उसले हात झिकेर गै यदि भने बर्बाद हामी हुने उसले माथि उठाउँदै लगि भने बेनाम नामी हुने आओस् त्यो घनघोर दुख्ख गृहिणी सच्चा छ साथी भनेडग्दैनन् मनका अठोट कहिल्यै आपत्ति पर्दा पनि ।
स्व.लेखनाथ ज्ञवाली आज हाम्रो माझ हुनुहुन्न तर दशैँ नजिकिँदै गर्दा उहाँको दशैँको आसिकले भने उहाँलाई सदैव जीवित बनाउँछ । दशैँ नेपालीहरुको सांस्कृतिक चाड हो । समाज रुपान्तरण भएर धेरै अगाडि बढिसकेको अवस्थामा उहाँले लेखेको दशैँको आसिक समाज रुपान्तरणको दिशामा एक महत्वपूर्ण प्रेरक प्रसङ्गको रुपमा लिन सकिन्छ ।
बहुमुखी प्रतिभाका धनी स्व. ज्ञवाली नेपालको पश्चिमाञ्चल क्षेत्रका सांस्कृतिक जागरणका एक अभियन्ता पनि हुनुहुन्थ्यो । उहाँ सच्चा देशभक्त र जनमुखी स्रष्टा पनि हुनुहुन्थ्यो । साहित्यका बहुविधामा उहाँका सिर्जना पाइन्छन् । तर कविता विधामा उहाँ सिद्धहस्त सिल्पी हुनुहुन्थ्यो । त्यही कविता विधा भित्रको एउटा सिर्जना हो दशैंको आसिक । सादा र सरल जीवन बाँचेका कवि ज्ञवालीले सधैँ आफूलाई राष्ट्रवादी कविका रुपमा चिनाउनुभयो । सुखमय जीवनको लालसा र लोभ–लालचले उहाँलाई कहिल्यै आकर्षित गरेको देखिएन । उहाँको जीवन यापनको शैलीमा सादगीपन थियो । विचार र दर्शनमा उहाँ धेरै उच्च हुनुहुन्थ्यो ।
अल्पायुमा अस्ताएका कविका आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भैसकेका छन् भने कतिपय सिर्जनाहरु प्रकाशनका क्रममा छन् । उहाँका प्रकाशित कृतिमध्येको एक हो–दशैँको आसिक ।
हाम्रा सांस्कृतिक चार्डपर्वहरु मध्ये दशैँ महत्वपूर्ण र ठुलो चाड हो । यो चाडको ऐतिहासिकतालाई हेर्दा रावणमाथि रामको विजय उत्सवबाट शुरु भएको आम मान्यता रहेको छ । प्राचीन समाजका शक्तिशाली गणमाताहरु (जो पछि देवीका रुपमा परिणत गरिए) को सम्मानमा उत्सव मनाउने प्रचलनबाट विभिन्न चाड–पर्वहरु शुरु भएका देखिन्छन् । गणयुग वा कविला प्रथाको संस्मरणको निरन्तरताका कारणले नै दशैँजस्ता चाडमा वलिप्रथा र विभिन्न धार्मिक विधिहरु अहिलेसम्म पनि कायमै रहेको अवस्था छ । दशैँमा मान्यजनहरुबाट लिइने आशिर्वाद पनि परम्परादेखि अहिलेसम्म उस्तै र यथावत छन् । परम्परागत रुपमा दशैँमा दिइने आशिर्वाद यस्तो रहेको छ–
आयु द्रोण सुते, श्रीयं दशरथे शत्रुक्षयं राघवे,ऐश्वर्य नहुषे गतिश्च पवने, मानं च दुर्योधनेसौर्यं सान्तनवे, वलं हलधरे सत्यंच कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे
महिलालाई दिइने आशिर्वाद–
जयन्ती मंगला काली भद्रकाली कपालिनीदुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।
