हिमलाल पराजुली
स्याङ्जा । एक महिलाले दुई ओटा नेपाली नागरिकताको प्रमाण पत्र लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले दुई ओटा नागरिकता फरक–फरक समयमा र बाबुको नाम समेत छुट्टा छुटै भएको नागरिकता लिएको भेटिएको हो । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नम्बर ३ हालको चापाकोट नगरपालिका–१० बाट लिएको भेटिएको हो ।
हेमाले कुवाकोट गाविसको ठेगाना राखेर मिति २०६० साल ८ महिना ८ गते १३४९९ नम्बरको नागरिकताको प्रमाण पत्र लिएकी छन् । उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना उल्लेख छ ।
हेमा रानाले फेरि अर्को नागरिकता २०६५ साल ८ महिना ५ गते ४२२०२८ नम्बरको नागरिकता लिएकी छन् । पछिल्लो पटक लिएको नागरिकतामा जन्म मिति २०४५ साल १ महिना १७ गते र ठेगाना तीनदोबाटे गाविस वडा नम्बर ९ रहेको छ । हाल गल्याङ नगरपालिका ८ मा पर्छ । यसमा बाबुको नाम नरेश्रवर गाहा मगर रहेको छ ।
पहिलो कुवाकोट ठेगाना राखेर लिएको नागरिकतामा शाखा अधिकृत धीरेन्द्र बानियाले प्रमाणित गरेका छन् भने, अर्को पटक लिएको नागरिकतामा थमन सिंह थापाले प्रमाणित गरेको भेटिएको छ । पहिलो नागरिकताबाट रानाले २०२६२७० नम्बरको राहादानी समेत बनाएको बुझिएको छ ।
सम्पतीका विषयमा पटक–पटक धम्की दिएको भन्दै इन्द्रकुमारी गाहाले हेमा राना र बुद्धिमाया गाहा(रेनुका थापा) लाई कारबाहीका लागि इलाका प्रशासनमा मंगलबार निवेदन दिएकी थिइन् । निवदेन दिएपछि हेमा रानाले २ नागरिकता लिएकाे खुलेकाे हाे ।
इन्द्रकुमारी गाहाले आफ्नो ससुराले ३ ओटा विवाह गरेको र कान्छी सौतेनी सासुले अर्कै श्रीमानसँग जन्माएको छोरीलाई आफ्नो नाममा रहेको सम्पती दिने योजना अनुसार ससुरालाई बाबु कायम गरेर नागरिकता बनाएको बताएकी छन् ।
बुद्धिमायाले विभिन्न बैंक एवं वित्तिय संघ संस्थामा ऋण लिने र वित्तिय संस्थाका कर्मचारी पैसा लिनको लागि घरमै पुगेपछि बुद्धिमायासँग बुहारी इन्कुमारी ससंकित भएकी थिइन् । सोही विषयमा परिवारमा विवाद हुँदा बुद्धिमायाको नाममा रहेको घर जग्गा ‘झड्केलो’ छोरी हेमा रानालाई दिन नागरिकता बनाइदिएको बुहारी इन्द्रकुमारीको भनाइ छ ।
अर्कै श्रीमान पट्टीबाट जन्मिएकी छोरीलाई दिनको लागि बुद्धिमायाले मृत्युभएका श्रीमानलाई प्रयोग गरेर नागरिकता लिन सहयोग गरेको इन्द्रमायाको आरोप रहेको छ ।
बुद्धिमायाले श्रीमान नरेश्वर गाहा मगरको २०६१ साल १० महिना १५ गते मृत्यु भएपछि २०६५ साल ८ महिना ५गते हेमा रानाको नागरिकता बनाइदिएको खुलेको छ ।
इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले दुई ओटा नागरिकता लिएको भनेर निबेदन आएकाले कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।