काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाउनु भएको हो ।
ललितपुरको भैंसैपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास तथा सम्पर्क कार्यालयको शिलान्यास गर्दै उहाँले सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएपनि त्यसको चर्चा समेत नगरिएको गुनासो गर्नुभयो । ‘केही पनि भएन भनेर, केही पनि भएको छैन भनेर निरासा फैलाउन खोज्ने, भएका कामको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ उहाँले भन्नुभयो, ‘ननइस्यू’लाई ‘इस्यू बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ ।’
प्रधानमन्त्रीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले मोतीहारी–अमलेखगंज पेट्रोलियम पदार्थको पाप्प लाईन विस्तार गरिएको स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाई भएको उहाँको स्पष्टिकरण छ ।
प्रधानमन्त्रीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने बताउनु भयो । सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खवर गर्न प्रधानमन्त्रीको सार्वजनिक अपिल छ । उहाँले देशलाई छिट्टै भिखमंगामुक्त बनाउने घोषणा गर्नुभयो । प्रधानमन्त्रीले प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग निरन्तर सम्पर्क गर्नुपर्ने भएकाले ललितपुरमा उनीहरुका लागि निवास तथा सम्पर्क कार्यालय स्थापना गर्नु परेको स्पष्ट पार्नु भयो । उहाँले ललितपुरको सैवु आवास क्षेत्रमै संघीय मन्त्रीहरुको निवास बनाउने कार्य शुरु हुने बताउनु भयो ।
सरकारले चालू आर्थिक वर्षभित्रै स्टेट गेष्ट हाउस, सभाहल र संघीय संसदका सांसदहरुको आवास निर्माण कार्य शुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ । यसअघि प्रधानमन्त्री ओलीले ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गर्नुभएको थियो ।