हरि अधिकारी
कपिलवस्तु । वाणगंगा नदीमा ठेक्का सकिएको ३ महिनापछि चोरी निकासी बढेको छ । वाणगंगा नदी क्षेत्रबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको हो ।वाणगंगा नदी अन्तर्गत उप्टहवा, मधुवन, बालापुर, सुठौली, भलवाड क्षेत्रबाट रातिको समयमा नदीजन्य पदार्थ चोरी भइरहेको छ । रातको समयमा त्यस क्षेत्रबाट नदीजन्य पदार्थको चोरी निकासी प्रहरीकै सेटिङ्गमा हुने गरेको तथ्य भेटिएको छ ।
घुमुवा प्रहरी चोरी हुने क्षेत्रमा पुगेर तस्करीसँग आर्थिक लेनदेन गरी नदीजन्य पदार्थ चोरी निकासी गर्ने गरेको एक जनप्रतिनिधिले बताए ।रातको समयमा सयौं ट्याक्टर बालुवा चोरी हुँदासमेत प्रहरी बेखबर हुनु प्रहरीकै सेटिङ्ग भएको स्थानीय मधु घिमिरेको आरोप छ ।
पिपरामा ४ वर्षदेखि कार्यरत एक घुमुवा प्रहरी नदीजन्य पदार्थ चोरी निकासी गर्ने सेटिङ्गमा सक्रिय हुने गरेको ट्याक्टर व्यवसायीको भनाइ छ । दिनको एक पटक घुमुवा प्रहरी चोरी हुने क्षेत्र मधुवन धाम, उप्टहवा, वालापुर, बोर्डगाउँ, कोइली बनगाई, भगलापुर, जिनुवा आउने गरेको र ट्याक्टर धनि पनि त्यहीँ गएर डिल गर्ने स्रोतको दाबी छ ।
भगलापुर नाकामा ४०–५० ट्याक्टर बालुवा चोरी गरी संकलन गर्दा रातको समयमा प्रहरीकाे सेटिङ्गमा चोरी गर्ने तस्करहरुको गिरोह सक्रिय भएको तथ्य बाहिर आएको छ ।
सोही नाकामा रातको ११ बजे चोरी भइरहेको इलाका प्रहरी कार्यालय पिपरामा खबर गरेपनि प्रहरी नआएको वडा अध्यक्ष सुकदेव थारुले बताउनुभयो । तस्करले भगलापुर नाकाबाट चोरी गरेर ४०/५० ट्याक्टर बालुवा विभिन्न ठाउँमा संकलन गरेर राखेकाे उहाँकाे भनाइ छ ।
राति ११ बजे नै सूचना पाएपछि प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरी घटनास्थलमा नपुग्नुले तस्करीसँग मिलेको वडाअध्यक्ष थारुको भनाइ छ । प्रहरीले नै तस्करलाई पूर्व सूचना दिएर खोलाबाट बालुवा निकालेपछि गस्तीमा जाने गरेको वडा अध्यक्ष थारुको आरोप छ ।
चोरी गरी डम्पिङ्ग गरिएको बालुवालाई वाणगंगा नगरपालिकाले वैधता दिँदै आएको छ । चोरी गरी संकलन गरिएको बालुवा लिलामीबाट नगरपालिकाले ७८ हजार राजश्व संकलन गरेको नगरपालिकाका राजश्व शाखाका प्रमुख शान्ताराज आचार्यले बताउनुभयो ।
उता इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुषकुमार जोशीले वाणगंगा नदीमा चोरी बढेको स्वीकार गर्नुभएको छ । नगरपालिकासँग समन्वय गरेर नियन्त्रणका लागि संयुक्त अनुगमन गर्नुपर्ने उहाँको भनाइ छ ।
वाणगंगा नदी भन्दामाथि मधुवन धाम क्षेत्र धार्मिक तथा ऐतिहासिक स्थल रहेकोले त्यस क्षेत्रलाई नदीजन्य पदार्थको उत्खननमा प्रतिबन्ध लगाउनुपर्ने समाजसेवी पोमनारायण पौडेल तर्क छ ।