हुमाकान्त पोखरेलगुल्मी । गुल्मी अस्पताल तम्घासमा बिरामीको संख्या बढ्दै गएको छ । वर्षायाम सकिएको र मौसम परिवर्तन हुने समय भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको हो । तर दरबन्दी अनुसार डाक्टर नहुँदा उपचारमा भने समस्या परेको छ ।
गुल्मी अस्पतालमा पछिल्लो दुई महिना अर्थात साउन र भदौमा कुल ७ हजार ८ सय ३ जना बिरामीले सेवा लिएका छन् । सेवा लिनेमध्ये अधिकाशं महिला रहेका छन् । जसमध्ये ४ हजार ९ सय २६ महिला र २ हजार ८ सय ७७ पुरुष रहेका छन् । सबैभन्दा धेरैले ओपिडी सेवा लिएका छन् । ४ हजार १ सय ८७ जना महिला तथा २ हजार २ सय ७० पुरुषले ओपिडी सेवा लिएका छन् । त्यस्तै इमरर्जेन्सीमा १ हजार १ सय ३३ जनाले सेवा लिएका छन् । जसमध्ये ६ सय ३ जना महिला तथा ५ सय ३० जना पुरुष रहेको जिल्ला अस्पतालका बायोमेडिकल टेक्सिनियन दिपक महतले जानकारी दिए । अस्पतालमा पछिल्लो दुई महिनामा कुल २ सय १३ जना भर्ना भएका छन् । जसमध्ये १ सय ३७ महिला र ७६ पुरुष रहेको महतले जानकारी दिए ।
५० प्रतिशत पनि डाक्टर छैनन्दिन प्रतिदिन अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेपनि अस्पतालमा कार्यरत डाक्टरको सङ्ख्या भने घट्दै गएको छ । भएका केही डाक्टर समायोजनपछि सरुवा भएपछि अहिले तम्घास अस्पतालमा डाक्टरको अभाव भएको छ । अस्पतालमा प्रमुख मेडिकल सुपरिडेन्टेन्ट जर्नलिस्टदेखि अहेवसम्म कुल ४३ जना डाक्टरको दरबन्दी छ । तर हाल २२ जनामात्र कार्यरत छन् । जसमध्ये पनि समायोजनले ल्याब टेक्निसियन राजकुमर चौधरीको सरुवा भएको छ । यसरी अस्पतालमा दरबन्दी सङ्ख्याको जम्मा ४८.८३ प्रतिशत डाक्टर मात्र कार्यरत रहेको गुल्मी अस्पतालका सूचना अधिकारी काशिराम विकले जानकारी दिनुभयो ।
प्रमुख दरबन्दी नै रिक्तसुन्दा अचम्म लाग्न सक्छ, कुनै पनि स्वास्थ्य सँस्थामा प्रमुख दरबन्दी नै रिक्त छ भनेर । तर गुल्मी अस्पतालको यो कुनै नौलो विषय होइन । अस्पतालको ११औँ तहको प्रमुख मेडिकल सुपरिडेन्ट जर्नलिस्टको दरबन्दी नै विगत धेरै वर्षदेखि रिक्त रहँदै आएको छ । तर अस्पताल र व्यवस्थापन समितिले कुनै चासो दिएको छैन । अस्पतालमा नवौ तहका ९ जना डाक्टरको दरबन्दी छ । तर अहिले जम्मा एक जनामात्र कार्यरत रहेको सूचना अधिकारी विकले जानकारी दिए । अस्पतामा निमित्त प्रमुखको रुपमा मेडिकल सुपरिडेन्ट डा. उत्तम पाध्या कार्यरत छन् । बाँकी कन्सल्टेण्ट पेडियाट्रिसीयन, वरिष्ठ कन्सल्टेण्ट गाइनोलोजिस्ट, सर्जन, आर्थोपेडिक, रेडियोलोजिस्ट, साइक्याट्रिक, एनेष्थेसियोलोजिष्ट र वरिष्ठ कन्सल्टेण्ट फिजिसियनको दरबन्दी रिक्त रहेको अस्पतालले जनाएको छ । त्यस्तै ८औँ तहका कुल ५ जना डाक्टरको दरबन्दी रहेकोमा ४ जना कार्यरत छन् भने एकजनाको दरबन्दी रिक्त रहेको छ ।
