काठमाडौं । नेपालीको महान चाड वडा दशैं नजिकिएपछि दशैं मनाउन सबै क्षेत्रमा व्यवस्थापन गर्न थालिएको छ । काठमाडौं उपत्यकाबाट बाहिर घर भएका विद्यार्थी, कर्मचारी, व्यापारी , मजदुर र अन्य पेशामा आवद्धहरु घर जाने तयारीमा लागेका छन् ।
बडा दशैंको महासप्तमीदेखि सार्वजनिक बिदा शुरु भएपछि उपत्यकाबाट बाहिरिनेको लर्को हुन्छ । घर जानका लागि सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ गर्न बसपार्क तथा बिसौनीहरुमा घुइँचो लाग्न थालेको छ । गोंगबु बस पार्क व्यवस्थापन लोत्से बहुउद्देशीय सहकारी संस्थाले असोज ५ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट अग्रिम बुकिङ खुला हुनासाथ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ ।
नेपाल यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य दशैं टिकट बुकिङ पारदर्शी र निष्पक्ष हुने बताउनुहुन्छ । ‘टिकट बुकिङ अत्यन्त पारदर्शी छ’ उहाँ भन्नुहुन्छ, ‘जो पहिले आउँछन् उसैलाई टिकट दिइनेछ । तोकिएको भन्दा बढी पैसा लिन नपाउने गरिएको छ । सोर्सफोर्सका आधारमा टिकट नदिने व्यवस्था मिलाइएको छ ।’ दशैंको यात्रालाई सुरक्षित बनाउन गोंगबु बसपार्कभित्र सवारी साधनको यान्त्रिक परीक्षण शुरु गरिएको छ । त्यसैगरी सुरक्षित यात्रा सम्बन्धि जनचेतामूलक अडियो सन्देश पनि जारी गरियो ।
काठमाडौं जिल्ला प्रशासनले अग्रिम टिकट बुकिङमा धाधली, कालोबजारी वा ठगी गरे तुरुन्त कारवाही गरिने जनाएको छ । स्वयम् प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तोकिएको बढी भाडा लिनेलाई कारबाही हुने बताउनुहुन्छ । ‘तोकिएको दर रेटभन्दा बढी भाडा लिएको वा टिकटको कालोबजारी गरिएको उजुरी परे तत्कालै कारबाही हुन्छ’ उहाँको चेतावनी छ । तर प्रमुख जिल्ला अधिकारकिो चेतावनी पनि काम लागेन । असोज ५ गते अग्रिम टिकट बुकिङ खुला गरिएको गोंगबु बसपार्कमा असोज ६ गते आइतबार टिकट लिन जानेहरुलाई टिकट बुकिङ हाउसफुल भनेर फर्काइएको छ ।
दशैंको यात्रु बसको टिकट नपाएर गोंगबु बसपार्कबाट निरास भएर फर्किएका छन् । ५ गते शनिबार खुलेको टिकट ६ गते आइतबार दिउँसोसम्ममा कसरी हाउसफुल हुनसक्छ ? १२ घण्टामा सम्पूर्ण अग्रिम टिकट बुकिङ हुनु सम्भव छैन । गोंगबु बसपार्कमा टिकट बुकिङमा गोलमाल शुरु भएको टिकट लिनजानेहरुको गुनासो छ ।
सरकारद्वारा टिकट बुकिङमा कालोबजारी र धाँधली हुन नपाओस् भनेर प्रहरी परिचालन गरिएको छ । तर गोंगबु बसपार्कभित्र धाँधली र कालोबजारी रोकिएको छैन । टिकट बुकिङ खुला गरिएको १२ घण्टा नबित्दै टिकट बिक्री भइसक्यो भन्नु धाँधली र ठगीको संकेत हो भन्छन् । नियमानुसार भाडा दर अनिवार्य रुपमा टाँस गर्नु पर्ने हो तर गोंगबु बसपार्कमा अझै भाडा दर उल्लिखित सूचना टाँस गरिएको छैन ।
https://youtu.be/2G9XvO3fLL8