाग्ने भन्दै समयमै सडक निर्माण नेपाली सेनाबाट मात्र सम्भव भएकाले सेनाले नै सडक निर्माण गर्नुपर्ने माग राखेका छन् ।
https://youtu.be/QG-roReuWls