काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमण तयारीबारेको समाचारलाई प्राथमिकता दिएका छन् । पत्रपत्रिकामा एकै पटकमा मुलुकाकाे ५९ शहरमा फोरजी सेवा शुरु गरिएको समाचार पनि प्राथमिकताको साथ छापिएको छ ।
पत्रपत्रिकामा मेडिकल कलेजले विद्यार्थीमाथि गरेको ठगीसहित सामाजिक, आर्थिक, शिक्षा र स्वस्थ्य र विभिन्न निकायमा भएका अनियमितता समेत प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– परराष्ट्रमन्त्री प्रदिपकुार ज्ञवालीले नेपाल र चीनबीचको सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणको सोचका साथ अगाडि बढाउने तयारी नेपालले गरेको बताउनुभएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणको तयारीबारे जानकारी दिनुहुँदै उहाँले नेपाल स्थायित्वको बाटोमा अग्रसर रहेका बेला चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेकाले साझेदारीका विविध एजेण्डा रहने उहाँले बताउनु भयो ।
कान्तिपुर दैनिक– सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट(बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हटाउने क्रम रोकिएको छैन ।
गृह मन्त्रालयका अनुसार मुलुकमा ८ हजार ५ सय ५३ सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायव छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा पाइएको छ ।
नयाँ पत्रिका दैनिक– प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषण वापतको नम्बर हटाएको छ ।
बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवा सम्बन्धी प्रावधान संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवामा मूल्यांकनमा २ नम्बर पाउँछन् ।
कारोबार दैनिक– विदेशमा रोजगारका क्रममा मृत्यु भएका श्रमिकको आर्थिक सहायता (क्षतिपूर्ति) लिन महंगो खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट अन्त्य भएको छ ।सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिक हकवालाले कानुन बमोजिम पाउने क्षतिपूर्ति लिन काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गरी स्थानीय बाट नै वितरण गर्ने भएको छ ।