भगीरथ भण्डारीइलाम । इलाम नगरपालिका नौमा रहेको बाल अनाथलय गृहकाे भवन निर्माण फेसबुक अभियानबाट भएको छ । फेसबुक अभियानमार्फत संकलित रकमले दुईतले पक्की घर निर्माण गरिएको हो । अभियान शुरु गरेकाे सात महिनापछि निर्माण सम्पन्न भएको छ ।
४१ लाख रुपैयाँको लागतमा निर्मित घर अनाथालयलाई हस्तान्तरण गरिएको हो । आठ कोठा रहेको दुईतले भवनमा २० जना बालबालिकालाई आवश्यक लत्ता कपडासहित बस्न मिल्ने बेड, पढ्नको लागि अलग्गै कोठा, अफिस रुम, मिटिङ्ग हल र सञ्चालकका लागिसमेत बस्ने कोठासमेत बनाइएकाे छ ।
मनोरञ्जनको लागि टीभी जडान गरिएको छ भने, सुरक्षाका लागि सीसीटीभीसमेत जडान गरिएको छ । घर निर्माणमा ४१ लाख मध्ये ३२ लाख रुपैयाँ संकलन भएर खर्च गरिसकेको छ । अभियानमार्फत सहयोगको प्रतिवद्धता गरेकाहरुबाट ६ लाख रुपैयाँ संकलन हुँन बाँकी रहेको अभियानका संयोजक चन्द्र राई बताउँनुहुन्छ ।
अनाथालयको घर बनाउन इलामस्थित पशुपति प्रसाद गणका दुईसय १७ जनाले श्रम गरेका थिए भने अन्यले स्थानीयले आवश्यकता अनुसार सामाग्री दिएका थिए ।
अभियान मार्फत घर निर्माण भएपछि बालबालिकालाई बस्न सहज हुने अनाथालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानको भनाइ छ ।
स्थानीय राजेन्द्र चौहानले आफ्नै आठ रोपनी जग्गा अनाथालयको नाममा नामसारी गरेर अनाथालय शुरु गर्नुभएको हो । आमाबाबु बिहीन अलपत्र भेटिएका बालबालिका लागि २०६८ सालदेखि अनाथालयको शुरु गरिएको हो । अनाथालयमा अहिले १५ बालबालिका छन् । अनाथालयमा रहेका बालबालिका सुनाखरी बोर्डिङ्ग, सुनाखरी आधारभूत विद्यालय र भगवती माविमा निशुल्क अध्यनरत छन् ।