काठमाडौं । लायन्स क्लब लर्ड बुद्ध काठमाडौं, नेपाल रेडक्रस सोसाइटी र जनता टेलिभिजनको सहकार्यमा वृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । विश्व मुटु दिवसको अवसर पारेर असोज ११ र १२ गते अर्घाखाँचीको बलेवाङस्थित कुमालको बाहुल्यता रहेको बलेवाङ आधार भूत विद्यालयमा दुई दिने स्वास्थ्य शिविर गर्न लागिएको हो ।
स्वास्थ्य शिविरमा मुटु सम्बन्धी रोगको साथै इको, इ सी जी, अर्थो, जनरल फिजिसियन, इन्डोस्कोपीसहित पाठेघर र अन्य विभिन्न रोगको निःशुल्क उपचार गरिने आयोजकले जनाएका छन् । स्वास्थ्य शिविर बिहान ७ देखि बेलुका ७ बजेसम्म संचालन हुने आयोजकले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरमा सम्बन्धित रोग बिशेषज्ञ ३२ जना चिकित्सक, नर्स र प्राविधिकसहितको स्वास्थ्यकर्मी टोलीले बिरामीको उपचार गर्ने लायन्स क्लब लर्ड बुद्धका पूर्व अध्यक्ष एवं लायन्स क्लव इन्टरनेशनल डिष्टिक ३२५ वि वान नेपाल जोन चियर पर्सन एवं शिविर संयोजक लायन विष्णु भण्डारीले जानकारी गराउनुभयो ।
शिविरमा १५ सय देखि २ हजार जनाले सेवा लिन सक्ने र तीन महिनालाई पुग्ने औषधि समेत निः शुल्क रुपमा वितरण हुनेछ । आयोजकले शिविर सहभागी हुन जिल्लाका विभिन्न ठाउँका बिरामीलाई आव्हान गरेका छन् । स्वास्थ्य शिविर कृषिमन्त्री चक्रपाणी खनाल र पूर्व मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुहुने आयोजकले जनाएका छन् ।
जनता टेलिभिजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यसअघि गुल्मीको तम्घास, दोलखा र उदयपुर लगायत विभिन्न जिल्लामा शिविर भइसकेको छ ।