बसन्त लिम्बूताप्लेजुङ । घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी नागरिकसहित २४ जना एकैचोटी दुर्घटना परी मृत्युभएको १३ वर्ष पूरा भएको छ । २०६३ असोज ७ गते श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मिना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको मृत्यु भएको थियो ।
विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्ला हुस्सुका कारण घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो ।
घटना लगत्तै सरकारले पुनरावेदन अदालत पाटनका तत्कालीन मुख्य न्यायधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा कार्यदल बनाएको थियो । घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक अवस्थाकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याए पनि स्थानीय बासिन्दा र सरकोरवाला अन्य पक्ष भने गहिरो अध्ययन नभएको बताउँदै आएका छन् ।
राष्ट्रिय संरक्षण दिवस मनाइँदै हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको योग्दानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाइँदै छ । वि.सं. २०६३ असोज ७ गते भएको घुन्सा दुर्घटनामा मृत्यु भएकाहरूको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृति पार्कमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।