काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरी हिरासतमा बस्न आनाकानी गरिहेका छन् ।सभामुख निवासबाट आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित महानगरीय प्रहरी वृतमा राखिएको छ । महराले स्वास्थ्य समस्या देखाएर हिरासत मुक्त हुने प्रयत्न गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
महरालाई आइतबार साँझ पक्राउ गरी प्रहरी वृतमा ल्याइएको थियो । हिरासतमा राखेकाे केही घण्टामा महराले स्वास्थ्य समस्या भएको बताए । प्रहरीले थुनुवा प्रावधान अनुसार उपचारको मिलान खोज्यो । तर महराले आफूलाई अक्सिजन समस्या भएको सुनाए, अनि निवासमा अक्सिजन नै प्रयोग गर्नुपर्ने बताए । त्यसपछि प्रहरीले महरालाई फेरि सभामुख निवास बालुवाटार फर्कायो । निवास पुगेपछि महराले आफू प्रहरी हिरासतमा बस्न नसक्ने बताए ।
प्रहरी वृतबाट आफूसँगै आएका सुरक्षाकर्मीसँग आफूलाई निवासमै छोड्न अनुनय गरे । महराले प्रहरीसँग आफूलाई गार्हाे भएको बताउँदै ‘आवश्यक परेको बेला जहाँ, जुनसकै बेला हाजिर हुन तयार छु, तर मलाई यही बस्न दिनुस्’ भने । त्यसपछि उनको नाम लिएर निवासका बारेमा भएको कुरा प्रहरी टोलीले माथिल्लो निकायमा खबर गरे । माथिल्लो निकायबाट ‘पक्राउ परेको व्यक्तिलाई मुद्दा छिनोफनो नभएसम्म छोड्न नमिल्ने जवाफ आयो ।
महरा पक्राउ र निगरानीमा खटिएका प्रहरी टोलीलाई माथिल्लो निकायले ‘महराको स्वास्थ्यमा समस्या आए थुनुवा नियम अनुसार अस्पताल लैजानू’ भन्ने आदेश आयो । प्रहरीले महरालाई राति नै वीर अस्पताल पुर्याए । त्यहाँ केहीबेर राखेर फेरि हिरासतमा फर्काए । महरालाई त्यसपछि प्रहरी हिरासतमै राखिएको छ । महरालाई उच्च रक्तचापसँगै स्वासप्रस्वास समस्या देखिएको स्रोतले जनाएको छ । स्वासप्रस्वास समस्या भएपछि महरालाई हिरासत कक्षमै अक्सिजन दिने व्यवस्था मिलाइएको छ ।
महरालाई पक्राउ परेकै दिन प्रहरी हिरासतबाट निकालेर सभामुख निवास अस्पताल डुलाइएको छ । उनी पक्राउ परेको पहिलो दिनै तीन ठाउँ बसेका छन् ।
संसद सचिवालयकी कर्मचारीले बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएपछि महरा पक्राउ परेका हुन् । महरालाई प्रहरीले हिरासतमै राखेर मुद्दा चलाउने तयारी गरेको छ । सरकारी वकिलको कार्यालय दशैंको कारण बन्द छ । महराको बयान दशैंपछि मात्रै लिइने प्रहरीले जनाएको छ ।