प्रकाश न्यौपानेभैरहवा । सिद्धार्थनगर नगरपालिकामा ठेकेदारले निर्माणमा ढिलासुस्ती गर्दा नेपाल–भारत सीमानाका आधा घण्टा बन्द भएको छ । सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।
बासिन्दाले भैरहवा भन्सार कार्यालय अगाडि चक्काजामसहित प्रदर्शन गरेर आधा घण्टा सवारी आवतजावत ठप्प पारे । बासिन्दाले बेलहिया–बुटवल व्यापारीक सडक मार्गअन्तर्गत भारतसँग सीमा जोडिएको बेलहियादेखि भैरहवातर्फ ६ सय मिटर ठेक्का लिएको विरुवा कन्ट्रक्सनले समयमै काम नगरेको भन्दै प्रदर्शन गरेका हुन् । साढे दुईवर्ष अघि नै भत्काइएको सडक निर्माण समयावधि सकिन लाग्दा समेत काम नहुँदा घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्या छ ।
नेपाल–भारत मैत्री समाजका अध्यक्ष डा.शान्तकुमार शर्माले सडक समयमै सम्पन्न गर्न पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको बताउनुभयो । ‘हामीले धेरैपटक प्रशासन र ठेकेदारलाई काम चाँडो गर्न भन्यौं तर सुनुवाई भएन’ उहाँले भन्नुभयो, ‘बासिन्दाको समस्या सम्बन्धित निकायले नसुन्दा बाध्य भएर नाका गर्नु परेको हो ।’ बेलहिया तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । तर ठेकेदारले सडक निर्माण अलपत्र पार्दा पर्यटक आगमनमा समस्या भएको छ । सडक हिलाम्मे र फोहोरयुक्त छ । पर्यटक नाक थुनेर हिड्न बाध्य छन् ।
अध्यागमन कार्यालयका अनुसार प्रत्येक वर्ष बेलहिया नाका हुँदै करिब २ लाख पर्यटक भित्रिन्छन् । त्यो नाकाबाट भारतीय पर्यटक बढी आउने गरेका छन् । स्थानीय बासिन्दा तथा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेत सम्बन्धित निकायले समस्या नसुने बेलहियाबाट यातायात चल्नै दिन्ने बताउनुहुन्छ ।
प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष–२०७६ मनाइरहेको छ । संघ सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाउने तयारी थालेको छ । तर स्थलमार्थबाट मुलुकमै सबैभन्दा बढी पर्यटक भित्रिने नाका अस्तव्यस्त हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । ‘नाका क्षेत्र यस्तै रह्यो भने हामीले भित्र्याउने भनेका २० लाख पर्यटक सपनामै सीमित रहन्छ’, अध्यक्ष शर्माले भन्नुभयाे, ‘सरकारले छिटोभन्दा छिटो समस्या समाधान गरी नाकालाई सुन्दरीकरण गर्नुपर्छ । काम नगर्ने ठेकेदारलाई दण्ड जरिवानासहित कारबाही गर्नुपर्छ ।’ आधा घण्टा नाका बन्द गर्दा बेलहियामा ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त हुन पुग्यो । नाकाबाट दैनिक मालबाहक र अन्य सानाठूला गरी १ हजार ५ सय बढी सवारी ओहोरदोहोर हुने गरेको छ ।
आयोजना प्रमुख जीवन्द्र मिश्र भने सडक निर्माणमा केही ढिलाई भए पनि पछिल्लो समय कामले गति लिएको बताउनु हुन्छ । ‘महिनौंदेखि बिजुली पोल सारिरहेको छ । अब एकदुई दिनमा सकिन्छ’ उहाँले भन्नुभयो, ‘वर्षातले काम गर्न सकिएन । भन्सार नाका भएकाले गाडी ओहोरदोहोर गर्दा निर्माणमा समस्या भएको छ । साताअघि मैले अफिसमा कन्ट्रयाक्टरलाई बोलाएर दशैंभित्र सवबेस र बेसको काम सक्न कागजात गरेको छु । यो कपी प्रशासनलाई पनि दिएको छु । ठेकेदारले तार्केट पूरा गर्छु भनेको छ । अहिले घाम लागेपछि धमाधम काम भइरहेको छ ।’
उहाँले दशैं लगत्तै सडक कालाेपत्रे सक्ने गरी द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभएको छ । करिब १० करोडमा ३० महिनाको ठेक्का पाएको विरुवाको निर्माण सम्पन्न अवधि असोज मसान्तसम्म छ । तर अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ ।