काठमाडौं । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेकपाका नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले भण्डारीको उपन्यास संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
विमोचन समारोहमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका राम कार्कीले भण्डारीको उपन्यासमा जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडाहरु उतारिएको बताउनुभयो । उहाँले उपन्यासको सबैभन्दा बलियो पक्ष भाषाशैली भएको बताउनु हुुँदै पुस्तकमाा प्रौढ र खारिएको भाषा समावेश भएको औंल्याउनुभयो । घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएकाले उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको उहाँको भनाइ थियो ।
विमोचन कार्यक्रममा बोल्दै लेखक डा. अर्चना थापाले वर्तमान समयमा ओझेलमा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले समेटिएको बताउनुभयो । समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको उल्लेख गर्नुहुँदै थापाले उपन्यासले बहुल नायक प्रस्तुत गर्नु, कथाको प्रस्तुतिकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको बताउनुभयो ।
लेखक डा.थापाले भन्नुभयो, ‘उपन्यासमा पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैलीलाई भंग गरेर नयाँ शैली निर्माणमा जोड दिएका छन् । परम्परागत रूपमा त्याग र समर्पणको यात्रामा पुरुष पात्र नै देखिने गरेको तर लेखक महिलालाई त्यसमा अघि सारेर सामाजिक न्याय र समानताको पक्षमा उभिएका छन् ।’ थापाले भण्डारीको उपन्यास लेखन शैली र कथ्य दुवै हिसाबले बलियो रहेकोसमेत बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै जनयुद्धका क्रममा बेपत्ता पारिएको विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए । उनले भने, ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।’
उनले लेखकले परिकल्पना गरेजस्तो बेपत्ता परिवारको पीडालाई बुझेर आत्मआलोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकोले उपन्यास अध्ययनले त्यसतर्फ झकझक्याउनेमा विश्वास सुनाए । उनको अभिव्यक्तिले हल स्तब्ध भएको थियो भने बेपत्ता परिवारजन लगायतका आँखा रसाएका थिए ।
फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास ३ सय पृष्ठको छ भने मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।