लामो समय परदेशमा जिवन बिताएका सुन्दरसँग यतिबेला बाल्यकालमा छोरालाई दशैंमा टिका लगाईदिएका धमिला याद मात्रै ताजा जिवित छन् । घर बनाउने र सबै परिवार एक भएर दशैंटिका लगाउने कुमाल परिवारको सपना काँचको सिसाझैं चकनाचुर बनेको छ । मृत्यु भएको सुन्दा भन्दा बढी शव आउने दिनको प्रतिक्षाको घडी झन कठिन भएको छ, कुमाल परिवारमा ।
धनु भुसालनवलपुर । नेपालीहरुको महान चाड बडादशैं शुरु भएसँगै गाउँघरमा निकै चहलपहल बढेको छ । अध्ययन, व्यवसाय तथा रोजगार विशेषले घरपरिवारदेखि बाहिर रहेकाहरु दशैं मनाउन घर फर्किने क्रम बढेको छ । जताततै दशैंको माहोल तातेको छ । धेरै परिवार शहर तथा लाहुरबाट फर्किंदै गरेका आफ्ना आफन्तको बाटो कुरेर बसिरहेका छन् । दशैं तथा तिहारका लागि गाउँमा पिङ बनाउनेको व्यस्तता उस्तै छ ।
तर नवलपुरको एक परिवार भने वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका आफ्ना आफन्तको लाश कुरेर बसिरहेको छ ।मध्यविन्दु नगरपालिका -११ को सुन्दर कुमालको परिवार यतिबेला गत असोज ५ गते बिरामी भएर साउदीमा मृत्यु भएका उनका जेठा छोरा २४ वर्षीय सुरेन्द्र कुमालको शवको प्रतिक्षामा रहेको हाे । मनग्य पैसा कमाएर सपनाको घर निर्माण गर्ने र परिवारलाई सुख तथा सयल दिन विदेशिएका सुरेन्द्रको जीवन सधैंको लागि अस्ताएकाे छ ।
गाउँमा सबैको घरमा दशैंको चहलपहल शुरु भएको छ भने उता सुन्दरको परिवार शोकमा डुबेकाे छ । आशा र भरोसाको केन्द्र परिवारको जेठो सन्तान एवं बुढेसकालको सहारा नै संसारबाट बिदा भएको खबरले आमाबाबुलाई निकै पीडा दिएको छ ।
असोज ४ गते शनिबार बिहान करिब साढे १० बजेतिर छोरासँग फोनमा कुरा गरेको सम्झदैँ आमा उमा कुमाल भन्छिन्, ‘त्यही बोली नै अन्तिम भयो । बाबु तिमीलाई सन्चो नभएको भए घर आउ। तिमी आउँछु मात्रै भन मैले पैसा खोजेर कहाँ कति बुझाउनुपर्छ सबै गर्छु, भनेकी थिएँ, मलाई सन्चो भएको छ नआत्तिनु भन्दै थियो ।’ डाँको छोड्दै उमाले भनिन्, सबैका घर पक्की छन्, म अब 'विदेश गएर पैसा कमाउँछु र घर बनाउँछु', भनेर विदेशिएको छाेराे तर कहिल्यै नफर्किने गरी बिदा भयो ।’
मृत्युको खबर भारतमा सुनेर घर फर्किए बुबा पेन्टिङ गर्ने कामका शिलशिलामा दुई वर्षअघि साउदी पुगेका सुरेन्द्रले त्यहाँ ड्राईभरको काम गर्दै आएको परिवार बताउँछ । तीन छोरा र एक छोरीलाई दु:ख सुख गरी हुर्काएका आमाबाबुले छोराछोरीको कमाई खाने बेलामा यस्तो खबर सुन्नुपर्दाको पीडा सायदै कल्पना गर्न सकिएला । सन्तानको पालनपोषणका लागि नै ११ वर्ष साउदी बसेर आएका बाबुले आफू आएको दुई वर्षपछि सुरेन्द्रलाई साउदी नै पठाएका थिए । सुरेन्द्रलाई साउदी पठाएपछि भने आफू पनि घरमा खाली समय बिताउनुभन्दा दुईचार पैसा आम्दानी हुन्छ भन्दै भदौको १९ गते भारत गएका थिए ।
