काठमाडौं । बडादशैंको आज महाअष्टमी । मुलुकभर धुमधामसँग महाअष्टमी मनाइँदैछ । नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडादशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी माता महाकालीको पूजाआजा गरिन्छ । महाकाली आदिमाता पार्वतीको मायावी उग्र रुप हो ।
विश्वकल्याणका निम्ति ज्ञानसाधनामा साधनारत साधक सन्तसाधु चिन्तक,सत्मार्गीलाई त्रस्त तुल्याउने दुष्ट वृत्तिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट समेत तह लगाउने उद्देश्यले कालरात्रिको समयमा महाकाली देवीको प्रदुर्भाव भएको शास्त्रमा उल्लेख छ । यी देवीको वदनवर्ण नीलो रंगको रहेको छ ।
लामो रातो ओंठ भएकी, रातो जिभ्रो लप्लपाउने, गधामा चढेकी, नरमुण्डमाला लाएकी, विविध आयुध धरेकी, रक्तकुण्ड धारण गरेकी, बहुरुपी रङमा प्रकट भइ असुरहरूलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ । माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ । देवीको महाकाली रुप शक्तिको भयंकर अवस्था हो । यस रुपलाई ज्ञानरुप शिवले सत्मार्ग प्रदान गर्दछन् । उनको प्रचण्ड शक्तिलाई जगतकल्याणमा रुपान्तरण गर्न शिव मात्र समर्थ छन् ।
लोकमा यस दिनदेखि देवीको विशेष पूजाआजा शुरु हुन्छ । शक्तिपीठहरुमा अष्टमीको मध्यरातमा वलिपूजा गरिन्छ । महाअष्टमीका दिन घरघरमा रहेका हातहतियार तथा सरसाधनको पूजा गरिन्छ । यस दिन होम पनि गरिन्छ । महाअष्टमीको मध्यरातमा कोटघरमा विशेष विधिपूर्वक कालरात्रिको पूजा गरेपछि रातभर जाग्राम बस्ने चलन छ । अष्टमीदेखि कोटघर तथा देवी मन्दिररमा बलिपूजा पनि हुनथाल्छ । सनातन हिन्दूधर्मसंस्कृतिमा विशेष महत्वका साथ मानिने चार रात्रिमा कालरात्रि पनि एक हो ।
काठमाडौ उपत्यकाका नव दुर्गाहरुमध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिर तलेजुभवानी, चामुण्डाभगवती, नरदेवी, विजेश्वरी, बगलामुखी लगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।