सुखिलाल चौधरीउदयपुर । जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका प्रतिवादी पक्राउ पर्न थालेका छन् । जिल्लाा प्रहरी कार्यालय उदयपुरका एसपी फेरिएसँगै विभिन्न अपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४८ जना फरार प्रतिवादी पक्राउ परेको एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
उदयपुर जिल्ला अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेका ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा बढी वन मुद्दामा फरार प्रतिवादी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार वन मुद्दामा फरार सूचीमा रहेका १५ जना प्रतिवादी पक्राउ परेको छन् । लागूऔषधमा फरार ६ जना, जबरजस्ती करणीमा फरार ४ जना, जुवा तासमा ६ जना, जालसाजीमा २ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जबरजस्ती करणी उद्योग, सवारी साधन, बहुविवाह, कुटपिट, केही सार्वजनिक अपराध मुद्दामा फरार १/१ जना र ज्यान सम्बन्धी मुद्दाका ३ जना पक्राउ परेका छन् ।
एकै दिन १३ प्रतिवादी पक्राउ
विहीबार उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकै दिन पक्राउ गर्न सफल भएको छ । लागूऔषध, वन, जालसाजी, सार्वजनिक अपराध, जुवातास र कुटपिटलगायत अभियोगमा अदालतबाट वर्षाैँअघि दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका १३ जनालाई पक्राउ गरी अदालतको जिम्मा लगाएको उदयपुर प्रहरीले जनाएको छ ।
बुधबार रातिदेखि बिहीबार साँझसम्म पक्राउ पर्नेमा सबभन्दा बढी जुवातास खेलेको अभियोगमा जरिवाना तोकिएका ६ जना रहेका छन् । जालसाजीका दोषी २ जना, ज्यान बेच्ने १ तथा कुटपिट र वन मुद्दाका १÷१ जना रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।