शम्भु दाहालझापा । झापाको अर्जुनधाराबाट ठूलो परिणाममा बिस्फोटक पदार्थ बरामद गरिएको छ । अर्जुनधारा १ सिस्नेबाट गोठमा गाडेर राखेको अवस्थामा प्रहरीले बिस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरीले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर त्यसारे जानकारी दिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाएर राखेको बिस्फोटक पर्दाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति बरामद गरेको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार बमका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सक्लाेसिभ) लगायतका वस्तु बरामद भएको छ । बिस्फोटक पदार्थ सार्वजनिक गर्दै झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, ‘बरामद गरिएको बिस्फोटक पदार्थमा बम बनाउन प्रयोग हुन्छ ।’ जिल्लामा श्रंखलावद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि झापा प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको छ । उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।
दुई साताअघि पक्राउ परेका विप्लप समूहका जिल्ला सेक्रेटरी प्रविण मिश्र ‘मनिष’को समूहले उक्त सामग्री चियाको विषादी भन्दै आफन्तको घरमा सुरक्षित राखिदिन त्यहाँ पुर्याएको बुझिएको छ । मिश्र पक्राउ परेको समाचार सुनेपछि आफन्तले झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानालाई शंकास्पद सामग्रीबारे आइतबार दिउँसो जानकारी गराएका थिए ।
चियाको बिषादी भन्दै राखेको सामग्री आफन्तले गाइवस्तुले खान सक्ने भन्दै गोठमा गाडेर राखेका थिए । उनीहरुले विस्फोटक सामग्री पनि हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय अनारमनीको टोली त्यहाँ पुगेको डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीसहित सिस्नेमा चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोली समेत पुगेको थियो । टोलीले जमिनमुनि गाडेको वस्तु बाहिर निकाल्दा २५ किलो निओजेल ९० कडा क्षमताको नामक बिष्फोटक पदार्थ भेट्टाएको थियो ।
विप्लप समूहका सेक्रेटरी मिश्रको समूहले २ बोरा यसै प्रकारका सामग्री त्यो घरमा पुर्याएको बताइएको छ । एक बोरा त्यहीं राखेर १ बोरासँगै लिएर गएको घरधनीले सुरक्षा अधिकारीलाई जानकारी दिएका छन् । प्रहरीका अनुसार सँगै लिएर गएको एक बोरा बिस्फोटक पदार्थले झापाको विभिन्न स्थानमा बिस्फोट गराएका थिए । उनीहरुले दशैंको पूर्वसन्ध्यामा बिस्फोट गराउन एक बोरा सामग्री त्यहाँ सुरक्षित राखेको हुन सक्ने प्रहरीको भनाई छ । विप्लव समूहका मुख्य नाइके पक्राउ परेपछि बाँकी योजना विफल भएको झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिएका छन् ।