तीर्थ न्यौपानेकाठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ। सभामुख महराले मंगलबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राजीनामा दिनुभएको हो ।
सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार आरोप लागेपछि प्रधानमन्त्रीको निर्देशन र पार्टीको निर्णय अनुसार पदबाट राजीनामा दिनुभएको हो । नेकपाको मंगलबार बसेको सचिवालय बैठक महरालाई सभामुख र सांसद पद छोड्न सुझाव दिएको थियो । महराले प्रकरणबारे स्वतन्त्र छानविनको लागि नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । संसद सचिवालयकी कर्मचारीले आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको आरोप लगाएकी थिइन् । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यही युनिटमा काजमा कार्यरत छिन् ।
सभामुख महरामाथि अप्रत्यासित रुपमा दुर्व्यवहार आरोप लगोपति प्रधानमन्न्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहान त्यसबारे छलफल गर्नुभएको थियो । अध्यक्ष दाहालसँगको छलफलपछि प्रधानमन्त्रीले सभामुखलाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको हो ।
नेकपाले सभामुखकाे यौन दुर्व्यवहार घटनालाई गम्भीर रुपमा लिएको छ । नेकपाले त्यसबारे छलफल गर्न बिहान ११ बजे सचिवालय बैठक ढाकेको थियो । बैठकले महरालाई सभामुखबाट हटाउने निर्णय गरेको छ । महराले सभामुखबाट प्रधानमन्त्रीको निर्देशन र पार्टीको निर्णयपछि सभामुखबाट राजीनामा दिनुभएको हो ।
को हुन् महरा ?महरा तत्कालीन नेकपा (माओवादी) शान्ति प्रकृयामा आएपछि सबै भन्दा बढी सत्तामा बस्ने व्यक्तिमा पर्नुहुन्छ । २०६४ मंसिर ५ गते भएको सरकार र माओवादीबीच भएको शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री बन्नु भएको थियो । महराले त्यसपछि विभिन्न मन्त्रालयको जिम्मेवारी समालिसक्नु भएको छ । उहाँ गृह तथा उपप्रधानमन्त्री समेत भइसक्नु भएको छ ।
महरा राजनीतिमा आउनुअघि शिक्षण पेशामा हुनुहुन्थ्यो । उहाँले रोल्पा सदरमुकामस्थित लिवाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषय पढाउनु भयो । २०३६ सालबाट वाम राजनीतिमा सक्रिय हुनुभएका महरा २०५२ देखि भूमिगत हुनुभयो। उहाँको परिवारै माओवादीमा लागेर भूमिगत भएको थियो ।महरा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा रोल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सदस्य बन्नुभयो । त्यसपछि उहाँ राजनीतिमा कहिल्यै कहिल्यै पछाडि पर्नु भएन । उहाँ २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा दाङ–३ बाट अत्यधिक मतले विजयी हुनुभयो । २०७० सालमा भएको दोस्रो संविधानसभामा उहाँ निर्वाचनमा रोल्पा–२ बाट विजयी हुनुभयो । उहाँ अहिले प्रतिनिधिसभामा दाङ २ बाट प्रतिनिधित्व गर्नुभएको छ ।महरा युद्धकालमा सरकार माओवादी वार्ता संयोजक हुनुहुन्थ्यो । द्वन्द्वकालमा सरकार र माओवादी नेतृत्वबीच ३ पटक औपचारिक वार्ता भएको थियो । उहाँ तीनै पटककाे वार्तामा सहभागी हुनुभएको थियो ।महरा माओवादीको प्रवक्ता समेत भइसक्नु भएको छ । उहाँले संचारमन्त्री हुँदा मोबाइलको रोमिङ सेवा हटाउनुभयो । उहाँ संचारमन्त्री भएकै बेला मोबाइल सेवा ग्रामीण भेगसम्म बिस्तार भएको हो । अहिले सबैको हातहातमा मोबाइल सेवा छ । सञ्चारमन्त्री हुँदा महराले घरघरमा इन्टरनेट’को महत्वाकांक्षी योजना अघि सार्नु भएको थियो । मुलुकमा अहिले अधिकांशको घरमा इन्टरनेट सुविधा छ ।महरा सञ्चारमन्त्री भएकै बेला सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न भयो । श्रमजीवी पत्रकार ऐन जारी भएपछि पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको वातावरण बनेको हो ।
प्रचण्डका दाहिने हातमहरा तत्कालीन माओवादीमा शक्तिशाली नेता मानिनुहुन्थ्यो । पार्टीमा उहाँलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाहिने हात मानिन्छ । त्यही कारण उहाँले धेरै पटक सत्तामा बस्ने अवसर पाउनुभएको हो । महराको सभामुखबाट राजीनामापछि प्रचण्डको दाहिने हात सत्ताबाट बाहिएको छ ।
तनावमा महरायौन दुर्व्यवहार आरोप लागेपछि प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा निकै तनावमा हुनुहुन्छ । महराले सोमबार साँझदेखि फोन उठाउन छोडनु भएको छ।अकस्मात अप्रत्यासित घटना आइलागेपछि महरा सभामुखबाट राजीनामा मनस्थिति बनाउनुभएको थियो । त्यसका लागि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र पार्टीका शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।
महिला प्रकरणमा पद गुमाउने महरा चौंथोओली सरकार बनेपछि यौन तथा महिला प्रकरणमा पद गुमाउने महरा चौंथो व्यक्तिमा पर्नुहुन्छ । यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी र प्रदेश ३ का पूर्वाधार मन्त्री केशव स्थापितले पनि यस्तै प्रकरणमा पद गुमाउनु परेको थियो । कानुन मन्त्री शेरबहादुर तामाङले महिलालाई अपमानित हुने शब्द बोल्दा पद गुमाउनु परेको थियो ।त्यस्तै सुशील कोइराला नेतृत्व सरकारमा तत्कालीन कृषि मन्त्री हरि पराजुलीले पनि महिलालाई दुर्व्यवहार गरेको आरोपमा पदबाट राजीनामा दिनुपरेको थियो ।