नेपाली समाज द्रुत गतिमा परिवर्तन भैरहेको छ । समाज परिर्वतनको दिशातिर तीव्ररुपमा अगाडि बढेता पनि सांस्कृतिक परम्पराहरुमा परिर्वतन आएको छैन । । दशैँजस्तो बहुसंख्यक नेपालीहरुको चाडमा पुरानै परम्पराको सामन्ती रवाफ झल्किने आसिकलाई विस्थापित गर्नका लागि स्व. कवि ज्ञवालीले नयाँ शैलीको आसिक रचना गर्नुभएको थियो । ‘दशैँको आसिक’ रचनामा यस्तै नयाँ सांस्कृतिक रुपान्तरणका सन्देशसहितका आसिकहरु दिइएको छ । समय जति अगाडि बढ्दैछ त्यतिनै यस पुस्तकमा लेखिएका आसिकहरु सान्दर्भिक बन्दै गएको छ ।‘दशैँको आसिक’ को पहिलो सर्ग पत्निलाई लेखिएकोछ –
जस्को साथ बिताउनु छ जुग यो बाँचेर यौटै घरजसको आडबिना अडिन्न रथको पांग्रा दुईको धुर ।त्यो कमजोर भए त खस्छ घरको बर्बाद बन्दै जगपत्नि हो त्यसलाई थामी बलियो सारै समाली राख ।।
उपर्युक्त आसिकमा श्रीमतीको भूमिका र मान सम्मानलाई महिमा मण्डित गरी यथार्थ वर्णन गरिएको छ । घरपरिवार र बालबच्चा सबै घरकी महिलाको जिम्मा मै हुन्छ । उनैको सहनशीलताले नै घर अडिएको हुन्छ । त्यसैले श्रीमान र श्रीमतीबीचको सम्बन्ध संयम्कासाथ सम्हालियो भने घर सुन्दर बन्छ । यही कुरा कवि ज्ञवालीद्वारा रचित दशैँको आसिक कविताको पदावलीहरुमा उल्लेख छ ।
आज कैयैँ नेपाली युवाहरु परिवारलाई सुखसँग पाल्नका लागि विदेशको भूमिमा पसिना बगाउँदैछन् । यता घरमा बस्नेहरुले विदेशबाट पठाएको धन अनुचित खर्च गरी मास्ने र अन्त्यमा सम्बन्धमा अन्तरघात गर्ने प्रवृति पनि बाक्लै देखिनथालेको छ । पति–पत्नीबीचको अन्तरघातका कारण कयौँ परिवार छिन्नभिन्न भैरहेको र समाजको जीवन मूल्यमा आघात हुँदैछ । यस्तै विकृत परिस्थितिलाई सम्हाल्न जरुरी छ भन्ने सन्देश स्व. कवि ज्ञवालीले कवितामा दिनुभएको छ ।
उसले हात झिकेर गै यदि भने बर्बाद हामी हुनेउसले माथि उठाउँदै लगि भने बेनाम नामी हुनेआओस् त्यो घनघोर दुख्ख गृहिणी सच्चा छ साथी भनेडग्दैनन् मनका अठोट कहिल्यै आपत्ति पर्दा पनि ।
पत्निलाई आसिक दिने क्रममा यो समाजरुपी रथका आधार भनेका नै महिला हुन् भन्ने कवि ज्ञवालीको कवितामा उद्घोष छ । सबै पुरुषहरु पत्नीको आड–भरोसा र विश्वासमा चलेका हुन्छन्, उनीहरुकै सहयोग र साथले पुरुष प्रगतिको पथमा लम्कन सक्छन् भन्ने कुरा कवितामार्फत कवि ज्ञवालीले दर्शाउन खोज्नुभएको छ । श्रीमान र श्रीमतीबीच सम्बन्धमा विग्रह आउँदा पुरुष मात्र हैन परिवार नै नष्ट हुन्छ । त्यसैले पति–पत्नीबीचको सम्वन्धलाई ज्यादै जतनका साथ राख्नुपर्छ है भन्ने आशिर्वादको भाव रहेको देखिन्छ ।छोरीलाई दिइएका आशिर्वाद यस्ता छन्–