भारत जानुअघि छोरालाई म अब इन्डिया जान्छु, घरमा फोन गर्दै गर्नु र आफ्नो स्वास्थ्यको ख्याल गर्नु भनेर सम्झाएका बुबाको भनाइ नै छोरासँगको अन्तिम वाक्य हुन पुग्यो । सुरेन्द्रका बुबा भन्छन, “बोल्दा बोल्दै मोबाईलमा पैसा सकिएर काटिएको थियो, आज यस्तो दिन आउँछ भन्ने थाहा भएको भए फेरि धेरै कुरा गर्थें नि ? उनले भने, छोरासँग धित् मरुन्जेल कुरा मात्रै पनि गर्न पाइँन ।”
लामो समय विदेशमा जीवन बिताएका सुन्दरसँग यतिबेला बाल्यकालमा छोरालाई दशैंमा टिका लगाईदिएका धमिला याद मात्रै ताजा छन् । घर बनाउने र सबै परिवार एक भएर दशैंटिका लगाउने कुमाल परिवारको सपना सिसा झैं चकनाचुर बनेको छ । मृत्यु भएको सुन्दा भन्दा शव आउने दिनको प्रतिक्षाको घडी झन् कठिन भएको छ, कुमाल परिवारमा ।
श्रीमती भन्छिन् - ‘श्रीमान् फर्केपछि विवाहको टिका फुकाउने सपना अधुरै रह्यो’ सुरेन्द्र श्रीमती दिपासँंग २ वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए । विवाह गरेको करिब ६ महिनामा सुरेन्द्र विदेशिएका हुन्। दशैंमा पैसा पठाइदिन्छु, भनेका श्रीमानको मृत्युको खबरले यतिबेला दिपा अर्धचेत अवस्थामा छिन् । २० वर्षकै उमेरमा श्रीमान् गुमाउनुको पीडा त छँदै छ एक हप्ता हुँदा पनि शव नआउँदा झनै विक्षिप्त छिन्, दिपा ।
विदेशबाट फर्किएपछि परम्परा अनुसार विवाहको टिका फुकाउने सपना बुन्दै वर्षाैं बिताएकी दिपाले श्रीमानको लाश कुर्दै बस्नुपरेको अवस्था हृदयविदारक बनेको छ ।
नवलपुरमा मात्रै ३ महिनामा ४ जनाको विदेशमा ज्यान गयोसुरेन्द्र कुमाल एक प्रतिनिधि पात्र हुन् । नवलपरासीमा वैदेशिक रोजगारीमा गएका धेरै युवाले सुरेन्द्र झैं ज्यान गुमाएका घटना कम छैनन् । सुरक्षित आप्रवासन स्रोत केन्द्र कावासोतीका अनुसार वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये नवलपरासी देशकै छैठौं हो भने वैदेशिक रोजगारीबाट धेरै शव नेपाल आउनमध्येको देशकै चौथो ।
नवलपुरमा आर्थिक वर्ष २०७६/०७७ को तीन महिना अवधिमा वैदेशिक रोजगारीमा गएका ४ जनाको ज्यान गएको केन्द्रकी परामर्शदाता रञ्जना लम्साल बताउँछिन् । त्यस्तै, नवलपुरमा गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा गएका मध्ये १८ जनाको मृत्यु भएको आँकडा छ । परियोजना संचालन भएको ५ वर्षको अवधिमा जिल्लामा करिब १५ सय वैदेशिक रोजगारीले सिर्जना गरेका समस्या दर्ता भएका देखिन्छन् । जस अन्तर्गत ठगी, पैसा वा राहदानी लिएर पनि विदेश नपठाएको, अगंभगं, बिरामी लगायत समस्या रहेको परामर्शदाता लम्सालको भनाई छ ।
सुरेन्द्र कुमालको शव नेपाल ल्याउनको लागि दुतावाससँग समन्वय भइरहेको र शव नेपाल पठाउन कम्पनीले डकुमेन्ट तयार गरिरहेको जानकारी दूतावासले दिएको लम्सालले बताएकी छन् ।