प्रकाश न्यौपानेरुपन्देही । बिसालु च्याउ खाँदा नौजना बिरामी परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिका–६, नगवलियाका एकै परिवारका नौ जना बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर्षीया गीता यादव र ईश्वरवति यादव, ३३ वर्षीया मञ्जु यादव, १८ वर्षीया सीमा यादव, १४ वर्षीया रोमा यादव र १० वर्षीया आशिष यादव छन् । उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेकाे छ ।
साँझ घर नजिकको बाँसघारीमा उम्रिएको च्याउ खाएका उनीहरुलाई राति १० बजेतिर बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि अस्पताल ल्याइएको उनीहरुका आफन्त अयोध्या यादवले जानकारी दिए । ‘बाँसघारीमा उम्रिएको च्याउ केही दिन पहिला खाँदा कुनै समस्या देखिएको थिएन । तर हिजो खाँदा समस्या देखियो । हामीले तुरुन्त अस्पताल ल्याएकाले कुनै अप्रिय घटना हुन पाएन’, उनले भने । भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले राति १२ बजे बिरामीलाई अस्पताल ल्याइएको र अहिले उपचार जारी रहेको बताए ।
‘उहाँहरुमा शुरुमा पेट दुख्ने, बान्ता हुने समस्या थियो । अहिले उपचारपछि उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । आत्तिनु पर्ने अवस्था छैन’, उनले भने । अस्पतालका अनुसार अहिले बिरामी परेका यादव परिवारको अवस्था राम्रो भएकाले दिउँसोसम्म डिसचार्ज गरिने छ ।
मर्चवार क्षेत्रमा पछिल्लो समय बिषालु च्याउ खाँदा बिरामी पर्ने क्रम बढ्दो छ । केही महिना पहिला पनि बिषालु च्याउ खाँदा कोटहीमाई गाउँपालिकाका–१६ जना बिरामी परेका थिए । बिषालु च्याउ र खाने च्याउको राम्रोसँग पहिचान नगरी जथाभावी च्याउ खाँदा यस क्षेत्रमा बिरामी पर्ने समस्या बढ्दो छ । पहिचाननै नगरी च्याउ नखान चिकित्सकले आग्रह गरेका छन् ।