तिम्ले टेकिदिए पनि जगत यो लाग्ने उज्यालो झनखै भन्नै सकिँदैन भित्र मनमा माया कति तह ।डट्नुपर्छ कमाइ इज्जत ठूलो सानै रहेता पनिमान्छेको इतिहास हुन्छ गतिलो दुख्खै भएता पनित्यसलाई न विनास गर्न दिनु ए सम्पत्ति हो जीवनीपैसा या सुन झैँ सकिन्न अरुले चोरेर चाहे किनी ।।
आज पनि कैयौँ परिवारमा छोरी जन्मिदा आमालाई हेला गर्ने गरिन्छ । कति छोरीहरु भ्रुणमै हत्या गरिन्छ । समाजमा व्याप्त गलत प्रचलनका विरुद्ध कविले छोरीलाई घरको उज्यालो, परिवारलाई सभ्य, सुसंस्कृत र सबैको मन खुशी बनाउन सक्ने क्षमता छोरीहरुमै भएको कुरा व्यक्त गर्दै छोरीहरुमा अगाध माया व्यक्त गर्नु भएको छ । परिवारभित्र खुशी ल्याउनमा छोरीहरुकै अहम् भुमिका भएको कुरा व्यक्त गर्नु भएकोछ ।त्यस्तै छोरीहरुलाई कमजोर नबन्न र आफनो कर्ममा डटिरहन कविले आर्शिवाद दिनुभएको छ । समाजमा आफनो नाम र इज्जत नै ठूलो हुन्छ । प्रतिष्ठालाई पैसा र सुनसँग तुलना गर्न सकिँदैन भन्ने कुरामा कविले जोड दिनुभएको छ । असल कर्म र असल विचारले नै मानिसलाई सत्मार्गमा हिड्न सिकाउँछ । समाजमा इतिहास पनि असल कर्म गर्ने कै रचिन्छ । पैसा र सुनको भन्दा कर्मको इतिहास ठूलो हुनाले छोरीहरुलाई हेपिएर हैन डटेर अगाडि बढ्न कविले आशिर्वाद दिनुभएको छ । कविले छोराहरुलाई यस्तो आशिर्वाद दिनुभएको छ–
छल्नु मानिसलाई हुन्न मनका विश्वास मारिकनअर्काको धनमाल बास बुकुरा सर्वस्व पारीकनजो अन्याय गरेर भन्छ म ठूलो उस्को उपेक्षा गरसत्य, न्याय, समानतातिर सधैँ लागेर हिड्ने गर ।
समाज छलकपट र अन्याय अत्याचारले लिप्त हुँदैछ । जसले छलकपट, हत्या हिंसा र लुटतन्त्र गर्दैछ उसैका पछि निरीह भएर मान्छे लाग्दैछन् । त्यसैले अर्काेलाई अन्याय गरेर हिड्नेलाई सधैँ उपेक्षा गर्न र सत्य, न्याय र समानतातिर लाग्न कविले आशिर्वाद दिनुभएको छ । त्यस्तै बैनी र भाइलाई दिइने आर्शिबाद यस्ता छन्–
यौटै दूध पिएर हामी दुईको हुर्क्याे जहाँ जवानीलड्दै आँसु चुहाउँदै खुशी हुँदै पाएर सञ्जिवनीहाम्रा ती अनमोल यादहरुका साँचेर छायाँहरुराखिद्यौ सबमाथि स्वच्छ ममता सम्बन्ध मायाहरु ।
दाजुभाइ भनेको परिवार भित्रको बल हो । एउटै आमाबाट जन्मेका दुई सन्तानहरुमा विग्रह हुँदा परिवार बिखण्डित हुन्छ । त्यसलाई जोगाएर राख्न कविले आशिर्वाद दिनुभएको छ । ‘भाइफुटे गाउँले लुटछ’ भन्ने कुरालाई मनन गरी परिवारलाई एक बनाउन सके प्रगति र सफलता त्यहीँबाट मिल्ने र त्यहीँबाट समाजमा मेलमिलाप र शान्ति छाउने कुरा कविले बताउनु भएको छ ।
