काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित पत्रिकाहरूले विभिन्न फरक – फरक विषयमा मुख्य समाचार प्रकाशित गरेका छन् ।
मंगलबार जनता समाचार डटकम मा यी हुन् सभामुखलाई यौन आरोप लगाउने महिला, राजधानी भित्रिँदै गरेको हतियार र गोलीसहित पक्राउ, शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापक पक्राउ, स्वास्थ्य कर्मचारीको सामूहिक राजीनामा, कारागार भवन जीर्ण हुँदा कैदीलाई समस्या, ‘सभामुखमाथि छानविन होस्’, फिफा विश्वकप छनौटको खेलाडी बिदाई र नेप्से फेरि दोहोरो अंकले बढ्यो लगायतका समाचार प्रकाशन गरिए ।
बुधबार प्रकाशित सबै दैनिक पत्रपत्रिकाले सभामुखको राजीनामो विषय र त्यसपछि उत्पन्न विभिन्न घटनाक्रमबारे नै मुख्य समाचार प्रकाशन गरेका छन् । अन्नपूर्ण पोष्ट् दैनिकले सभामुखको ‘उधारो’ राजीनामा शीर्षकमा प्रमुख समाचार बनाएको छ । महिला कर्मचारी माथि यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले पदबाट राजीनामा दिएपनि घटनाले फरक मोड लिँदा उहाँको राजीनामा 'उधारो' हुने देखिएको छ ।
महराले उपसभामुखलाई दिनुभएको राजीनामामा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ मात्रै लेखिएकाले केही कानुनविदले समेत हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् । समाचारमा उल्लेख भए अनुसार सभामुख महराले दिएको राजीनामाको भाषामा आफ्नो राजीनामाको अवधि आफैंले तोकेर राजीनामा दिनुभएको उल्लेख छ ।
कारोबार दैनिकले भने जापानले रोजगारीको कोटा बढाउन लागेको समाचारलाई शीर्ष स्थान दिएको छ । समाचारमा उल्लेख भए अनुसार पहिलो चरणमै जापानले १ हजारभन्दा बढी नेपाली कामदारको माग गरेको छ । यस्तै पत्रिकाले ’३५ अर्ब लागतमा १३ सय पुल निर्माण हुँदै’ देशेभर नयाँ पुल बन्दै गरेको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ ।