प्रकाश न्यौपानेभैरहवा । तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनमा १० परियोजनाको लगानी सम्झौता (एमओयू) गरिने भएको छ ।
राजधानी बाहिर स्थानीय तहले गर्न लागेको पहिलो लगानी सम्मेलनमा एकैपटक यतिधेरै परियोजनामा लगानी सम्झौता हुन लागेको हो ।
कर छुटसहितका योजना ल्याएको नगरपालिकाले लगानी सम्मेलनको अन्तिम दिन लगानीकर्तासँग परियोजना स्थापनाको सम्झैता गर्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नगर प्रमुख घिमिरेले भने, ‘धेरै लगानीकर्ताहरु इच्छुक देखिनुभएको छ, हामीले सम्मेलन सकिँदाको दिन कम्तिमा १० परियोजना स्थापनाको सम्झौता गर्छौं ।’उनका अनुसार तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ढाक्रेबास एकीकृत पर्यटकीय स्थल, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्तावमा सम्झौता हुनेछ । करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले यही असोज ९ गते लगानी सम्मेलन गर्दै छ । बाँकी परियोजनामा पनि ६ महिनाभित्र सम्झौता हुने जनाइएको छ । स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी हुने सम्मेलनमा सात प्रदेशका मुख्यमन्त्रीसहित अर्थमन्त्री, यस क्षेत्रका सांसद, लगानीबोर्डका पदाधिकारी र राष्ट्र बैंकका गभर्नर सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहभागी हँदैछन् ।
‘तिलोत्तमा लगानीका लागि उत्तम ठाउँ हो, हामीले लगानीकर्तालाई कानूनीरुपमा मिल्ने सबै किसिमका सुविधा दिन्छौं’, नगर प्रमुख घिमिरेले भने, ‘उच्च पदस्थ अधिकारीहरुले सम्बोधन गरेपछि लगानीकर्ता थप आकर्षित हुने हाम्रो अपेक्षा छ ।’
प्रस्ताब गरिएका २२ परियोजनाका लागि नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने छ । यसका लागि प्रतिकठ्ठा पाँच हजार भाडा तोकिएको छ । ‘जमिन किनेर लगानी गर्न उद्योगी–व्यवसायीलाई गाह्रो छ । अहिले एक कठ्ठा जमिनलाई मात्रै ५० लाख बढी पर्छ । त्यसैले हामीले नगरभित्र रहेका सरकारी जमिनको मापदण्ड बनाएर लिजमा दिन लागेका हौं’, उनले भने ।
नगरपालिकाले लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाहरुलाई रोजगारीका आधारमा व्यावसायिक करमा विभिन्न छुट दिने निर्णय समेत गरिसकेको छ । नगरकार्यपालिका बैठकले कर छुट, जग्गा प्राप्तिलगायतमा लगानीकर्तालाई छुटैछुट दिने निर्णय गरेको नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । ‘जमिन प्राप्ती, कर छुट, आवश्यक प्रक्रिया पूरा गर्न आइपर्ने सबै किसिमका बाधा–व्यवधान हामीले हल गरेर अघि बढ्छौं’, उनले भने । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने प्रवक्ता श्रीले जनाए । पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने नगरपालिकाको बैठकले निर्णय गरेको छ । ‘हामीले दीर्घकालीन सोंच बनाएर लगानीकर्तालाई प्रोत्साहन गर्न कर छुटका योजना ल्याएका हौं । यसले लगानीको वातावरण निर्माणमा सहयोग पुग्छ’, घिमिरेले भने ।
नगरपालिकाले पाँच सयबढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ । कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति बनाएको छ । ‘फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्शा पास दस्तुरमा ६० प्रतिशत छुट दिइनेछ’, घिमिरेले भने, ‘पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटललगायत परियोजनालाई स्थापनाको ५ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्शा पास दस्तुरमा ५० प्रतिशत छुट दिन्छौं ।’
भवन, टहरा तथा संरचना निर्माणका लागि नगरपालिकाबाट नक्शा पास गर्दा ५० देखि तीनसय जनासम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्शा पास दस्तुरमा छुट दिनइने छ । न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शतप्रतिशत छुट दिइनेछ । ‘हामीले सबै परियोजना निर्माण हुने स्थलसम्म सडक पूर्वाधार पुर्याइदिने छौं । विद्युतीकरणको व्यवस्था पनि गर्छौ’, घिमिरले भने, ‘यसका लागि सम्बन्धित निकायसँग समन्वय गरिसकेका छौं । सबै ठाउँबाट सहयोगको आश्वासन पाएका छौं ।’ नगरपालिकाले यहाँ लगानी गर्ने उद्योगहरुको दर्ता प्रक्रियामा सहयोग पुर्याउन जनप्रतिनिधि र कर्मचारी खटाउने छ ।
‘हाम्रा जनप्रतिनिधि र कर्मचारीले लगानीकर्तालाई आइपर्ने समस्या समाधान गर्न सहजीकरण गर्नुहुने छ । काठमाडौंलगायत सबै ठाउँमा लगानीकर्तासँगै सहभागी भएर समस्याको निक्र्यौल गरी सहयोग गर्नुहुनेछ’, उनले भने । यस्तै, नगरपालिकाले साना तथा घरेलु उद्योगहरुलाई केन्द्रित गरेर नगरपालिकाको वडा नं.–१० मा तिलोत्तमा उद्योगग्राम समेत स्थापना गर्ने भएको छ । ‘उद्योगग्राम स्थापनाका लागि हामीले प्रस्ताव मन्त्री परिषद्मा पठाइसकेका छौं । सम्भवतः अब छिट्टै निर्णय भएर आउँछ’, नगर प्रमुख घिमिरले भने । उक्त उद्योग ग्राममा साना पूँजीका विभिन्न किसिमका उद्योगहरु एकीककृत गरि स्थापना हुनेछन् । लगानी सम्मेलनमा चीन, भारत, बंगलादेशलगायत स्वदेशी उद्योगी–व्यवसायी सहभागी हुनेछन् ।