एउटै आमाको लाम्टो चुसेर हुर्केका दिदीभाइ बीचको मायालाई अथाह हुन्छ । ती अनमोल यादहरुलाई जुग–जुगान्तरसम्म साँचेर राख्न, नमात्तिन अनि नआत्तिन र सधैँभरि आत्मियतालाई प्रगाढ बनाइ राख्न आशिर्वाद दिइएको छ ।
ज्वाइँ पनि परिवारका सदस्यजस्तै हुन्छन् । उनीहरुको भरोसामा नै छोरी–बहिनी विवाह गरेर दिइएको हुन्छ । यसै प्रसंगमा ज्वाइँलाई यस्तो आसिक दिइएको छ–
हाम्रो आशिष–उच्चतातिर लागिरहोस् जीवनछन् आफन्त भनेर गर्व गरने आधार होस् मन्मन,यौटा सभ्य समाजभित्र रहने सम्बन्ध सग्लो रहोस्,उस्तै हो परिवार, इज्जत ठूलो सानु कसैको नहोस् ।
भावी पुस्ताका लागि हामी मार्गदर्शक बनौँ भन्ने भावसहित नाति नातिना र नयाँ पुस्ताका लागि कविका आसिक यस्ता छन्–
भाञ्जा भाञ्जी, नाति र नातिनीहरु हुन् झोलीका देउताभित्रै लाग्छ नदेखिने हृदयमा माया कता हो कता,तिम्रो स्वर्ण भविष्यमाथि अहिले बोल्नु यहाँ खै कति ?तिम्रो लागिरहोस् पढ्न मन है राम्रो कुरामा मति ।।
आजभन्दा ३० वर्ष अगाडि लेखिएका यी आशिर्वादका कविताहरु आजका दिनमा झनै महत्वपूर्ण देखिन्छ । आउँदो युग वास्तवमै नयाँ पुस्ताका लागि स्वर्ण युग बनोस् भन्ने कामना देखिन्छ । पुरानो पुस्ता र नयाँ पुस्ताबीचका धेरै मूल्य–मान्यताहरु फरक भैसकेको परिस्थितिमा नयाँ पुस्ताका लागि कविले स्वर्ण युगको शुभकामना दिनुभएको छ । नयाँ युग र नयाँ संस्कृतिसँगै नयाँ पुस्तालाई सत्मार्गमा लाग्न लगनशील र अध्ययनशील हुन कविले आशिर्वाद दिनुभएको छ ।
दशैँको यो सानो गितमाला पुस्तक वास्तवमा परम्परागतरुपले दशैँमा दिइने आसिक भन्दा भिन्न छ । कविले त्यो परम्परमा भिन्नता ल्याउने प्रयास यो सानो पुस्तकमार्फत गर्नुभएको छ । यो पुस्तक पढ्दै जाँदा पाठकका आँखा रसाउन थाल्छन् । बितिसकेका आफन्तहरुको सम्झनाले त झनै आँखा रसाउँछन् । हिजोभन्दा आजका पुस्ताका लागि यो पुस्तक अत्यन्त सान्दर्भिक छ । यसलाई पढेर नयाँ पुस्ताले मनन् गर्न सक्यो भने युगमुखी नयाँ चिन्तन र सद्भावपूर्ण सामाजिक जीवनतिर अगाडि बढ्ने प्रेरणा पाउनेछन् । स्व. कवि ज्ञवालीका राम्रा विचारलाई अगाडि बढाउन आवश्यक छ । असल पुस्तकले जीवनको बाटो बदल्न, सही मार्ग पहिल्याउन मद्दत गर्ने हुनाले समय सुहाउँदो आसिकलाई पाठयपुस्तकमै राखेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न वाञ्छनीय देखिन्छ ।
अन्त्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबैनी, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मान्यजन, सहकर्मी मित्रहरु, विद्यार्थी भाइबैनीहरु तथा पाठक वर्गमा बडा दशैँ २०७६ को हार्दिक मंगलमय शुभकामना ।