सुनिल कार्की
पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले एकिकृत घुम्ती शिविरमार्फत जनताको घरदैलोमा पुगेर सेवा दिन शुरु गरेको छ ।
निर्वाचनको समयमा मात्रै मत माग्न नेताहरु गाउँ पुग्छन भन्ने भ्रमलाई चिर्न तिनाउ सरकार गाउँका बस्ती बस्तीमा पुगेर सेवा शुरु गरेको हो ।जनताका आधारभूत आवश्यकता मध्येको ६ प्रकारका सेवा सुविधा लिएर तिनाउ गाउँपालिक अध्यक्ष ओमबहादुर घर्ती मगर अहिले गाउँपालिकाको प्रत्येक वडाका घर घरमा पुगेर स्वास्थ्य सेवादेखि विउँबीजनसम्मका सेवा निःशुल्क प्रदान गर्दै आउनुभएको छ ।
तिनाउ गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको संयुक्त टोलीले निःशुल्क स्वास्थ्य परिक्षण, आँखा परिक्षण, अपाङ्गगता परिचय पत्र, जेष्ठ नागरिक परिचय पत्र, पशुविकासका लागि जुका, माटे, भिटामिन लगायतका औषधि वितरणका साथै विभिन्न प्रकारका विउँबीजन निःशुल्क वितरण कार्यक्रमलाई गाउँपालिकाले तिव्रता दिएको छ ।
जनप्रतिनिधि गाउँका टोल–टोलमा पुगेर सबै प्रकारका सेवा पहिलोपटक उपलब्ध गराउँदा स्थानीय सरकारको अनुभुती भएको तिनाउ गाउँपालिका –१ कचल ठुलीउदाङ्गकी उमेरले ७० वर्ष नाघेकी कृष्णा घर्ती मगरले खुसी व्यक्त गर्नुभयो ।
यस्तै, तिनाउ गाउँपालिका–१ कचलकै उमेरले पाका वर्ष ९५ का हरीबहादुर मगरले पनि जेष्ठ नागरिक परिचय पत्र बनाउन २ घण्टाको जिपको यात्रामा गाउँपालिकासम्म झर्नुपर्ने बध्यतालाई हटाएर घरदैलामै आएर परिचय पत्र बनाइदिएको धन्यवाद दिनुभयोे ।
यसै, गरि शारिरीक अपाङ्गगताका कारणले परिचय पत्र बनाउन नपाउँदा सेवा सुविधा लिनबाट बञ्चित हुनुभएका वडा नं २ झ्याङ्गलाका विष्णुकुमार दर्जीले पनि घुम्ती शिविरमार्फत नै अपाङ्गगता परिचय पत्र लिन पाएको प्रति खुसी व्यक्त गर्नुभयो ।
तिनाउ सरकारले सञ्चालन गरेको एकिकृत घुम्ती शिविरबाट तिनाउ गाउँपालिका वडा नं १ को ठुलीउदाङ्ग, झिङ्गगामारा र कचलमा गरि अपाङ्गगता परिचय पत्र ३५जना, निःशुल्क स्वास्थ्य परिक्षण ५२१, आँखाको निःशुल्क परिक्षण ४७५, कृषिजन्य विउँबीजन ४५०, पशुका लागि विभिन्न प्रकारका औषधि २३१ र जेष्ठ नागरिक परिचय पत्र ११७ जनाले प्राप्त गरेका छन ।
यस्तै, गरि तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङ्गला स्मार्ट कृषि गाउँमा सञ्चालित शिविरमा निःशुल्क आँखाको स्वास्थ्य परिक्षण ३४० जना, कृषिजन्य विउँबिजको सेवा १७५, निःशुल्क स्वास्थ्य परीक्षण १४७, पशुजन्य जुका भिटामिन र माटेको औषधि ८५, जेष्ठ नागरिक परिचय पत्र ४८ र अपाङ्गगता परिचयपत्र ६ जनाले प्राप्त गरेको तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
जनताको समृद्धि र समुन्नतीको लागि स्थानिय सरकार तिनाउ गाउँपालिकाले वार्षिक कार्यक्रमकै रुपमा एकिकृत घुम्ती शिविर सञ्चालनगरेको गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनुभयो । गाउँपालिकाका ६ वटा वडा मध्ये हालसम्म वडा नं ६,५,३,२, र १ मा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । जस अन्र्तगत १० हजार बढी जनताले प्रत्यक्ष सेवा लिइसकेका छन् ।
गाउँपालिकाका जनतलाई आर्थिक समृद्धिमा उन्मुख गराउने जनप्रतिनिधिको सपनालाई सफल बनाई गाउँपालिकाका निति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न गाउँपालिकाको कर्मचारीतन्त्र प्रयत्नशील रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो ।
जनताको सेवा र आवश्यकतालाई स्थानिय सरकारको मर्म अनुरुप पहिलो प्रथामिकतामा राखेर दुर्गम होस् या सुगम जुनसुकै ठाउँमा घुम्ती शिविरमार्फत निरन्तर सेवा प्रदान गरि स्थानिय सरकार छ भन्ने अनुभुति जनतामा गराउन गाउँपालिका प्रयत्नशील रहेको प्रमुख प्रशासकिय अधिकृत पनेरुको भनाइ छ ।