सातौँ तहका सबै र पाचौँ तहका ४ दरबन्दी रिक्तअस्पतालमा सातौँ तहका सबै दरबन्दी रिक्त रहेको पाइएको छ । वरिष्ठ फिजियोथेरापिष्ट, वरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिस्ट र नर्सिङ्ग अधिकृतको दरबन्दी रिक्त रहेको छ । अस्पतालमा पाचौँ तहका कर्मचारीको दरबन्दी १९ हो । जसमध्ये चार दरबन्दी रिक्त अवस्थामा रहेका छन् । बाँकी रहेका ४ जना स्टाफ नर्स पनि समायोजनले सरुवा भइसकेको छ । ल्याब टेक्निसियन र एनेस्थेटिक सहायक एक/एक जना तथा दुईजना स्टाफ नर्सको दरबन्दी रिक्त छन् । चौथो तहका ल्याब असिन्टेन्ट र डार्करुपम असिस्टेन्टको दरबन्दी पनि रिक्त रहेको सूचना अधिकारी विकले जानकारी दिए ।
प्रशासनका सबै र अन्य ८ कर्मचारी छैनन्अस्पतालमा प्रशासनतर्फ पाचँ जनाको दरबन्दी छ । प्रशासनमा विशेषगरी फाइल तथा कागजपत्र मिलाउने, तथ्याङ्क संकलन गर्ने, आर्थिक हिसाब राख्ने लगायतका काम हुन्छ । सोही कामको लागि भन्दै नायब सुब्बा, लेखापाल, खरिदार र कम्युटर अपरेटर गरी ४ दरबन्दीको पनि सिर्जना गरिएको छ । तर सबै कर्मचारी दरबन्दीमै सिमित रहँदा काममा समस्या परेको छ । ‘बिरामी जाँच्ने समयमा पनि प्रशासनको काम गर्नुपर्ने बाध्यता छ ।’ डाक्टर विपिन खनालले भने, ‘यसको प्रत्यक्ष असर बिरामीलाई परेको छ ।’ अस्पतालमा हलुका सवारी चालकको पनि दरबन्दी छ । तर चालक छैनन् । कार्यालय सहयोगीमा ११ जनाको दरबन्दी रहेकोमा हाल ५ जनामात्र कार्यरत छन् । जसमध्ये एकजनालाई समितिबाट करारमा नियुक्त गरिएको हो ।
बिरामी बढ्ने अनुमानदशैं शुरु हुन लाग्दा बिरामी बढ्न सक्ने अनुमान गरिएको छ । यो समयमा मौसमी बिरामी र खानपानमा ध्यान नदिएका बिरामी आउने भएकाले बिरामी सङ्ख्या बढ्ने अनुमान गरिएको हो । टाइफाइड, वान्ता, झाडापखाला, ज्वरो, पेट दुख्ने, जन्डिस तथा विभिन्न प्रकारका सङ्क्रमणका बिरामी अस्पतालमा आउने अस्पतालका निमित्त प्रमुख डाक्टर उत्तम पाध्याले जानकारी दिए । ‘बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ, तर डाक्टरको सङ्ख्या भने घटिरहेको छ ।’ उनले भने, ‘सकेसम्म बढी सेवा दिने प्रयास गरेका छौं ।’ तर उनले सर्जन र कन्सल्टेन्ट डाक्टर नहुँदा भने धेरै नै समस्या परेको बताए ।
करारमा कर्मचारी छनोटः अध्यक्षअस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै करारमा कर्मचारी छनोटको प्रक्रिया शुरु गरिएको बताए । ‘कर्मचारी पठाउने निकाय संघीय स्वास्थ्य मन्त्रालय हो, तर डाक्टर आउने कुनै निश्चित भएन ।’ उनले भने, ‘तत्कालका लागि करारमा कर्मचारी छनोट गर्दैछौं ।’ उनले अस्पताल ५० शैयाको भएपनि डाक्टर लामो समयसम्म नबसेको कारण समस्या भएको बताए । अस्पतालले अहिले कुल १५ कर्मचारी करारमा नियुक्त गर्दैछ । जसमध्ये अनमी ३, स्टाफ नर्स ६, ल्याब टेक्निसियन २ जना तथा सहायक कम्युटर अपरेटर, नर्सिङ्ग अधिकृत, ल्याब एसिस्टेन्ट र मेडिकल ल्याब टेक्नोलोजिस्ट एक/एक जना करारमा छनोट हुने अस्पतालले जनाएको छ ।